रोल्पाको काफल नेपालगन्जमा

पहाडको काफल नेपालगन्जमा खान पाउँदा ग्राहकहरु दंग
रुपा गहतराज

नेपालगन्ज — रोल्पाका खगेन्द्र बुढा मगरलाई यतिबेला नेपालगन्जमा काफल बेच्न भ्याइनभ्याइ छ । ४१ वर्षीय खगेन्द्रले डालोमा काफल रखोर नेपालगन्जको चर्को घाममा चोक चोक चहार्छन् । मानाको १ सय ५० रुपैयाँका दरले काफल दिन्छन् । बिहानको १० बजेबाट नेपालगन्जका विभिन्न चोकमा काफल बेच्दै गरेका भेटिने खगेन्द्रलाई यहाँको गर्मी र तातो हावाले केही फरक पार्दैन ।

रोल्पाको काफल नेपालगन्जमा

एक डालो काफल ल्याएर नेपालन्ज आएका खगेन्द्रको काफल एकैछिनमै बिक्री भएपछि उनी एक हप्तादेखि नेपालगन्जमै काफल बेचिरहेका छन् । ‘सुरुमा विचार गर्न एक डालो काफल ल्याएर बेच्न थालेको एकै छिनमा सकियो,’ उनले भने, ‘एक डालो त एकैछिनमा सकियो । त्यसपछि मैले परिवारलाई उतैबाट काफल पठाइदिन भन्छु । उतैबाट पठाउँछन् र नेपालगन्जको गाडीमा पठाइदिन्छन् । यहाँसम्म आइपुग्दा दिउँसोको त्यस्तै ११ बजिसकेको हुन्छ । मेरो हातमा काफलको डालो पर्ने बित्तिकै बेच्न सुरु गर्छु ।’

यो मौसममा पहाडमा प्रशस्तै फल्ने काफललाई रोल्पाका खगेन्द्र बुढा मगर र उनका साथी हरिनारायण चौधरीले एक हप्तादेखि नेपालगन्जको धम्बोझी चोक र सेतुविक चोकमा काफल बेच्दै आइरहेका छन् । रोल्पाबाट दाङ झरेर नेपालगन्जसम्म आइपुगेका उनीहरुले दैनिक ५ देखि ८ डालासम्म काफल बिक्री भएको बताउँछन् । प्रतिडाला ४ देखि ५ हजार रुपैयाँमा खरिद गरेको काफललाई ७ देखि ८ हजारसम्मको फाइदामा बिक्री गर्ने गरेको चौधरीले बताए । यातायातदेखि नेपालगन्जको बसाइ, खानालगायत अन्य सबै खर्च कटाएर दिनको १५ सयदेखि २ हजारसम्म फाइदा हुने गरेको उनले सुनाए ।

हरिनारायणले अहिलेसम्म १० डालाको व्यापार गरिसकेका छन् । ७० देखि ७५ प्रतिशतले काफल खान मन पराएको उनले बताए । दाङमा काफल बेच्नेहरु प्रशस्तै भेटिने हुँदा व्यापारको दृष्टिकोण्ले प्रतिस्पर्धा हुने भएकाले नेपलागन्जसम्म काफल बेच्न उनीहरु यता आइपुगेका हुन् ।

दाङ घोराहीका हरिलाल चौधरी अचेल नेपालगन्जका चोक, चौराहामा व्यस्त छन् । पहाडी क्षेत्रको लोकप्रिय फल ‘काफल’ बिक्री गर्न उनलाई भ्याइनभ्याइ भइरहेको छ ।

वैशाख १० गतेदेखि नियमित रुपमा काफल बेच्ने काम गरिरहेको छु,’ उनले भने, ‘दैनिक दुईदेखि तीन डालो काफल नेपालगन्जमा बिक्री भइरहेको छ ।’ पहाडमा पाइने भएकाले तराईका बासिन्दाले निकै महत्त्वका साथ काफल किन्ने गरेको चौधरीले बताए । पहाडी क्षेत्रमा विशेषगरी चैतदेखि वैशाखको अन्तिमसम्म काफल पाइन्छ ।

चौधरी काफल बिक्री गर्न नेपालगन्जको धम्बोझी चोक, पुष्पलाल चोक, बीपी चोक, त्रिभुवन चोक, त्रिवेणीमोड लगायत स्थानमा दैनिक रुपमा बस्ने गरेका छन् । ‘जहाँ मानिसहरुको बढी आवतजावत हुन्छ, त्यही गएर एकछिन बसेपछि बिक्री गर्न चिन्ता हुँदैन,’ उनले थपे ।

ग्राहकहरुलाई उनले ५० रुपैयाँ, १ सय रुपैयाँ र डेढ सय रुपैयाँका दरले बिक्री गर्छन् । रोल्पा, सल्यानमा रहेका साथीहरुले त्यहाँ खरिद गरेर बसमार्फत नेपालगन्जसम्म पठाउने र आफू यहाँ बसेर बिक्री गर्ने गरेको चौधरीले सुनाए । पहाडको काफल नेपालगन्जमा खान पाउँदा ग्राहकहरु पनि दंग छन् ।

‘काफल खान नपाएको धेरै वर्ष भएको थियो, पहाडतिर जान पाइएको थिएन, नेपालगन्जमै बसेर ताजा काफल खान पाइयो,’ धम्बोजी चोकमा काफल किन्दै गरेका आनन्द विकले भने, ‘स्वाद मात्र होइन्, पेट सफा गर्न पनि काफल फाइदाजनक हुन्छ ।’

प्रकाशित : जेष्ठ १३, २०८० १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?