

पाल्पा — जिल्लाका पेसागत संघसंस्थाका प्रमुख तथा प्रतिनिधिले विद्यालय बन्द गरेर आन्दोलनमा नउत्रिन आग्रह गरेका छन् । पठनपाठन ठप्प हुनेगरी आन्दोलनका कार्यक्रम गर्न नहुने सुझाव दिएका हुन् ।


पेसागत महासंघका अध्यक्ष दिवाकर अर्यालले जायज मागहरुप्रति आफ्नो समर्थन रहेको तर विद्यालय नै बन्द गर्ने विषय गलत हुने बताए । नीति तथा कार्यक्रममा उल्लेख भएर पनि बजेटमा नसमेटिएपछि सामुदायिक विद्यालयका कर्मचारीहरू जेठ २१ गतेदेखि आन्दोलनमा उत्रिएका छन् ।
शुक्रबार शिक्षा विकास तथा समन्वय एकाई मूल गेटमा राखेको कार्यक्रममा बोल्दै अर्यालले विद्यालय कर्मचारीको समस्या र माग सम्बोधन सरकारले गर्नुपर्ने बताए ।
विद्यालयको ताला चाबी बुझाई सम्पूर्ण विद्यालय कर्मचारीहरु शिक्षा विकास तथा समन्वय एकाई पाल्पामा धर्ना दिन आएका छन् । कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष मोहन सापकोटाले विद्यालयका कर्मचारीको पीर, मर्काप्रति आफूहरू समर्थन जनाए पनि विद्यालय नै बन्द गर्ने विषय गम्भीर हुने बताए ।
शुक्रबारसम्म जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमा धर्ना दिने कार्यक्रम छ भने जेठ २७ गतेदेखि असार १ गतेसम्म काठमाडौंस्थित भद्रकालीमा रिले अनसन बस्ने नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलन सार्वजनिक गरेको छ । असार २ गतेदेखि माग सम्बोधन नहुन्जेल सम्पूर्ण सामुदायिक विद्यालयहरु बन्द गर्ने चेतावनी उनीहरुको छ ।
नेपाल ट्रेड युनियन कांग्रेसका सचिव लोकनाथ अधिकारीले आन्दोलनप्रति ट्रेड युनियनको ऐक्यबद्धता रहेको तर विद्यालय बन्द गर्ने विषयमा पुनः एक पटक सोच्नुपर्ने बताए । सामुदायिक विद्यालयमा न्यून बेतनमा काम गर्नु परेको सबैलाई जानकारी भएको बताउँदै अहिले सरकारले विद्यालय कर्मचारीका लागि १३ हजार पठाए पनि स्थानीय तहले थप गरेर दिनुपर्नेमा जोड दिए ।
बजेट परिमार्जन गरेर जतिसक्दो छिटो सेवा सुविधा वृद्धि गर्न माग राखेको जिल्ला अध्यक्ष श्रीधरप्रसाद पाण्डेयले बताए । धर्ना अघि विद्यालय कर्मचारीहरुले नगरपरिक्रमा गरेका थिए ।
प्रकाशित : जेष्ठ २६, २०८० १३:३५