स्कुटर चोरीको आरोपमा दुई जना पक्राउ

कान्तिपुर संवाददाता

बुटवल — बुटवल प्रहरीले चोरीको मोटरसाइकलसहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका-११ देवीनगर बस्ने २६ वर्षीय मनोज कार्की र ३५ वर्षीय सुरेन्द्र अमात्य रहेका छन्।

उनीहरूले बुटवल उपमहानगरपालिका-१३ स्थित ज्ञवात रेस्टुरेन्टअगाडि पार्किङ गरी राखेको कमला प्रधानको नाममा दर्ता भई कृष श्रेष्ठले चलाउँदै आएको लु ६४ प २६०९ नम्बरको यामाहा कम्पनीको स्कुटर चोरेका थिए। उनीहरूलाई नियन्त्रणमा लिई चोरी कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख डीएसपी दानबहादुर थापाले जानकारी दिए।

प्रकाशित : जेष्ठ ५, २०८० १९:५३
प्रतिक्रिया
पठाउनुहोस्

रितिम र आस्मालाई टेबलटेनिसमा स्वर्ण

कान्तिपुर संवाददाता

काठमाडौँ — बुटबलको गार्गी एकेडेमीका रितिम गुरुङ र आदर्श विद्या मन्दिर (एभीएम) की आस्मा पहारीले नवौं सोफेस राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । ब्वाइजमा रितिम र गर्ल्समा आस्मा विजेता भए ।

शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपालद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्स फाइनलमा रितिमले दरबार हाइस्कुलका शंकर पहारीलाई ११–९, ११–८, १३–११ को सोझो सेटमा हराए । मोर्डन इन्डियन स्कुल (एमआईएस) विशाल थापा र एभरेस्टका आर्यन शाही तेस्रो भए ।

स्वर्णिम स्कुलको संयोजन तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा भएको प्रतियोगिताको गर्ल्स सिंगल्समा आस्माले सेन्ट मेरिजकी सुरम्या शाक्यलाई ११–६, ११–६ र ११–८ ले हराइन् । एभीएमकी अर्सना महर्जन र न्यु सुम्निमाकी अंकिता वज्राचार्य संयुक्त तेस्रो भए । दुवैका विजेताले १५ हजार, दोस्रोले ७ हजार ५ सय तथा तेस्रोले ३–३ हजार नगद पुरस्कार पाए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा ब्वाइज टिम इभेन्ट फाइनलमा गार्गी एकेडेमी च्याम्पियन भयो । गार्गीले फाइनलमा भासरा माविलाई ३–१ ले हरायो । एमआईएस र न्यु होराइजन तेस्रो बने । गर्ल्स फाइनलमा एभीएमले प्रभातलाई ३–० ले हराएर स्वर्ण जित्यो । स्वस्तिश्री गुरुकुल र भासरा तेस्रो भए ।

विजेतालाई अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य, प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य, सोफेसका अध्यक्ष रामकृष्ण महर्जन, स्वर्णिम स्कुलका प्रिन्सिपल सहजी पन्त, कन्सेप्ट मेकर्जका प्रबन्ध निर्देशक प्रशान्त महर्जनलगायतले पुरस्कृत गरे । प्रतियोगिताको १० औं संस्करण बुटवलमा गरिने छ ।

प्रकाशित : जेष्ठ ५, २०८० १९:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×