वन्यजन्तुको सुकुटीसहित एक जना पक्राउ

दुर्गालाल केसी

दाङ — वन्यजन्तुको २० किलो ४ सय ६० ग्राम सुकुटीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दाङको राजपुर गाउँपालिका–७ छेकरीया नाका निवासी ४९ वर्षीय कमानसिंह बिक वन्यजन्तुको सुकुटी बोकेर हिँडिरहेको अवस्थामा मंगलबार बिहान राजपुर–५ नौसराबाट पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजनकुमार गौतमका अनुसार गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गढवा र प्रहरी चौकी चंगुवाबाट गएको प्रहरी टोलीले बिकलाई पक्राउ गरी खानतलासी गर्दा उनले बोकेका दुईवटा बोरामा सुकुटी फेला परेको थियो ।

बिकलाई थप अनुसन्धान र कारबाहीका लागि सुकुटीसहित डिभिजन वन कार्यालय लमहीमा बुझाइएको गौतमले बताए ।

नेपालमा वन्यजन्तुको सिकार गर्न वा तिनको कारोबार प्रतिबन्धित भए पनि लुकिछिपी सिकार वा व्यापार गरेका घटना रोकिएका छैनन् ।

प्रकाशित : चैत्र ७, २०७९ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्

डेढ अर्ब लागतमा सेरामिक्स टायल्स उद्योग खुल्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — सिमरामा एक अर्ब ५० करोड रुपैयाँ लागतमा पशुपति सेरामिक्स उद्योग स्थापना गरिने भएको छ । गुणस्तरीय सेरामिक्स, भिट्रिफाइड, फ्लोर र वाल टायल्स उत्पादन गर्ने गरी ५० प्रतिशत संरचनाको कार्य सम्पन्न भइसकेको कम्पनीका सञ्चालक तुलसी साहले जनाए ।

कम्पनी भारतमा २५ वर्षदेखि सेरामिक्स उत्पादनमा ख्याति कमाएको अकुरीति एन्ड नमोको संयुक्त लगानीमा सञ्चालनमा आउन लागेको बताइएको छ । वार्षिक ५ अर्ब रुपैयाँ बराबरको उत्पादनको लक्ष्यसहित कम्पनी स्थापना गरिएको साहले जनाए । यो नेपालको सबैभन्दा ठूलो सेरामिक्स टायल्स कम्पनी हुने उनको दाबी छ ।

कम्पनीले सकेसम्म धेरै नेपाली कच्चापदार्थ प्रयोग गर्ने र आफना उत्पादनलाई विदेशमा समेत बिक्रीवितरणका लागि निर्यातसमेत गर्नेछ । कम्पनीले आफ्ना उत्पादन अक्टोबर २०२३ बाट बजारमा ल्याउने उद्योगले जनाएको छ ।

प्रकाशित : चैत्र ७, २०७९ २०:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×