बेचबिखनको जोखिममा परेका ७० जनाको उद्धार

माधव ढुंगाना

भैरहवा — मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी कार्यरत संस्था शान्ति पुन:स्थापना गृह बेलहिया रुपन्देहीले विगत पाँच महिनामा बेचबिखनको जोखिममा परेका ७० जना किशोरी तथा युवतीको सीमा क्षेत्रबाट उद्धार गरेको छ ।

बेचबिखनको जोखिममा परेका ७० जनाको उद्धार

संस्थाका क्षेत्रीय कार्यक्रम संयोजक निर्मल सुवेदीले विभिन्न प्रलोभनमा परेर घर परिवारको स्वीकृतिबिना नेपालबाट भारततर्फ जाँदै गरेका २२ जिल्लाका ७० जना नेपाली किशोरी तथा युवतीलाई भारतजाने क्रममा उद्धार गरिएको बताए । ‘उनीहरु सीमापार गर्न लागेको अवस्थामा बेचबिखनको जोखिममा परेको शंका लागेर हामीले सोधपुछ गर्दा घर परिवारको स्वीकृतिबिना विभिन्न प्रलोभनमा परेर हिँडेको पायौं,’ सुवेदीले भने, ‘घर परिवारलाई सोधेर अभिभावकको रायअनुसार उनीहरूलाई घर फर्काएर उद्धार गरिएको हो ।’

गत फागुन महिनादेखि रुपन्देहीमा कार्यरत यो संस्थाले बेचबिखनको जोखिममा परेका व्यक्तिलाई उद्धार गर्नका निम्ति रुपन्देहीको बेलहिया /सुनौली सिमानाका, लुम्बिनीको कक्रहवा सिमानाका र बुटवलको बसपार्कमा सीमा निगरानी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सबैभन्दा धेरै उद्धार गरिएकामा रुपन्देहीका १५, रोल्पाका ६, गुल्मी ६, नवलपरासी ४, प्युठानका ४, पाल्पाका ३ जना छन् । यस अवधिमा एक महिला र एकजना युवतीलाई भारतबाटै उद्धार गरी पुन:स्थापना गराएको छ । उनीहरूलाई फसाएर भारत लैजानेमध्ये मानव बेचबिखन र जबर्जस्ती करणी अभियोगमा संस्थाले मुद्दा दर्ता गराएको छ ।

संस्थाका उद्धार संयोजक भूमिराज भट्टराईले बेचबिखनको जोखिममा परेका मध्ये अधिकांशलाई फेसबुक, म्यासेन्जर, ह्वाट्सएप जस्ता सामाजिक सञ्जालको प्रयोगमार्फत दलालले प्रलोभनमा पारेको पाइएको बताए ।

प्रकाशित : श्रावण १५, २०८० १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दुग्ध विकास संस्थान (डीडीसी)लाई सरकारले पटक पटक गरी १२५ करोड ऋण दिने भएपछि के अब किसानले दूधको भुक्तानी पाउलान् ?

x
×