भेरी अस्पतालमा जेठ १५ भित्रै ‘इमर्जेन्सी कक्ष’ पूर्णरुपमा सञ्चालन हुने

रुपा गहतराज

काठमाडौँ — भेरी अस्पताल नेपालगन्जमा जेठ १५ भित्रै ‘इमर्जेन्सी कक्ष’ पूर्णरुपमा सञ्चालन गर्नेगरी तयारी थालिएको छ । नयाँ ओपीडी भवन निर्माणमा ढिलाइ भएपछि अस्पतालमा आंशिक सेवा सञ्चालन गर्ने र इमरजेन्सी वार्ड भने पूर्ण रुपमा सञ्चालन गर्ने तयारी रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईंले बताए ।

अहिलेको इमर्जेन्सी कक्षमा एमआरआई सेवा सञ्चालनको तयारी छ । चारतले नयाँ भवन अझै पूर्णरुपमा हस्तान्तरण हुन नसकेपछि ओपीडी सेवा आंशिक र आपत्कालीन सेवा पूर्ण रुपमा सञ्चालन गर्ने तयारी थालिएको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट चापागाईंले हाल पुरानो भवनबाट सेवा प्रवाहमा कठिनाइ भएकाले नयाँ भवन हस्तान्तरण नभए पनि स्तरोन्नतिसहित इमर्जेन्सी वार्ड सञ्चालनको तयारी गरिएको बताए ।

‘जेठ १५ भित्र नयाँ भवनबाट इमर्जेन्सी वार्ड पूर्णरुपमा सञ्चालन गर्ने तयारी छ । अब सञ्चालन गरिँदा पूर्ण रुपमा सुविधासम्पन्न शय्याको व्यवस्था गरिएका छन्‚’ डा. चापागाईंले भने, ‘इमर्जेन्सी कक्ष हाल १६ शय्याको रहेकोमा ३० शय्याको हुनेछ ।’

भेरी अस्पतालमा १५० शय्याको स्वीकृति भए पनि पुरानो भवनबाट १६२ शय्यामा बिरामीको उपचार भइरहेको छ ।

भेरी अस्पतालमा निर्माण भइरहेको ओपीडी भवन निर्माण सम्पन्न भएर हस्तान्तरण भएपछि उक्त अस्पताल करिब पाँच सय शय्या क्षमताको हुने बताइएको छ ।

प्रकाशित : जेष्ठ १२, २०८० १३:००
प्रतिक्रिया
पठाउनुहोस्

सत्तापक्षले पशुपतिनाथको जलहरीमा पित्तल लगाइयो भनेर बिनाआधार आरोप लगायो : एमाले

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल एमालेका प्रमुख सचेतक पदम गिरीले आफूहरूलाई लगाइएको आरोपबारे सरकारबाट जवाफ नआएसम्म प्रतिनिधिसभा बैठक सञ्चालन गर्न नदिने बताएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकको सुरूवातमै प्रमुख सचेतक गिरीले सत्ता पक्षका सांसदले बिनाप्रमाण संसद्‍बाटै प्रमुख प्रतिपक्षी दलको नेतालाई इङ्गित गरेर भ्रष्टाचारको आरोप लगाएको भन्दै त्यसबारे सरकारले जवाफ नदिएसम्म बैठक सञ्चालन गर्न नदिने बताएका थिए ।

‘भ्रष्टाचारी जुनसुकै रूप र रंगका हुन्, जुनसुकै क्षेत्रका हुन्, सबै खालका भ्रष्टाचारीको मनोबल गिराउनुपर्ने अवस्था आएको छ । देशलाई भ्रष्टाचारमुक्त बनाएर अगाडि बढ्न नसक्ने हो भने हाम्रो समृद्धिको सपना पूरा हुनेवाला छैन । हामी विगतका भ्रष्टाचारका अनेक फाइलहरू खोजौँ, एक-एक भ्रष्टाचारमा संलग्नलाई कारबाहीको दायरामा ल्याऔँ भनिरहेका छौँ,’ सांसद गिरीले भने, ‘तर पछिल्लो पटक त्यस्तो भइरहेको छैन । यहाँ त बिनाआधार, बिनाप्रमाण प्रमुख प्रतिपक्षी दलका नेतालाई इङ्गित गरेर भ्रष्टाचारको आरोप लगाइन्छ । सत्ता पक्षका सांसदले पशुपतिमा जलहरी लगाउने विषयमा सुनको बदला पित्तलको प्रयोग भयो भनेर बिनाआधार गम्भीर भ्रष्टाचारको आरोप लगाउनुभएको छ । हामी सरकारले यसको जवाफ नदिएसम्म बैठक सञ्चालन गर्न दिदैनौँ ।’

उनले पशुपतिमा लगाइएको जलहरीमा सुनको सट्टा पित्तलको प्रयोग भएको वा नभएको भन्ने विषयमा सरकारले पहिले प्रस्ट पार्नुपर्ने माग गरे । ‘यसको सत्यतथ्य कुरा के हो ? यो के आधारमा आएको छ ? के तथ्यमा आएको छ ? सत्ता पक्षले प्रतिपक्षलाई यसरी सदनबाट भ्रष्टाचारको आरोप लगाउन मिल्दैन, त्यसको वास्तविकता पत्ता लगाएर सदनलाई जवाफ दिनुपर्छ । प्रतिपक्षीमाथि एकपछि अर्को गर्दै नियोजित ढंगले जान खोजिएको छ, यो स्वीकार्य छैन,’ उनले भने ।

माओवादी सांसद लेखनाथ दाहालले जेठ १० गते प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा रहँदा यती, ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्रीमा अनियमितता भएको र पशुपतिमा जलहरी लगाउने क्रममा सुनको साटो पित्तल प्रयोग भएको दाबी गरेका थिए ।

प्रकाशित : जेष्ठ १२, २०८० १३:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×