लुम्बिनीमा संघीय गठबन्धनका सबै दल सरकारबाट बाहिरिए

रूपन्देही — लुम्बिनी प्रदेश सरकारबाट माओवादी र जनमत पार्टी बाहिरिएका छन् । दुबै दलले आइतबार नै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिरहेका छन् । यससँगै अन्य साना दलले पनि समर्थन फिर्ता लिने तयारी गरिरहेका छन् ।

मन्त्रीबाट राजीनामा बुझाएका माओवादी, जनमत, जसपासहितका दलका प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गर्दै प्रदेश प्रमुखलाई आइतबार नै निवेदन दिने कांग्रेससहितका दलहरूको तयारी छ ।
माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले आइतबार नै नयाँ गठबन्धन अनुसारको मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरू गर्ने बताए । ‘आज नै सरकारलाई समर्थन दिएका साना दलहरूले समर्थन फिर्ता लिएको जानकारी प्रदेश प्रमुखलाई हुनेछ,’ उनले भने, ‘त्यसपछि मुख्यमन्त्री लिला गिरीले विश्वासको मत लिने वा नलिने प्रक्रिया सुरू हुनेछ ।’
गिरी नेतृत्वको सरकार अल्पमतमा परेको निश्चित भएपछि राजीनामा दिन उपयुक्त हुने सुझाव आफुहरूले दिएको उनले बताए । लुम्बिनीमा कांग्रेसका २७, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४/४, जसपा, जनमत र लोसपाका ३/३ राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १/१ प्रदेशसभा सदस्य छन् । सरकारमा सहभागी राप्रपाले भने राजीनामा दिएको छैन । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४४ मत आवश्यक पर्छ ।
प्रकाशित : चैत्र १२, २०७९ १४:१३