वैदेशक रोजगारीमा बिडम्बना

कतै शव कुर्दै, कतै सकुशल घरफिर्ती प्रतीक्षा 

असारयता मात्रै तीन जनाकाे शव खाडी मुलुकबाट बाँके आयो, मृत्युको कारण अपत्यारिलो
रूपा गहतराज

नेपालगन्ज — कोहलपुरमा एउटा परिवार युवकको शव पर्खिरहेछ । रोजगारीका लागि साउदी अरब गएका कोहलपुर–१२ का २८ वर्षीय सुरेश चौधरीको निधनको खबर आएदेखि परिवारका सदस्यको निद्रा हराएको छ ।

कतै शव कुर्दै, कतै सकुशल घरफिर्ती प्रतीक्षा 

साउदीको अफनिया भन्ने स्थानमा उनको निधन साउन १३ गते राति भएको खबर आएको हो । कामबाट आएर कोठामा खाना खाएपछि सुतेका चौधरी सुतेकै स्थानमा मृत फेला परेका थिए ।

शव घर अझै आइपुगेको छैन । उनी गत पुसमा दुई महिनाको छुट्टीमा घर आएका थिए । ‘सुतेकै ठाउँमा मृत्यु भएको भन्दै उहाँको साथीबाट हामीले भोलिपल्ट खबर पाएका हौं,’ पत्नी लीला चौधरीले भनिन्, ‘शव पठाइदिन्छौं भनेर खबर आयो तर शव आइपुगेन ।’ सुरेश ७ वर्षदेखि साउदीमा काम गर्थे । दसैंमा घर आउने कुरा चलिरहेको थियो एक्कासि यस्तो खबर आएपछि परिवार शोकाकुल छ ।

शव घरसम्म ल्याइदिनका लागि लीलाले कोहलपुर नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा निवेदन दिएकी छन् । शव घरसम्म ल्याउन पहल भइरहेको केन्द्रका संयोजक जंगबहादुर बीसीले बताए । ‘उहाँहरूले दिनुभएको निवेदन वैदेशिक रोजगार बोर्डबाट स्वीकृत भएर साउदीको नेपाली दूतावाससम्म पुगिसकेको छ,’ उनले भने, ‘त्यहाँको नेपाली दूतावासले शव पठाउनका लागि स्थानीय प्रहरीसँग समन्वय गर्दैछ ।’

साउदीको प्रहरीले अनुसन्धान सकाएपछि मात्र मृतक सुरेशको शव नेपाल आउने उनले बताए । ‘प्राकृतिक मृत्यु भएकाहरूको शव केही छिटो आउँछ । हत्या, आत्महत्याको हकमा भने प्रहरीले अनुसन्धान गर्न समय लाग्ने गरेको छ,’ उनले भने ।

कोहलपुर नगरपालिकामा असारयता वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका तीन जनाको शव आएका छन् ।

बाँकेको नरैनापुर–४ घरदौरीयाका ३८ वर्षीय धर्मदासको शव १८ दिनपछि परिवारले बुझे । ६ महिनाअघि साउदीको रियादमा एक कपडा कम्पनीमा काम गरिरहेका उनको हृदयाघातबाट मृत्यु भएको थियो । उनी १० वर्षदेखि वैदेशिक रोजगारीमा थिए । ‘बुढा बुवाआमा, पत्नी भाइ छन्, तीन छोरा छन् । कमाउने मान्छे नै रहेन,’ वडासदस्य चिन्ताराम कुर्मीले भने, ‘युवाहरु जति शव बनेर फर्किरहेका छन् । के गर्ने गाउमा रोजगारीको सम्भावना दिन सकिएन । ’

बाँकेकै खजुरा–२ गौरीनगरका ४२ वर्षीय कुवेर चन्द साउदीमा अलपत्र छन् । पतिले आफू स्वदेश फर्किन नसक्ने कारण फोनमा सुनाएको पत्नी अजिताले बताइन् । उनले साउदीको दमाममा अलपत्र पतिलाई घर फर्काइदिन अपिल गरेकी छन् ।

कुवेर डेढ वर्षदेखि एक कम्पनीमा काम गर्दै थिए । दुई हजारबाट पारिश्रमिक कम्पनीले एक हजार रियालमा झार्‍यो। उनले कम्पनी छाड्ने निर्णय गरे । उनले कम्पनीबाट दुई महिनाको तलब लिन बाँकी थियो । साथीहरूसँग मिलेर कम्पनीबाट भागे ।

अर्को कम्पनीमा काम गरिरहेका थिए । भिसाको समय सकिनै लागेको थियो । घर फर्कने योजना बनाए, तर पाएनन् । ‘पहिलेको कम्पनीले २५ हजार रियाल तिर्न बाकी रहेको भन्ने उजुरी सरकारलाई दिएको रहेछ,’ पत्नी अजिताले भनिन्, ‘कम्पनीले दिएको उजुरीका कारण उहाँ घर आउन पाउनुभएन ।’

उजुरी परेपछि उनका पति तीन महिनादेखि बेरोजगार छन् । ‘नेपाल आउने व्यवस्था मिलाइदेऊ भन्दै हरेक दिन घरमा फोन गर्नुहुन्छ। म केही गर्न सकिरहेको छैन् । हारगुहार मात्र गरीरहेको छु,’अजिताले भनिन् ।

खजुरा गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले यो विषयमा पालिकाले आफैंले केही गर्न नसक्ने भए पनि दूतावासको प्रक्रियामा सजीकरण गरिरहेको बताए ।

प्रकाशित : श्रावण ३०, २०८० १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दुग्ध विकास संस्थान (डीडीसी)लाई सरकारले पटक पटक गरी १२५ करोड ऋण दिने भएपछि के अब किसानले दूधको भुक्तानी पाउलान् ?

x
×