काठमाडौँ — नेपाली कांग्रेसमा संस्थापनइत्तर पक्षीय नेताहरुले थालेको रुपान्तरण अभियानअन्तर्गत प्रदेशस्तरीय भेला जनकपुरबाट सुरु भएको छ । रुपान्तरण अभियानले बिहीबार जनकपुरमा मधेश प्रदेशस्तरीय भेला तथा अन्तरक्रिया गरेको हो । कांग्रेसभित्र देखिएका कमीकमजोरी, विकृति, विसंगतिको अन्त्य गर्दै पार्टीमा व्यापक सुधार, परिवर्तन र आमूल रुपान्तरणको लागि अभियान प्रारम्भ गरिएको नेता भूपेन्द्रजंग शाहीले बताए ।
उनकाअनुसार अभियानले समग्रमा कांग्रेसलाई बलियो, सशक्त र सुदृढ बनाउनुका साथै पार्टीमा नयाँ आशा, कार्यकर्तामा नयाँ भरोसा र आमजनतामा नयाँ विश्वास जगाउने अपेक्षा छ ।
पार्टीमा १४ औं महाधिवेशनपछि सभापति शेरबहादुर देउवाको एकलौटी बहुमत रहेको र नेतृत्वले चाहेअनुरुप गर्न सक्ने वातावरण हुँदा पनि पार्टीमा बेथितिको चाङ लागेको भन्दै उनीहरुले रुपान्तरण अभियान थालेका हुन् । सभापति देउवाले १० महिनादेखि कांग्रेस केन्द्रीय समितिको बैठकसमेत बोलाएका छैनन् ।
नेताहरु मधु आचार्य, गुरुराज घिमिरे, जगदीश्वरनरसिंह केसी, चन्द्रमोहन यादव, रन्जित कर्ण र सुवास पोखरेललगायतले थालेको अभियानअन्तर्गत प्रदेश भेलामा समेत अन्य दर्जनौं नेताहरु जोडिएका छन् । बिहीबार मधेश प्रदेशमा भएको कार्यक्रममा कोइराला पक्षका दोस्रो र तेस्रो पुस्ताका थुप्रै नेताहरु सहभागी छन् ।
अभियानले सातै प्रदेशमा पार्टीमा रहेका बेथितिको अन्त्य गर्न रुपान्तरणका लागि छलफल कार्यक्रम गर्ने जनाएको छ । अभियानका अनुसार जेठ १६ गते बागमती प्रदेशको काठमाडौंमा, जेठ २० गते गण्डकी प्रदेशको पोखरामा र जेठ २२ मा लुम्बिनी प्रदेशको दाङमा प्रदेशस्तरीय भेला गर्ने कार्यतालिका छ ।
त्यस्तै, जेठ २४ मा कर्णाली प्रदेशको सुर्खेत, जेठ २६ मा सुदूरपश्चिम प्रदेशको धनगढी र जेठ २९ मा कोशी प्रदेशको इटहरीमा प्रदेशस्तरीय भेला हुने नेताहरुले जनाएका छन् ।
प्रकाशित : जेष्ठ ११, २०८० १६:२६