रुपन्देहीमा तीन दिने युवा सम्मेलन

सन्जु पौडेल

तिलोत्तमा — लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका सयभन्दा बढी किशोरकिशोरी रुपन्देहीको तिलोत्तममा भेला भएका छन् । किशोरकिशोरीको क्षमता अभिवृद्धि र नेतृत्व विकास उद्देश्यले आयोजित तीन दिने युवा सम्मेलनमा उनीहरु सहभागी भएका हुन् ।

प्रदेशस्तरीय किशोरकिशोरी तथा युवा सन्जालले स्थानीय र प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि तयारी गरिरहेको नीति, कार्यक्रममा आफ्ना मुद्दा समेट्न दबाब र सुझाव दिन बिहीबारदेखि सम्मेलन आयोजना गरेको हो । प्रदेशका ६ वटा जिल्लामा वडा, पालिकास्तरीय सञ्जाल गठन भइसकेका छन् । पालिकाबाट छनोट भएका युवाको प्रदेशस्तरीय सन्जाल छ ।

सञ्जालका प्रदेश अध्यक्ष आरिफ खानले बालबालिका, किशोर र युवाका मुद्दा सम्बोधनका लागि दबाब सिर्जना गर्न सन्जाल जरुरी रहेको बताए । ‘एकजनाले भनेर कसैले सुन्दैन,’ उनले भने, ‘प्रदेशभरिका युवाले एकैस्वरमा आफ्ना समस्या सुनाए, पक्कै हल हुन्छन् ।’

तीन दिन अवधिमा एक वर्षमा सन्जालले सञ्चालन गरेका गतिविधिको समीक्षा र आगामी रणनीतिबारे छलफल गरिने उनले बताए । स्थानीय र प्रदेश सरकारले यस्ता सन्जालको स्वामित्व ग्रहण गरुन् भन्ने मुख्य उद्देश्य रहेको उनले बताए । विभिन्न जिल्लामा आधा दर्जनभन्दा बढी सरकारी/गैरसरकारी संघसंस्थाको सहयोगमा सन्जाल गठन गरिएका छन् । ‘बालबालिका, किशोरकिशोरी र युवाका सवाल न्यूनिकरणका लागि यस्ता सन्जाल आवश्यक छन्,’ सहयोगी संस्था कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक)का कार्यक्रम निर्देशक गौतमराज अधिकारीले भने, ‘पाँच वर्षदेखि सन्जाल गठन र परिचालन भइरहेका छन् । सधैं दातृ संस्था क्रियाशील नरहने भएकाले प्रदेश र स्थानीय सरकारले सन्जालको अपनत्व लिनुपर्छ ।’

युवा परिषद् लुम्बिनीका अध्यक्ष गोविन्द केसीले अहिले युवाको युग भएकाले उनीहरुलाई आफ्नो क्षेत्रमा सफलता दिलाउन प्रोत्साहन गर्नुपर्ने बताए । ‘युवाको काँधमा धेरै जिम्मेवारी छन्,’ उनले भने, ‘समाजका रहेका थुप्रै विकृति अन्त्य गर्न पनि यस्ता सन्जाल जरुरी रहेका छन् ।’

प्रदेशमा यस्ता सन्जालले युवाको आचरण सुधारदेखि सीप विकासमा भूमिका खेलेकाले युवा परिषद्‌ले आगामी दिनमा सन्जाल लक्षित कार्यक्रम लागू गर्ने बताए । त्यसका लागि सन्जालसित सहकार्य गर्ने उनको भनाइ थियो ।

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष नहकुल केसीले सन्जालमा आबद्ध युवाको नेतृत्व क्षमता देखेर आफू प्रभावित भएको बताए । ‘हाम्रो जमानामा यसरी खुलेर आफ्ना समस्या राख्ने कुरा कल्पना बाहिरको थियो,’ उनले भने, ‘सन्जालमा आबद्ध युवाले आफ्ना समस्या खुलस्त राखेको देख्दा खुसी लाग्यो ।’

नयाँ नीति कार्यक्रम र बजेट तयारी भइरहेका बेला सम्मेलन आयोजना भएकोमा खुसी व्यक्त गरे । ‘तपाईंका समस्या सम्बोधन गर्न प्रदेश सरकारलाई सुझाव दिन्छु,’ उनले भने, ‘प्रदेश राजधानीमा गतिविधि सञ्चालन गर्ने गरी युवा सन्जालको कार्यालय खोल्न सघाउनेछु ।’

प्रकाशित : जेष्ठ ११, २०८० १७:०८
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाको भोटो जात्रा अवलोकन गरेका छन् । राष्ट्रपति पौडेलले जावलाखेलमा बिहीबार अपराह्नमा आयोजित भोटोजात्रामा सरिक भइ भोटोजात्रा अवलोकन गरेका हुन् ।

मत्स्येन्द्रनाको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले रातो मत्स्येन्द्रनाको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरे । उनले जीवित देवी कुमारीको दर्शन पनि गरे ।

गत वैशाख ११ गतेदेखि सुरु भएको रथ जात्रा आज भोटो देखाएसँगै यस वर्षका लागि जात्रा सम्पन्न भएको छ । भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल , सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा मन्त्रीहरु सहभागी थिए । भोटोजात्रा हेर्न आम नागरिकको उल्लेख्य उपस्थिति थियो ।


प्रकाशित : जेष्ठ ११, २०८० १७:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×