बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

सन्जु पौडेल

तिलोत्तमा — बुटवल बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । कुल ७ हजार १ सय १० विद्यार्थी मतदाता रहेको क्याम्पसमा २ हजार ६ सय ८१ मत खसेको थियो ।

अध्यक्ष पदमा अनेरास्ववियुका उम्मेदवार दुर्गाबहादुर एमसीले १ हजार २ सय १४ मत पाएर विजयी भए भने निकटतम प्रतिस्पर्धी माओवादी निकट अखिल क्रान्तिकारीका शिवबहादुर खवासले ६ सय ३५ मत पाए । नेपाल विद्यार्थी संघका सागर पौडेल ४ सय ७४ मतसहित तेस्रो भए ।

त्यस्तै, सचिव पदमा अनेरास्ववियुका उम्मेदवार निलकण्ठ पाण्डेय, कोषाध्यक्ष पदमा अनेरास्ववियुका शशांक बस्याल विजयी भएका छन् ।

यस्तै, सदस्य पदमा पनि अनेरास्ववीयुका नवीन खनाल, सूचना भण्डारी, सुनिल कार्की, भूकम्प अर्याल, विमलकुमार पासी, सागर एमसी र प्रज्वल बस्नेत फराकिलो मतान्तरले विजयी भएका छन् ।

बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुले ०४९ सालदेखि जित्दै आएको छ ।

प्रकाशित : चैत्र ६, २०७९ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्

गुल्मीमा अखिल पहिलो, क्रान्तिकारी दोस्रो, नेविसंघ तेस्रो

गगनशिला खड्का

गुल्मी — स्ववियु चुनावमा गुल्मीका क्याम्पसहरुमा अनेरास्ववियू पहिलो भएको छ । जिल्लाका ११ क्याम्पसमध्ये ५ क्याम्पसमा अनेरास्ववियुले सभापति पद जितेर पहिलो भएको हो ।

दोस्रोमा अखिल (क्रान्तिकारी) र तेस्रोमा नेविसंघ रहेका छन् । अखिल (क्रान्तिकारी)ले ४ क्याम्पसमा जितेको छ भने नेविसंघले २ क्याम्पस जितेको छ ।

अनेरास्ववियु र क्रान्तिकारीले जितेका क्याम्पसमध्ये अधिकांशमा सहमतिका आधारमा स्ववियुको नेतृत्व चयन भएको छ । जम्मा ३ वटा क्याम्पसमा चुनाव भएको थियो । सहमतिका आधारमा अनेरास्ववियुबाट मानका टिकराम क्याम्पसमा आकाश खरेल, सत्यवती क्याम्पसमा अस्मिता भण्डारी, दिगाम आदर्श क्याम्पसमा श्रीधर अर्जेल, रुद्रावती बहुमुखी क्याम्पसमा अनिश पाठक र रिडी क्याम्पसमा गंगा कुावर सभापतिमा निर्वाचित भएका छन् । यीमध्ये रुद्रावतीमा मात्र निर्वाचनबाट नेतृत्व चयन भएको हो । रिडी र दिगामबाहेक अन्य सबै क्याम्पसमा अन्य विद्यार्थी संगठनसँग गठबन्धन छ ।

त्यस्तै, अखिल (क्रान्तिकारी)बाट चन्द्रकोट बहुमुखी क्याम्पसमा प्रभा पौडेल, धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा इन्द्र पोखरेल, जनज्योति क्याम्पसमा जीवन पौड्याल र श्रृङ्गेश्वर बहुमुखी क्याम्पसमा विशाल थापा सभापतिमा निर्वाचित भएका छन् । क्रान्तिकारीले जितेकामध्ये श्रृङ्गेश्वरमा मात्र निर्वाचन भएको हो । अन्यमा विभिन्न संगठनसँग गठबन्धन छ ।

नेविसंघले जिल्ला सदरमुकामको रेसुङ्गा बहुमुखी क्याम्पस र रुरु संस्कृत विद्यापिठमा सभापति जितेको छ । रेसुङ्गामा निर्वाचन प्रक्रियाबाट वाम गठबन्धनलाई हराएर नेविसंघका पुनाराम घिमिरेको प्यानल नै विजयी भयो । रुरुमा भने नेविसंघ र अखिलको सहमतिमा नारायण पन्थीको सभापतित्वमा स्ववियु गठन भएको छ ।

प्रकाशित : चैत्र ६, २०७९ १२:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×