कश्मीर पुर्‍याइएका आमाछोरी अलपत्र

आफैं मन पराएर प्रेम विवाह गरेका कुमारले आफूलाई यतिसम्म गर्लान् भन्ने प्रनिशाले कल्पनासमेत गरेकी थिइनन् 
रुपा गहतराज

नेपालगन्ज — प्रेम विवाह गरेका पतिले पत्नी र छोरीलाई भारत पुर्‍याएर होटलमा अलपत्र छाडेपछि जाजरकोटको बारेकोट–७, जुकेनाकी २६ वर्षीया प्रनिशा विश्वकर्मा बेचैन छन् । भारतमा पाएको दुःखकष्ट शब्दमा बयान गर्न सक्दिनन् । ठूलो युद्ध जितेर फर्किएको जस्तो लागेको उनले बताइन् ।

६ वर्षीया अपांगता भएकी छोरीको उपचारको बहाना बनाएर पति कुमार विकले जम्मु कश्मीर पुर्‍याएका थिए । छोरी जन्मिएको ९ दिनमा निमोनिया भएपछि हातखुट्टा चलेनन् । अहिले उनी घस्रेर हिँड्छिन् ।

गत फागुन ९ गते घरबाट हिँडेका उनीहरू सदरमुकाम आएर फुपूको घरमा बसेका थिए । फागुन १८ गते नेपालगन्जबाट हिँडेका उनीहरूलाई तीन दिनमा जम्मु कश्मीर पुर्‍याइएको थियो । फागुन २७ गते बजारतिर गएर आउँछु भन्दै कुमारले आमाछोरीलाई होटलमा छाडेर हिँडेका थिए । बिरानो ठाउँमा चिनजानका कोही थिएनन् ।

होटल मालिकले पैसा नदिएको भन्दै प्रनिशाको मोबाइल खोसेर राखेका थिए । त्यसपछि प्रनिशा नेपालीको सहयोगमा भारतीय प्रहरीसँग पुगिन् । भारतीय प्रहरीले नेपालको संस्थालाई खबर गरिदियो । नेपालका संस्थाको सहयोगमा चैत २ गते प्रनिशा र उनकी छोरीलाई नेपालगन्ज ल्याइएको हो ।

१२ कक्षामा पढ्दै गरेकी प्रनिशाको जाजरकोटका कुमारसित ९ वर्षअघि बिहे भएको थियो । बिहेपछि अभाव र दुःखमा पनि खुसीका साथ बसेका थिए । कुमार नेपालगन्ज–काठमाडौं गाडी चलाउँथे । प्रनिशा छोरी हुर्काउँदै घर चलाउने काम गर्थिन् ।

कुमारले प्रनिशालाई दिएको धोका यो पहिलो भने थिएन । एक वर्षअघि छोरीकै उपचारका लागि भनेर सिमलामा रहेका सासू–ससुराले नातिनीलाई उपचारका लागि ल्याउनु भनेपछि प्रनिशा त्यतिबेला सिमला गएकी थिइन् । यसैबीच कुमार अर्की महिलाको प्रेममा परे । नेपाल छु भन्दै परिवारलाई ढाँटे । बहुविवाहको मुद्दा हाल्छु भनेपछि कुमार कान्छी श्रीमतीलाई लिएर सिमला पुगे ।

लद्दाखमा एक वर्षदेखि लुकेर बसेका उनले अर्की महिलासँग सम्बन्ध नराख्ने भन्दै अबदेखि यो गल्ती नदोहोर्‍याउने बताउँदै प्रनिशा र छोरीलाई लिएर जाजरकोट फर्किएका थिए । ‘छोरीको अवस्थाका अगाडि पतिको सबै धोकालाई माफ गरेर मुद्दा मामिला गरिनँ । माइतीले पनि छोरीको मुख हेर भन्दै सम्झाए,’ प्रनिशाले भनिन्, ‘त्यही प्रेमको बदलामा अहिले धोका पाएँ । आफ्नै पतिले पत्नी र छोरीलाई बेच्नका लागि भारत पुर्‍यायो । ममाथि अन्याय भयो ।’

आफैं मन पराएर प्रेम विवाह गरेका कुमारले आफूलाई यतिसम्म गर्लान् भन्ने प्रनिशाले कल्पनासमेत गरेकी थिइनन् । छोरीसँग नेपालगन्जस्थित एक सेल्टरमा बसिरहेकी प्रनिशासँग जीवन चनाउने माध्यम केही छैन । अपांगता भएकी छोरी भएकाले काम गर्नसमेत पाएकी छैनन् । खुवाउनेदेखि दिसापिसाब गराउनुपर्छ । एकछिन छोड्न मिल्दैन । ‘पैसा नभएर उपचार पनि गराउन सकेकी छैन,’ उनले भनिन्, ‘छोरीको उपचारका लागि भन्दै कहाँ–कहाँ गएँ । आफैंले पाएको छोरीलाई बोझ कसरी सम्झूँ ?’

प्रनिशाका पति कुमार अहिले फरार छन् । प्रनिशाले संस्थाको सहयोगमा उनीमाथि मानव बेचबिखन मुद्दा दर्ता गरेकी छन् । ‘बाँचेर पनि आफ्नो नभएको पतिले यतिका गर्दासम्म सहन सकिनँ । मलाई न्याय चाहियो,’ उनले भनिन्, ‘उसलाई यो अपांगता भएकी छोरी भार भइन् । बरु छोरीलाई आफैं दुःख गरेर हुर्काउँछु । अन्याय सहँदिनँ । मेरो जीवन बर्बाद गर्नेविरुद्ध कानुनी लडाइँ लड्छु ।’

प्रकाशित : चैत्र १८, २०७९ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्

आफ्नै पाठ्यपुस्तक बनाउँदै पालिका

पाठ्यपुस्तकमा पालिकाको व्यापार, पर्यटन, पर्यावरण, रीतिरिवाज समेटेर किताब प्रकाशन हुँदै 
तृप्ति शाही

वीरेन्द्रनगर — सुर्खेतका स्थानीय तहहरू आफ्नै पाठ्यपुस्तक तयार पार्ने कार्यमा जुटेका छन् । यहाँका ९ वटै पालिकाहरूले आफ्नो पाठ्यपुस्तक निर्माण कार्यलाई अगाडि बढाएका छन् । ५ नगरपालिका र ४ वटा गाउँपालिका रहेको सुर्खेतका सबै स्थानीय तहहरूले आफ्नो पाठ्यपुस्तक लागू गर्न अभ्यास थालेका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा दफा ११ को ज (४) मा मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन तथा नियमनसम्बन्धी व्यवस्था गरी स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्न सकिने उल्लेख छ । यही व्यवस्थाअनुसार पालिकाहरू पाठ्यपुस्तक निर्माणमा अग्रसर बनेका हुन् । दफा ११ (ज) १८ मा स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण गर्न सक्ने उल्लेख छ ।

कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आफ्नो पाठ्यपुस्तक निर्माण गरेर अध्ययनसमेत गराइरहेको छ । वीरेन्द्रनगरका कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूले अन्यसँगै आफ्नै पालिकाको बारेमा जानकारी पाइने पुस्तक पढिरहेका छन् । ८ कक्षासम्मकै पाठ्यपुस्तक बनाउने अभियानमा पालिका लागेको छ । कक्षा ४ र ५ को किताब लेखनको क्रममा रहेका नगरपालिकाका शिक्षा शाखाका रामलाल आचार्यले बताए ।

अहिले कक्षा १ देखि ३ सम्मको हामी र हाम्रो वीरेन्द्रनगर नामक पुस्तक पालिकाले प्रकाशनमा ल्याएको छ । ‘पालिकाको व्यापार, पर्यटन, पर्यावरण, यहाँको रीतिरिवाजलाई समेटेर किताब प्रकाशनमा ल्याएका छौं,’ उनले भने, ‘अर्को शैक्षिक सत्रबाट १ देखि ८ कक्षासम्मका विद्यार्थीहरूले स्थानीय पाठ्यपुस्तक पनि पढ्न पाउनेछन् ।’

पञ्चपुरी नगरपालिकाले पनि स्थानीय पाठ्यपुस्तक निर्माण कार्यलाई अघि बढाइरहेको छ । पालिकाकी शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तुल्सी पुरीले समिति गठन गरेर पहिलो मस्यौदासम्म काम गरेको बताइन् । जिल्लाको सिम्ता गाउँपालिकाले पनि केही महिना अगाडि नै स्थानीय पाठ्यपुस्तक निर्माणको कार्य सकेको छ । सुरुमा यसमा काम गरिरहेको पालिकालाई स्याक नामक संस्थाले सहयोग गरेको शिक्षा शाखा प्रमुख बुद्धिबहादुर गौतमले बताए । उनका अनुसार अहिले किताब छपाइको काम भइरहेको छ । आगामी शैक्षिक सत्रबाट कक्षा १ देखि ८ सम्मका विद्यार्थीले स्थानीय पाठ्यपुस्तक पढ्न पाउने उनले बताए ।

गुर्भाकोट नगरपालिकाले पनि स्थानीय पाठ्यपुस्तक निर्माणमा काम गरिरहेको छ । यो वर्षभित्रै काम सम्पन्न गरेर स्थानीय पाठ्यपुस्तक लागू गर्ने पालिकाले जनाएको छ । यसका लागि पालिकाले विज्ञहरूको सहयोग लिएको पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख पदमबहादुर विकले बताए । उनका अनुसार यो कार्यका लागि पालिकाले ५ लाख बजेट विनियोजन गरेको छ । स्थानीय तहभित्र रहेका कला, संस्कृति, रीतिरिवाज, भाषा, वेशभूषा, सीप, प्रविधि बालबालिकाहरूलाई परिचित गराउने उद्देश्यले यसको सुरुवात गरिएको उनले बताए ।

चौकुने गाउँपालिका पनि स्थानीय पाठ्यक्रममा काम गरिरहेको छ । अहिले मस्यौदा लेखनको काम सकिएको शिक्षा शाखा प्रमुख टेकेन्द्रबहादुर बुढा बताउँछन् । उनका अनुसार मस्यौदा समिति र सरोकारवालासँगको छलफल सकिएको उनले बताए । सुर्खेतको बराहाताल गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाइसकेको छ । अहिले पाठ्यपुस्तक लेखन प्रक्रियामा छ । यो वर्ष १ देखि ५ कक्षासम्मको लेखन कार्य सम्पन्न गर्ने उद्देश्य रहेको पालिकाकी शिक्षा शाखा प्रमुख डम्मरकुमारी रोकायले बताइन् । यही शैक्षिक सत्रमा किताब प्रकाशनको काम गर्ने भन्ने तरिकाले अगाडि बढेको उनको भनाइ छ ।

यस्तै, जिल्लाका अन्य पालिकाहरू पनि स्थानीय पाठ्यपुस्तक निर्माणका लागि काम गरिरहेका छन् । विद्यालयमा गत वर्षबाट कक्षा १ देखि ३ सम्म हामी र हाम्रो वीरेन्द्रनगर पाठ्यपुस्तक पढाइ भइरहेको कृष्ण संस्कृत तथा साधारण विद्यालयकी शिक्षिका देवमाया बाह्रघरेले बताइन् । स्थानीय पाठ्यपुस्तक पढ्न थालेपछि विद्यार्थीले आफ्नो पालिकाबारे बुझ्न पाएका उनको भनाइ छ ।

प्रकाशित : चैत्र १८, २०७९ ०९:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×