कक्षा ८ को जाँच दिँदै वडाध्यक्ष

रुपा गहतराज

नेपालगन्ज — पढ्न उमेरले छेक्दैन भन्ने उदाहरण हुन्– बाँकेको खजुरा गाउँपालिका–५ का वडाध्यक्ष गरिबे शेष । गत स्थानीय तहको चुनावमा उनी माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका छन् । उनी अहिले ४४ वर्षका भए । उनलाई पढ्ने कुतकुतीले छाडेको छैन । समयमा पढ्न नपाएका उनी गएको शैक्षिक सत्रदेखि ज्ञानोदय माविमा कक्षा ८ मा भर्ना भएका हुन् । अहिले खजुरा आदर्श मावि केन्द्रबाट जिल्लास्तरीय परीक्षा दिइरहेका छन् ।

शेषले शिक्षा लिनका लागि उमेर बाधक नहुने भन्दै आफूले पुनः पढ्न थालेको बताए । तीन छोराछोरीसँगसँगै उनी विद्यालय जान्छन् । जेठो छोराले पढ्नमा आफूलाई सघाउने गरेको उनले बताए । परीक्षा आउनुभन्दा एक महिनाअघि घरमा शिक्षक राखेर ट्युसन पढेको उनले सुनाए । ‘त्यही तयारीपछि परीक्षा दिन तम्सिएको छु,’ यो उमेरमा पढ्न कुनै अप्ठ्यारो नलागेको बताउँदै उनले भने, ‘हेरौं, कत्तिको सफल हुन्छु ।’

उनले वैदेशिक रोजगारीका क्रममा कतारमा ११ वर्ष बिताए । विदेशी भूमिमा पढाइलेखाइ नभएकैले धेरै हण्डर खेपे । ‘पढाइ नहुँदा मैले जीवनमा धेरै पटक पछुताउनु परेको छ । विदेश जाँदा झनै खल्लो महसुस गरेको उल्लेख गर्दै उनले भने, ‘सानो हुँदा पढ्न पाइएन । घरपरिवारमा वातावरण मिलेन, अब कक्षा १२ सम्म पढाइ पूरा गर्ने सोचमा छु ।’

अहिले उनी परीक्षा अवधिभरिका निम्ति वडा सदस्यलाई वडाध्यक्षको जिम्मेवारी सुम्पिएका छन् । वडाध्यक्षको कार्यवाहक जिम्मेवारी सुम्पिए पनि बिहान ८ बजेदेखि साढे १० बजेसम्म विद्यालयमा परीक्षा दिएपछि कार्यालय पुग्छन् ।

उनले आफूलाई नेपाली र अंग्रेजीमा समस्या नरहेको बताए । ‘तर, अंकको कुरा आउँदा प्रस्टसँग पढ्न अझै अकमकाउँछु,’ उनले भने, ‘त्यसैले पनि पढ्ने निधो गरेको हुँ । घरमा छोराछोरीले पनि पढ्न सघाउँछन् । त्यसले पनि उत्साह थपेको छ ।’ उनका निम्ति विज्ञान र गणित सबैभन्दा गाह्रो विषय हुन् ।

जनप्रतिनिधि हुन पढाइको कुनै मापदण्ड नभए पनि सरकार चलाउने व्यक्तिका लागि पढाइ जरुरी रहेको अधिवक्ता लोकबहादुर शाहले बताए । ‘जनप्रतिनिधिले आफैं कानुन निर्माण गर्ने भएकाले नीतिगत कुरा बुझ्नका लागि पनि पढाइ आवश्यक छ,’ उनले भने, ‘अरूको भरमा कहिले काहीं गलत निर्णयमा पनि फस्न सकिन्छ । स्थानीय तहमा नागरितादेखि धेरै संवेदनशील विषय हुन्छन्, त्यसैले पनि पढाइ आवश्यक छ ।’

खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले वडाध्यक्षको पढाइप्रतिको मोह देखेर खुसी लागेको बताए । ‘यो पनि एउटा साहस हो, उमेर जति भए पनि पढ्छु, ज्ञान बढाउँछु भन्नु उत्साहप्रद पक्ष हो,’ उनले भने, ‘उहाँ (वडाध्यक्ष शेष) पढ्न चाहेर पनि पढ्न नपाएकाहरूका लागि प्रेरणाको स्रोत बन्नुभएको छ ।’

प्रकाशित : चैत्र १२, २०७९ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्

प्रहरी महानिरीक्षकलाई शुभकामना दिँदै गृहसचिवले भने– ‘प्रहरीमा सेटिङ छ भन्छन्, त्यसलाई कैंची लगाउनुहोला’

कान्तिपुर संवाददाता

काठमाडौँ — गृहसचिव विनोदप्रकाश सिंहले नवनियुक्त प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई प्रहरीमा रहेको ‘सेटिङ’ मा कैंची लगाउन शुभकामना दिएका छन् । आइतबार नवनियुक्त महानिरीक्षक कुँवरलाई गृहमन्त्रालयमा दर्ज्यानी चिह्न प्रदान गरेपछि बधाई तथा शुभकामना मन्तव्य राख्ने क्रममा गृहसचिव सिंहले नागरिकमा प्रहरीप्रतिको घट्दो विश्वासलाई बढाउन आग्रह गरे ।

‘प्रहरीमा सेटिङ हुन्छ भन्छन् । यदि सेटिङ छ भने त्यस्तो सेटिङलाई कैंची लगाएर चटक्कै काट्नुपर्छ, यसमा तपाईंको टिम सफल नै हुन्छ होला भन्ने लाग्छ । र अबका दिन यस्तो देख्न, सुन्न नपाइयोस् भन्ने चाहना हो,’ गृहसचिव सिंहले अघि भने, ‘अर्को कुरा, खरिद प्रक्रियामा पनि प्रश्न उठ्ने गरेको छ, अबका दिनमा त्यस्तो पनि हुने छैन भन्ने आशा छ ।’

उनले महानिरीक्षक कुँवरलाई आफ्नो कार्यकालमा प्रहरी संगठनको गुणात्मक सुधार गर्न र नागरिकमा सरकारप्रतिको भरोसा बढाउने गरी काम गर्न निर्देशन दिए ।

उनले प्रहरीमा जनशक्ति घट्दो रहेको अवस्थामा पनि बेला–बेलामा महत्त्वपूर्ण कार्य हुँदै आएको भन्दै प्रशंसा गरे । सचिव सिंहले प्रहरीमा आवश्यक सुधार र सुदृढिकरणका लागि सरकारले अब छिट्टै नयाँ प्रहरी ऐन ल्याउने तयारी रहेको बताए ।

प्रकाशित : चैत्र १२, २०७९ १३:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×