क्षयरोगको पहिचानमा समस्या

काशीराम डाँगी

रोल्पा — पछिल्लो समय क्षयरोग फैलिने क्रम बढेपछि चिन्ता बढेको छ । रोगको पहिचान गर्नमा समस्या भएकाले संक्रमित हुनेको संख्या बढ्न थालेको स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । 

क्षयरोगको पहिचानमा समस्या

क्षयरोगको अन्त्यका लागि राजनीतिक प्रतिबद्धता, दिगो योजनाको अभाव र बिरामीमैत्री स्वास्थ्य प्रणाली नभएकाले रोगको प्रकोप वृद्धि हुने क्रम बढेको हो । रोगको पहिचान, निदान, गुणस्तरीय उपचार र रोकथामको सुनिश्चितता अभावले बर्सेनि रोग बढ्दै गएको छ । हालसम्म ५ सय २५ जनामा क्षय रोगको संक्रमण भएको पाइएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा ३ सय ४ जनामा संक्रमण देखिएको थियो भने २०७८/७९ मा ३ सय ३३ जनामा र चालू आर्थिक वर्षको सात महिनामा १ सय ९२ जनामा क्षयरोग पत्ता लागेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार रोल्पा नगरपालिकासहित सुनिलस्मृति र त्रिवेणी गाउँपालिकामा क्षयरोगीको संख्या बढी रहेको पाइएको छ । निमित्त स्वास्थ्य प्रमुख नोखराज पोखरेलले पहिचान गर्न सकेमा थप बिरामी फेला पर्ने बताए ।

हालै गरिएको पहिचान अनुसार क्षय रोगको संक्रमण भएका २ सय ९९ जना नयाँ हुन् भने पहिले नै संक्रमित ३४ जनालाई पुनः औषधि दिएर उपचार थालिएको छ ।

लुम्बिनी प्रदेशमा क्षयरोग संक्रमितको संख्या आर्थिक वर्ष २०७४/७५ मा ६ हजार ५ सय ६ थियो भने आर्थिक वर्ष २०७८/७९ मा झन्डै २ हजारले बढेर उक्त संख्या ८ हजार ८६ पुगेको थियो । प्रदेशभर बितेको ७ महिनामा ४ हजार १ सय ७ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित : चैत्र १८, २०७९ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?