केबलकार उद्घाटनमा प्रधानमन्त्री बुटवल आउने, लुम्बिनी प्रदेशसभाको बैठक स्थगित


बुटवल — लुम्बिनी प्रदेशसभाको बिहीबार बस्ने भनिएको प्रदेश सभाको बैठक स्थगित भएको छ । सभामुख तुलाराम घर्ती मगरले प्रधानमन्त्री पुष्पकमल दाहाल बुटवलमा केबलकार उद्घाटन गर्न आउने भएपछि प्रधानमन्त्रीको स्वागतमा मुख्यमन्त्री, सभामुखलगायत बुटवल आउनुपर्ने भएकाले बैठक स्थगित भएको बताए ।


लुम्बिनी प्रदेशसभाको सचिवालयले भने विशेष कारणवश भन्दै सूचना निकालेर बैठक स्थगित गरिएको जनाएको छ । प्रदेशसभाका सचिव दुर्लभकुमार पुनद्वारा हस्ताक्षरित सूचनामा प्रदेशसभाको नियमावली २०७९ को नियम ३ को उपनियम ३ बमोजिम बैठक स्थगित भएको सूचना टाँस गरिएको छ ।
आज स्थगित भएको प्रदेशसभाको बैठक भोलि अर्थात जेठ २६ गते बस्ने छ । जसमा सरकारले आउँदो वर्षका लागि नीति तथा कार्यक्रम पेस गर्ने छ ।