देवदहका पुरातात्त्विक क्षेत्रको संरक्षण, उत्खनन र प्रवर्द्धनमा सहकार्य गरिने


तिलोत्तमा — लुम्बिनी विकास कोषले आगामी आर्थिक वर्ष ०८०/८१ को नीति कार्यक्रममा सहकार्यका विषयमा बृहत् लुम्बिनी क्षेत्रका स्थानीय तहसँग छलफल गरेको छ । बृहत् लुम्बिनी क्षेत्रमा बुद्धस्थलको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा सहकार्य गर्ने गरी छलफल गरिएको हो ।


बुद्धजन्मस्थल लुम्बिनीको विकाससँगै गौतम बुद्धको गृहनगर तिलौराकोट, अस्तुधातु रहेको रामग्राम र मावली देवदहका पुरातात्त्विक क्षेत्रको संरक्षण, उत्खनन र प्रवर्द्धनमा सहकार्य गर्ने उद्देश्यले छलफल कार्यक्रम गरिएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले जानकारी दिए ।
आगामी आर्थिक वर्षको बजेट निर्माणको पूर्वसन्ध्यामा पुरातात्त्विक क्षेत्रको उत्खनन, संरक्षण र प्रवर्द्धनमा उपलब्धिमूलक काम गर्नका लागि छलफल फलदायी हुने उनको विश्वास छ । उनले आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा स्थानीय सरकारसँग सहकार्यमा बृहत्तर लुम्बिनी क्षेत्रमा उत्खनन र प्रवर्द्धनमा काम गरिने बताए ।
छलफलमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन खानले लुम्बिनीको बाहिरी क्षेत्रमा पनि पर्यटक लोभ्याउने गरी विकास गर्नुपर्नेमा जोड दिए । नगरपालिका विकास कोषसँग सहकार्य गरी कार्य गर्न तयार रहेको उनले बताए ।
छलफलका अवसरमा लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले पटक-पटक बृहत्तर लुम्बिनी क्षेत्रमा विकास हुन नसकेको भन्दै गुनासो आइरहेकाले त्यसलाई आगामि दिनमा सम्बोधन गर्न कार्यक्रम गरिएको बताए । उनले स्थानीय तहले पनि आफ्नो सम्पदा क्षेत्रहरूको संरक्षण र प्रवर्द्धनमा बजेट छुट्याएर जानुपर्नेमा जोड दिए ।
प्रकाशित : जेष्ठ २२, २०८० ११:४६