१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९०

बर्दियामा गर्मीले जनजीवन प्रभावित

कमल पन्थी

बर्दिया — एक सातायता बर्दियामा चर्को घामसँगै चलेको लू (तातो हावा)ले जनजीवन प्रभावित बनेको छ । गर्मी र तातो हावाले दिउँसोको तापक्रम औसत ४० देखि ४१ डिग्रीसम्म पुग्ने गरेको छ ।

बर्दियामा गर्मीले जनजीवन प्रभावित

मौसम तथा विज्ञान महाशाखाले भने गर्मी अझै बढ्न सक्ने आकलन गरेको छ । साथै गर्मीयाम सुरु भएयता झाडापखाला, ज्वरो र टाउको दुःख्ने बिरामी अस्पतालमा उपचारका लागि आउने गरेका छन् ।

लूका कारण दिउँसो सर्वसाधरणको दैनिकी कष्टकर बन्दै गएको छ । बिहान ८ बजेदेखि चर्को घामसँगै तातो लू बेलुका ६ बजेसम्म चल्ने गरेपछि सडकमा मानिस पातलिएका छन् । अत्यधिक गर्मीसँगै चलेको लूबाट बच्न सहरी र ग्रामिण क्षेत्रका सर्वसाधरण छहारी खोज्दै रुखमुनि बस्नेको संख्या बढ्दै गएको छ ।

अत्यावश्यक काम बाहेक मानिस घर बाहिर निस्कन छाडेका छन् । अत्यधिक गर्मी र लूले सडक सुनसान बन्दै गएको छ ।

अत्यधिक गर्मीले जिल्लामा सबैभन्दा बढी झाडापखालाका बिरामी बढेका छन् । केही दिनयता झाडापखालाका बिरामी इमरजेन्सी सेवामा भर्ना हुने गरेको बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्ट डाक्टर सुभाष पाण्डेयले जनाएका छन् । यसैगरी बहिरंग सेवामा दैनिक ३ सय देखि ३ सय ५० सम्म गर्मीबाट प्रभावित बिरामी उपचारका लागि आउने गरेका छन्,’ उनले भने, ‘सबैभन्दा बढी बालबालिका झाडापखालाबाट प्रभावित छन् ।'

जिल्लाका स्वास्थ्य केन्द्रमा पनि झाडापखालाका बिरामी उत्तिकै आउने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । झाडापखालासँगै निम्न र उच्च रक्तचाप, घाउ खटेरा लगायत ज्वरोका बिरामीको संख्या अत्यधिक बढेको चिकित्सकले बताएका छन् । दिनभर मजदुरी गर्ने निम्न आए भएका सर्वसाधरण सबैभन्दा बढी प्रभावित बन्दै गएका छन् । शरीरबाट अत्याधिक पसिना बग्ने भएकोले प्रशस्त पानी र झोल पदार्थ बढी पिउन र आवश्यक काम बाहेक घर बाहिर ननिस्कन चिकित्सकले सर्वसाधरणलाई सल्लाह दिएका छन् ।

प्रकाशित : जेष्ठ २०, २०८० १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?