कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

गाउँपालिका उपाध्यक्षद्वारा प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात

मनोज पौडेल

कपिलवस्तु — शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मीले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीलाई हातपात गरेका छन् । बिहीबार दिउँसो २ बजेतिर अधिकृत ज्ञवालीको कार्यकक्षमा प्रवेश गरी हातपात गरी गालीगलौज गरेको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए । त्यस बखत उनी संचारकर्मीसँग कुराकानी गरिरहेका थिए ।

गाउँपालिका उपाध्यक्षद्वारा प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात

वादविवादका क्रममा ज्ञवालीको नेम प्लेट र उनले काम गर्ने कार्यालयको टेवुलको सिसा पनि फुटेको छ ।

गाडी चाहियो भन्दै हातपात गरेको अधिकृत ज्ञवालीले आरोप लगाए । उपाध्यक्ष कुर्मीले आफ्नो अधिकारले पाएका विषयवस्तुमा तोकआदेश गर्दा बेवास्ता गर्दै फर्काउने गरेको र कामविशेष कार्यालयको गाडी माग्दा नदिएकाले विवाद भएको बताए ।

अधिकृत ज्ञवालीले सरकारी गाडी दैनिक घर लैजाने र दुरुपयोग गरिरहेको आरोप लगाए । कार्यपालिका बैठकले निर्णय गरेर गाडी आफूलाई प्रयोग गर्न दिएको अधिकृत ज्ञवालीले बताए । कार्यपालिका बैठकले फिर्ता मागेमात्र आफूले दिने भनेपछि उपाध्यक्ष आक्रोशित भएर विवाद बढ्दै गएको थियो ।

गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीको अध्यक्षतामा बैठक बसेर उपाध्यक्षलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । उनलाई कारबाही नगरेसम्म गाउँपालिका र वडा कार्यालयको सबै काम ठप्प पार्ने निर्णय पनि गरेका छन् । त्यस्तै अध्यक्ष चौधरी र अधिकृत ज्ञवाली लगायतका कर्मचारीले प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य भेटर ज्ञापनपत्र दिई कडा कारबाहीको माग गरेका छन् ।

उपाध्यक्ष कुर्मीले चढ्दै गरेको गाडी आफूलाई नचाहिने भन्दै गत असार २५ गते फिर्ता गरेका थिए । त्यसयता अधिकृत ज्ञावलीले चढ्दै आएका थिए । लोसपाबाट निर्वाचित अध्यक्ष चौधरी र माओवादी केन्द्रबाट निर्वाचित उपाध्यक्ष कुर्मीबीच सुरुदेखि नै विवाद हुँदै आएको छ । विवादकै कारण गाउँसभा, बजेट पारित हुन हरेक वर्ष ढिला हुँदै आएको छ ।


प्रकाशित : कार्तिक १६, २०८० १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×