बुटवलमा नदीजन्य पदार्थ चोरीनिकासी रोक्न अनुगमन

अमृता अनमोल

काठमाडौँ — बुटवल नदीजन्य पदार्थको चोरी निकासी रोक्न बुटवल उपमहानगरपालिकाले नियमित अनुगमन टोली खटाएको छ । तिनाउ नदी किनार क्षेत्रबाट चोरी निकासी बढेपछि नियमित अनुगमन थालिएको हो । जसमा नगर प्रहरी सहितको टोलीले नियमितरुपमा निगरानी गर्ने र चोरी निकासी रोक्नका लागि स्थानीयसँग समन्वय गर्ने छ । 

चोरी निकासी रोक्न सीमावर्ती स्थानीय तहहरुमा निर्माण भइरहेका संरचना र निर्माण कम्पनीहरुको समेत निगरानी गर्ने र स्थानीय तहहरुसँग छलफल गरेर नियमनमा ल्याउने बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बताए ।

उनले नदीजन्य पदार्थको चोरी निकासी रोक्न सुरक्षानिकायलाई समेत थप संवेदनशील बन्न आग्रह गरेको बताए ।


प्रकाशित : चैत्र १०, २०७९ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्

रास्वपा बैठक : उपनिर्वाचनमा गठबन्धन नगर्ने, तीनै क्षेत्रमा उम्मेदवारी दिने

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको छ । राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई मतदान गरेर सत्ता गठबन्धनमा सामेल भएको रास्वपाले गठबन्धन गरेर उम्मेदवारी दिन सक्ने चर्चा भइरहेका बेला शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले उपनिर्वाचनमा एकल उम्मेदवारी उठाउने निर्णय गरेको हो ।

प्रवक्ता मुकुल ढकालले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा पार्टीले अन्य दलसँग गठबन्धन नगरी उम्मेदवारी दिने निर्णय गरेको बताए । आगामी वैशाख १० मा तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन हुँदैछ ।

‘हामीले उपनिर्वाचनमा अन्य दलसँग गठबन्धन नगर्ने निर्णय गरेका छौँ । तर तीनवटै क्षेत्रमा हाम्रो उम्मेदवारी हुन्छ,’ ढकालले इकान्तिपुरसँग भने, ‘उपनिर्वाचनका लागि दल दर्ता गर्ने र उम्मेदवार छनौटका लागि प्रक्रिया अघि बढाउने समेत निर्णय भएको छ ।’

बैठकले उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्न प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । बैठकले तनहुँमा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, चितवनमा उपसभापति डोलप्रसाद अर्याल र बारामा केन्द्रीय सदस्य गणेश कार्की नेतृत्वमा निर्वाचन परिचालन समितिसमेत गठन गरेको छ ।

प्रकाशित : चैत्र १०, २०७९ १७:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×