कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

शासक इमान्दार भए संघीयता सफल हुन्छ : सभामुख घर्ती

माधव अर्याल

पाल्पा — लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले शासक इमान्दार हुने हो भनेमात्र संघीयता सफल हुने बताएका छन् । संघीयताका विषयमा प्रश्न तेर्स्याउनेहरुका लागि जवाफ दिँदै सभामुख घर्तीले एकात्मक र संघात्मक शासन प्रणालीबीच बहस गर्नेभन्दा पनि जनताको श्रममा विश्वास गर्नुपर्नेमा जोड दिए । 

शासक इमान्दार भए संघीयता सफल हुन्छ : सभामुख घर्ती

पाल्पाको रिब्दीकोट गाउँपालिकाको १३ औं गाउँसभा समापनमा मंगलबार उनले भने, ‘गाउँबस्ती खाली भएको विषय गम्भीर हो तर पनि यसरी हेर्दा नकारात्मक जस्तो देखिए पनि उत्पादनलाई व्यवसायीकरणमा जोड दिइएनौं भने अझ समस्या आउने छ ।’

उनले उत्पादनलाई निर्वाहमुखीभन्दा अब आधुनिकीकरण र यान्त्रिकीकरण गर्नुपर्ने सुझाव दिए । ‘संघीय शासन प्रणालीले जनतालाई के दियो होइन हामीले के दिलाउन सकियो भन्ने जनप्रतिनिधिले सोच्नुपर्छ,’ उनले भने, ‘शासन व्यवस्थालाई दोष दिने होइन, काम गर्न उत्प्रेरणा जगाउने हो ।’ वडाध्यक्षहरुले चेक सञ्चालन गर्न पाइएन भन्न नहुने उनको भनाइ थियो । ‘राजनीतिक नेतृत्वले चेक काट्न थाल्ने हो भने सार्वजनिक खरिद ऐनविपरीत हुन्छ,’ उनले भने, ‘गाउँपालिका अध्यक्ष/उपाध्यक्षको रोहबरमा कर्मचारीले काम गर्न सक्छन्,’ उनले भने, ‘चेक काट्ने अधिकार राजनीतिक नेतृत्वलाई हुँदैन ।’

संघीयता र प्रदेश सरकारका विषयमा चर्चा चलेको बताउँदै ५ सय ५० जना प्रदेश सांसदको विषयमात्र जोड्न नहुने सभामुख घर्तीले बताए । उनले प्रदेशसभा सांसद जनताको गाउँघरमा पुगेको उल्लेख गर्दै प्रदेश सरकार स्थानीय जनताको घरदैलोको सरकारका रुपमा स्थापित भइसकेको बताए । ‘संघ सरकारले बजेट दिएको छ तर राष्ट्रिय गौरवका योजनाबाहेक प्रदेश र स्थानीय सरकारमा पठाएको छ,’ उनले भने, ‘सबै पालिकालाई समानुपातिक ढंगले राखिएको छ ।’

बजेट पारित

आगामी आर्थिक वर्षका लागि रिब्दीकोट गाउँपालिकाले ५३ करोड ६८ हजारको बजेट पारित गरेको छ । १३ औं गाउँसभामा उपाध्यक्ष कान्ता अधिकारीले प्रस्तुत गरेको बजेट पारित गरेको हो । संघीय सरकार वित्तीय समानीकरण अनुदान ८ करोड ४९ लाख, संघीय सरकारबाट राजस्व बाँडफाँडमार्फत ७ करोड ९३ लाख ३६ हजार ४ सय, संघीय सरकारको समपुरक अनुदान ७५ लाख, संघीय सरकार विशेष अनुदान १ करोड, संघीय सरकार ससर्त अनुदान २६ करोड २८ लाख छ ।

संघीय सरकारको ससर्त अनुदानअन्तर्गत शिक्षा, स्वास्थ्य, आयुर्वेद, कृषि, पशु, नवीकरणीय उर्जा, प्रधानमन्त्री रोजगार, झोलुंगेपुल, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणमा खर्च हुनेछ ।

प्रदेश सरकार वित्तीय समानीकरण अनुदान ५९ लाख १८ हजार, राजस्व बाँडफाँड ४४ लाख ३८ हजार, समपुरक अनुदान १ करोड, प्रदेश सरकार विशेष अनुदान ६० लाख, प्रदेश सरकारकै ससर्त अनुदान ८६ लाख ५० हजार, गाउँपालिकाको आन्तरिक स्रोतबाट ७३ लाख ७७ हजार, जलविद्यूत् रोयल्टी, खानी तथा वन रोयल्टीबाट अनुमानित ४० लाख, चालु आर्थिक वर्षको बचत हुने रकम १ करोड ५० लाख तथा अन्य विविध आम्दानी र संघसंस्था सहयोगबाट १ करोड ३६ लाख ९७ हजार रहेको गाउँपालिका उपाध्यक्ष अधिकारीले बताइन् । चालु खर्च ६७ दशमलव ६० र पुँजीगततर्फ ७६ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले बताए ।

स्वयंसेवी र कर्मचारी सम्मानित

पाल्पाको रिब्दीकोट गाउँपालिकाले एक वर्षअघि सुरु भएको ‘म बनाउँछु मेरो रिब्दीकोट’ स्वयंसेवी अभियानमा सहयोग गर्नेहरुलाई १३ औं गाउँसभा समापनका अवसरमा मंगलबार सम्मान गरेको छ । रिब्दीकोट गाउँपालिकाले गत वर्षदेखि सुरु गरेको अभियानअन्तर्गत यसअघिका गाउँपालिका अध्यक्ष नारायणबहादुर जीसीले कृषितर्फ अकबरे खुर्सानीको व्यवस्थापन, विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ अस्पताल पाल्पालाई सम्मान गरेको हो ।

अभियानमा सहयोग गर्ने कर्मचारीहरु अधिकृत छैठौं विष्णुप्रसाद ढकाल, रोजगार संयोजक दुर्गा पछाई थापा, कुसुमखोलाका वडासचिव सुमन रेश्मीलाई लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती, गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्की, उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले सम्मान गरेका हुन् । अभियानअन्तर्गत सरसफाई, स्वास्थ्य शिविर, वडा वडामा सरसफाई, कृषि, पशुपालन, भौतिक पूर्वाधार निर्माण लगायतमा स्वयंसेवी भावनाले २१ लाखभन्दा बढीको श्रमदान भइसकेको छ ।


प्रकाशित : श्रावण २, २०८० २१:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×