दुर्घटनामा श्रीमान्‌को मृत्यु, श्रीमती र छोरी घाइते- लुम्बिनी - कान्तिपुर समाचार

दुर्घटनामा श्रीमान्‌को मृत्यु, श्रीमती र छोरी घाइते

दुर्गालाल केसी

दाङ — दाङमा आइतबार बेलुका सवारी दुर्घटना हु्ँदा श्रीमान्‌को मृत्यु भएको छ भने श्रीमती र छोरी घाइते भएका छन् । 

घोराहीबाट लमहीतर्फ जाँदै गरेको प्रदेश ०३—००१ क. ०१६९ नम्बरको मिनी ट्रकले विपरीत दिशाबाट आउँदै गरेको वाग्मती प्रदेश ०२—०१६ प.३६५७ नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका-३ कुइरेपानीमा ठक्कर दिंदा मोटरसाइकल चालक नौबहिनी गाउँपालिका-६ प्यूठान निवासी ३२ वर्षीय राजन केसीको मृत्यु भएको छ । दुर्घटनामा घाइते केसीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजनकुमार गौतमले बताए । दुर्घटनामा मोटरसाइकलमा सवार केसीकी श्रीमती २६ वर्षीया सन्ध्या र दुई वर्षीया छोरी राष्ट्रियता सख्त घाइते भएका छन् ।

मिनी ट्रक र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको डीएसपी गौतमले जानकारी दिए ।


प्रकाशित : चैत्र ५, २०७९ २१:५४
प्रतिक्रिया
पठाउनुहोस्

बाह्रबिसेमा सन्दिप, जलविरेमा अधिकारी र मेलम्चीमा लामिछाने विजयी

अनिश तिवारी

सिन्धुपाल्चोक — जिल्लाको बाह्रबिसेको अरनिको कलेजको स्ववियु सभापतिमा सन्दिप बस्नेत, जलविरे भ्यालीमा अच्युत अधिकारी र मेलम्ची भ्याली क्याम्पसमा बिजयी पवन लामिछाने विजयी भएका छन् ।

बस्नेतले एक सय ८६ मत ल्याएर संयुक्त गठबन्धन अखिल (क्रान्तिकारी)का गणेश प्रधानलाई ४१ मतान्तरले हराए भने जलविरेमा अधिकारीले प्यानलसहित बाजी मारे । अच्युतले ७९ मत ल्याइरहँदा नेविसंघका उम्मेदवारले ४९ र अनेरास्ववियुकाले ४६ मात्रै ल्याउन सके ।

मेलम्ची भ्याली क्याम्पस ग्याल्थुममा ७० मत ल्याएर अनेरास्ववियुका पवनकुमार लामिछानेले प्यानलसहित जित हासिल पारे । नेविसंघका रणजित कार्कीले भने ५१ मतमात्रै ल्याएर पराजय व्यहोरे ।

उता जुगल बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी)का सुदर्शन अर्यालले ८८ मत ल्याएर प्यानलसँगै बिजयी भएका हुन् । जिल्लाको अधिकांश क्याम्पसमा अनेरास्ववियु र अखिल (क्रान्तिकारी)बीच भएको गठबन्धनले सर्वसम्मत र विजयी पाएको देखिन्छ । यसअघि ५ क्याम्पसमा मनोनयन दर्ताकै दिन पदाधकिारी सर्वसम्मत निर्वाचित भइसकेका हुन् ।

पाँचमा निर्विरोध

जिल्लाका प्रमुख चौतारा बहुमुखी क्याम्पसमा क्रान्तिकारीका अमृत श्रेष्ठ सभापतिमा निर्वाचित भएका हुन् । अनेरास्ववियु, नेविसंघ र समाजवादी विद्यार्थी संगठनले अन्य पदहरू लिएर सर्वसम्मत रूपमा स्ववियु निर्वाचित भएका छन् । सुनकोशी बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियुकी हिरा थामी सभापतिमा निर्वाचित भइन् भने अखिल क्रान्तिकारी र नेविसंघले अन्य पदहरू लिए ।

ककलिङ क्याम्पस ठुलोपाखरमा अखिल क्रान्तिकारीका लक्ष्मण घिसीङ सभापतिमा छानिए । त्यस्तै ठोकर्पा सामुदायिक क्याम्पसमा नेविसंघ की सरस्वती जिसी सभापतिमा निर्वाचित भएकी छन् । ति दुवै क्याम्पसमा अनेरास्ववियु लगायतका क्रियाशील सबै विद्यार्थी संगठनका प्रतिनिधिहरू रहेका छन् । उता सिन्धु भ्याली क्याम्पस भोटेचौरमा नेविसघका सुरज चौलागाईं सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित : चैत्र ५, २०७९ २१:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×