भीरबाट खसेको ढुंगा लागेर पाल्पामा एकको मृत्यु

माधव अर्याल

पाल्पा — पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवतीमा भीरबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय ७० वर्षीय रनबहादुर रेश्मीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घर नजिकैको भल्टेखानी गैरामा खानेपानीको पाइप बनाउन गएका रेश्मीलाई माथिल्लो भागबाट खसेको ढुंगाले लागेर मृत्यु भएको हो ।

आफन्तहरु खोजतलास गर्दै जाँदा रेश्मी खोल्सामा मृत अवस्थामा भेटिएको र प्रहरी चौकी बल्ढेङगढीले अनुसन्धानमा माथिल्लो भेगबाट खसेको ढुंगाले लागेर मृत्यु भएको देखिएको जनाएको छ ।

प्रारम्भिक अनुसन्धानपछि शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र १३, २०७९ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्

सबै सरकारी वेबसाइटबाट पुराना वेबपेजका लिंक र सामग्री हटाउन निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरकारी निकायका वेबसाइटहरूमा रहेका पुराना वेबपेज सामग्री र लिंक हटाउन निर्देशन दिएको छ । कतिपय सरकारी निकायले नयाँ वेबसाइट बनाउने क्रममा पुराना साइटमा रहेका डाटा नयाँमा स्थानान्तरण नगरेका कारण सर्भरमा भार तथा साइबर सुरक्षामा अध्याधिक जोखिम रहेको जनाउँदै कार्यालयले पुरानोको लिंक, फाइललगायतका सामग्री हटाउन निर्देशन दिएको हो । 

प्रधानमन्त्रीका आइटी विज्ञ प्रकाश रायमाझीका अनुसार नयाँ वेबपेज बनाउँदा पुराना वेबसाइटका फाइल, डाटाबेस लगायतका सामग्री स्वतः स्थानान्तरण गर्नुपर्नेमा त्यसो नगरिएकोले निर्देशन दिनु परेको हो । 'यसरी पुरानो वेबसाइटमा जानुहोस् भनेर फाइल र लिंक राख्ने परिपाटीले एकातिर डाटा सर्भरमा भार पर्ने, व्याण्डविथ खपत भइरहने र अर्कोतर्फ पुराना वेबपेजमार्फत् सुरक्षा जोखिम उच्च हुने सम्भावना रहन्छ' उनले भने 'यसले आर्थिक तथा प्राविधिकरुपमा समेत ठूलो अर्थ राख्ने भएकोले हटाउन निर्देशन दिइएको हो ।'

हाल नेपाल सरकारका विभिन्न निकायले निजी क्षेत्रका प्राविधिक सेवा दिने कम्पनीहरुसँग परामर्श लिएर वेबपेज निर्माण गरेका छन् । यसरी निर्माण भएका वेबपेजहरु समयमा नै प्राविधिकरुपमा अपडेट नहुने, निकायपिच्छे नै सुरक्षा जोखिम रहने तथा कतिपयमा प्राविधिक तथा सुरक्षासम्बन्धी मापदण्डहरुको उचित पालना नगरिने अवस्था रहेकोले प्रधानमन्त्री कार्यालयले एउटै वेबटेम्प्लेट प्रयोगका लागि समेत तयारी गरिरहेको उनले बताए । 'सबै निकायले आफ्नो अनुकूलतामा प्रयोग गर्न सकिने किसिमले स्टान्डर्ड वेब टेम्प्लेट निर्माणको काम अघि बढेको छ । यो टेम्प्लेट निर्माण सम्पन्न भएपछि सबै निकायलाई यही टेम्प्लेटमा आधारित भएर वेबपेज निर्माणका लागि निर्देशन दिइने छ' उनले भने ।


प्रकाशित : चैत्र १३, २०७९ १७:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×