कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालीगण्डकी करिडोरअन्तर्गत सहदी खोलाको पहिरोले यात्रु हैरान

चार दिनयता दिनहुँ पहिरो खस्ने समस्या
माधव अर्याल

पाल्पा — कालीगण्डकी करिडोरअन्तर्गत सिद्धार्थ राजमार्गको पिपलडाँडा-रामपुर सडक खण्डको सहदी खोलामा पहिरो खस्दा सोमबार बिहानदेखि सडक अवरुद्ध भएको छ । सडक खुलाउने प्रयास जारी रहेको हुँगी प्रहरी चौकीले जनाएको छ । पानी पर्नासाथ माथिल्लो भागबाट ढुंगा माटो खसेर सडक अवरुद्ध भएको हो ।

कालीगण्डकी करिडोरअन्तर्गत सहदी खोलाको पहिरोले यात्रु हैरान

यहाँ खसेको पहिरोका कारण यात्रुले दिनहुँ हैरानी खेप्नु परेको हो । चार दिनयता दैनिक पहिरो खसेर सवारी साधन रोकिने र खुल्ने गरेको छ । रम्भा गाउँपालिका–२, फोक्सिङकोट र ३ पिपलडाँडाको सिमानामा पर्ने सहदी खोलामा पानी पर्नासाथ पहिरो खस्ने समस्या दोहोरिएको हो ।

रम्भा गाउँपालिका १, हुँगीका वडाध्यक्ष ईश्वर काफ्लेका अनुसार गतवर्ष पछिल्लो वर्षाले ठूलो पहिरो खसेको हो । त्यसपछि पानी पर्नासाथ यात्रु र सवारी साधनका चालकलाई सास्ती खेप्नुपरेको छ ।

सानो पानी पर्दा मात्र नभई पानी नपर्दा पनि सुख्खा पहिरो खस्ने समस्या छ । माथिल्लो भागमा चिउरे ढुंगा र खुकुलो पहाड भएकाले तत्काल पहिरो खस्ने गरेको रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । असार १५ देखि बन्द हुने र खुल्ने दिनहुँ भइरहेको अध्यक्ष भण्डारीले बताए ।

पानी परेपछि खस्न सुरु हुने समस्या आएको छ । केही छिन बन्द हुने र पुनः खुलाइने गरेको छ । कालीगण्डकी करिडोरले एक वर्षअघि नै यस्तो समस्या आएपछि यसलाई रोक्ने उपाय नखोज्दा यात्रुले सास्ती खेप्नुपरेको पिपलडाँडाका दीपक अर्यालले बताए । पहिरो पन्छाउन स्थानीय तहका जनप्रतिनिधि तथा प्रहरी खाटिएका छन् ।

यो सडक भएर गुड्ने यात्रुवाहक तथा मालवाहक गाडीहरूको लाम लागेको छ । कालीगण्डकी करिडोरको पिपलडाँडा–गैंडाकोट खण्डको १३५ किलोमिटर सडकमध्ये ११ किलोमिटरमात्र कालोपत्र गर्ने काम बाँकी छ । यो सडक प्रयोग भएर नारायणगढ, काठमाडौं, नवलपरासी, स्याङ्जा, पाल्पाकै पूर्वभेग, तनहुँका यात्रु ओहोरदोहोर गर्छन् ।

प्रकाशित : असार १८, २०८० १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?