कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सुरक्षा माग्दै इलाका प्रहरी कार्यालयमा चिकित्सकहरूको धर्ना

घनश्याम गौतम

बुटवल — सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)का मेडिकल सुपरिटेण्डेन्ट डाक्टर राजेन्द्र बस्यालमाथि आक्रमण गर्नेलाई कारबाही र सुरक्षाको माग गर्दै चिकित्सकहरुले बिहीबार इलाका प्रहरी कार्यालयमा धर्ना दिएका छन् ।

सुरक्षा माग्दै इलाका प्रहरी कार्यालयमा चिकित्सकहरूको धर्ना

सोमबार सुत्केरी हुन भर्ना भएकी गुल्मीको सत्यगती गाउँपालिका–२ ठूलोलुम्पेककी ३२ वर्षिय भवानी रासकोटीको मंगलबार बिहान १० मृत्यु भएको थियो । उनले अस्पतालमै शल्यक्रिया मार्फत ५ किलोको बच्चा जन्माएकी थिईन् । बच्चा सकुशल छन् ।

मंगलबार बिहान सुत्केरी महिला बेडबाट जुरुक्क उठ्न खोजेपछि ‘पल्मनरी इम्बोलिजम’का कारण अचानक मृत्यु भएको थियो । सुत्केरीको मृत्यु भएपछि उनका आफन्तले डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट बस्यालमाथि मंगलबार राती १२ बजे कुटपिट गरेका थिए । कुटपिटबाट टाउको र पेटमा चोट लागेका मेसु बस्यालको लुम्बिनी प्रादेशिक अस्पतालमा आईसीयूमा उपचार भईरहेको छ ।

चिकित्सक कुटपिट गर्नेलाई कारबाही र सुरक्षाको माग गर्दै नेपाल चिकित्सक संघ, नेपाल मेडिकल एशोसिएशन, नेपाल फार्मेसी संघ, नेपाल स्वस्थ्य प्राविधिक संघ (पान), मेलान, निजी अस्पताल व्यवसायी संघ (अफिन), आम्दा अस्पताल प्रशासनसहित आधा दर्जन स्वस्थ्य संस्थामा आबद्ध स्वास्थ्यकर्मीहरुले बिहीबार बिहानैदेखि इलाका प्रहरी कार्यालयमा धर्ना दिएका हुन् । चिकित्सकहरु धर्नामा गएपछि बिरामीहरुको उपचार सेवा प्रभावित भएको छ । दैनिक झण्डै २ सय बिरामीको उपचार हुने आम्दा अस्पतालमा मंगलबार रातिदेखि नै उपचार सेवा ठप्प छ ।

चिकित्सकलाई हातपात गर्नेमाथि कडा कारबाही हुनुपर्ने माग उनीहरुले राखेका छन् । संघका सचिव डा. सन्तोष पोखरेलले चिकित्सक माथि कुटपिट गर्नेलाई सार्वजनिक अपराध अर्न्तगत कारबाहीको माग गरेका छन् । चिकित्सकहरुले त्यहीअनुसार जाहेरी दिन लागिएको उनले बताए । प्रहरीले मंगलबार राती र बुधबार गरेर कुटपिटमा संलग्न भएको आरोपमा ७ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई सार्वजनिक अपराध अर्न्तगतको मुद्दा दर्ता गर्न पनि चिकित्सकहरुले माग गर्दै आएका छन् ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले संवेदनशील घटना घटेको भन्दै घटनाबारे कानुन बमोजिम कारबाही अघि बढ्ने बताए । निजी अस्पताल व्यवसायी संघ (अफिन) लुम्बिनी प्रदेश अध्यक्ष रामप्रसाद खरेलले चिकित्सकहरु उपचार गर्दा समेत पिटिनुपर्ने अवस्था आउनु दु:खद भएकोले त्यस्तो अवस्था अन्त्यका लागि आफूहरू आन्दोलन र धर्नामा हिँड्नु परेको बताए । ‘हामी रहरले आन्दोलनमा आएका छैनौं,’ उनले भने, ‘यस्तो दु:खद अवस्था अर्को साथीलाई नदोहोरियोस भन्ने हो ।’ स्वास्थ्य क्षेत्रमा आएका विकृती रोक्न सरकारको ध्यान जानु पर्ने र चिकित्सकहरु संवेदनशील भएर सेवामा लाग्नुपर्ने उनको सुझाव छ ।

प्रकाशित : मंसिर १४, २०८० १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×