स्ववियु निर्वाचन

घोराहीको महेन्द्र बहुमुखीमा नेविसंघको प्यानल विजयी

दुर्गालाल केसी

दाङ — घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा एक जना सदस्य बाहेक नेविसंघको प्यानल विजयी भएको छ । नेपाल विद्यार्थी संघका मनोज डिसी १ हजार ९६ मत प्राप्त गर्दै स्ववियु सभापतिमा विजयी भएको निर्वाचन अधिकृत कुलविर चौधरीले जानकारी दिए ।

अखिल संयुक्तका उम्मेदवार हिमाल महराले ६ सय २० मत प्राप्त गरेका छन् । एमाले निकट अनेरास्ववियु, माओवादी निकट अखिल क्रान्तिकारी र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौंले तालमेल गरेका थिए । त्यस्तै, नेविसंघ र एकीकृत समाजवादी निकट अनेरास्ववियुले तालमेल गरेका थिए ।

सभापतिमा नेत्रविक्रम चन्द निकट अखिल क्रान्तिकारीका खुमबहादुर केसीले १ सय २४, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका मुस्कान पोख्रेलले २८, स्वतन्त्र विद्यार्थी समूहका अभिषेक विष्टले १ सय ३० र अनेरास्ववियु छैठौँ (क्रान्तिकारी)का सेवक भट्टराईले ४५ मत प्राप्त गरेका छन् ।

सचिवमा ९ सय ५५ मत प्राप्त गर्दै नेविसंघका बसन्त भण्डारी विजयी भएका छन् । उनका प्रतिस्पर्धी अखिल संयुक्तका रविभक्त केसीले५ सय ८३ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा पनि नेविसंघकै ममता केसी ९ सय ९६ मतका साथ विजयी भएकी छन् भने अखिल संयुक्तका सागर पण्डितले ६ सय ९४मत प्राप्त गरेका छन् ।

सदस्यमा नेविसंघका बसन्त कँडेल, सुरेश पोख्रेल, विवेक खनाल, जीवन डिसी, अनिषकुमार चौधरी, रमिला चौधरी, पुष्पकमल दाहाल र अनेरास्वीयुका सविन पोख्रेल विजयी भएका छन् । चैतको ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने कार्यतालिका रहे पनि नेत्रविक्रम चन्द निकट अखिल क्रान्तिकारीले गरेको तालाबन्दीका कारण चैत ८ गते निर्वाचन भएको थियो ।

प्रकाशित : चैत्र ९, २०७९ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्

मध्यवर्ती क्षेत्र तोक्न चुनौती

महेश केसी

रुकुम पूर्व — नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनलाई मध्यवर्ती क्षेत्र तोक्न चुनौती देखिएको छ । १ हजार ३ सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको आरक्षको ६० प्रतिशत भूगोल रुकुम पूर्वमा पर्छ । रुकुम पूर्वको पनि पुथा उत्तरगंगा गाउँपालिकाभित्र यो सिकार आरक्ष रहेको छ ।

आरक्ष क्षेत्रलाई मध्यवर्ती क्षेत्र तोक्न विगत लामो समयदेखि प्रयास गरिंदै आएको तर सार्थकता पाउन नसकेको सिकार आरक्ष तकसेरा सेक्टर कार्यालयका रेन्जर विनोद विकले बताए । पुथा उत्तरगंगाको वडा नं. १, २, ३, ४ को सबै भाग तथा १० र ११ को केही भाग सिकार आरक्ष क्षेत्रभित्र पर्ने भएपछि स्थानीयले यसमा आपत्ति जनाएका छन् । पुथा उत्तरगंगा–१० बाछीगाउँका शिरबहादुर बुढाले मध्यवर्ती क्षेत्र तोकेमा आफूहरूको उठिबास लाग्ने भएकाले विरोधमा रहेको बताए । ‘हाम्रो गाउँबस्ती सबै सिकार आरक्षभित्र पर्छ,’ उनले भने ।

सेक्टर कार्यालयका सहायक संरक्षण अधिकृत अविनाश थापाले मध्यवर्ती क्षेत्रबारेको बुझाइ गलत भएको बताए । उनका अनुसार मध्यवर्ती क्षेत्र बनेपछि त्यहाँ स्थानीय व्यवस्थापन समिति बन्ने र आम्दानीमा समेत ३० देखि ५० प्रतिशत समितिले स्थानीय हितमा प्रयोग र परिचालन गर्न पाउछ । ‘मध्यवर्ती क्षेत्र तोकेपछि यहाँका जनता र वन्यजन्तुका बीचमा सम्बन्ध सुमधुर बनाउन सहयोग पुग्छ,’ आरक्ष संरक्षणमा पनि स्थानीय अपनत्व बढ्ने उल्लेख गर्दै उनले भने, ‘प्रभावित क्षेत्रका जनताको बसाइमा कुनै प्रकारको असर पर्दैन । तर, हामीले बुझाउन नै सकिरहेका छैनौं ।’

ढोरपाटन शिकार आरक्ष अन्तर्गत पर्ने पुथा उत्तरगंगा–१० को तकगाउँ । तस्बिर : महेश केसी/कान्तिपुर

आरक्षमा सिकार गर्नका लागि तोकिएका जम्मा सातवटा ब्लकमध्ये चारवटा ब्लकसमेत रुकुम पूर्वमा पर्छन् । सिकार गर्न सहजीकरण होस् बनेर ब्लक बनाएको हो । अधिकृत थापाले यी ब्लगमा बर्सेनि पालैपालो सिकार हुने बताए । सिकारका लागि पहिलो सिजनअन्तर्गत असोज र कात्तिक तथा दोस्रो सिजन चैत र वैशाखमा हुने थापाको भनाइ छ । दोस्रो सिजनका लागि सिकारी आउन थालेका छन्,’ उनले भने ।

प्रत्येक पाँच वर्षमा नावर र झारलको गणना हुने र त्यसकै आधारमा कोटा निर्धारण गरेर सिकारका लागि अनुमति दिइने गरिएको छ । यो वर्षका लागि १२ वटा नावर र ८ वटा झारलको सिकार गर्ने कोटा निर्धारण गरिएको रेन्जर विकले जनाए । सिकार आरक्ष क्षेत्रलाई मध्यवर्ती क्षेत्र तोक्न पटक–पटक छलफल भए पनि नतिजा आउन नसकेको बताउँदै पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीले बताए ।

प्रकाशित : चैत्र ९, २०७९ १०:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×