सियारी पालिकाका ९५ प्रतिशत योजना कार्यान्वयनमा - लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सियारी पालिकाका ९५ प्रतिशत योजना कार्यान्वयनमा 

अमृता अनमोल

बुटवल — आर्थिक वर्षको अन्त्यमा हतार हतारमा लतपत काम गर्ने परिपाटी धेरैतिर छ ।  रुपन्देहीको सियारी गाउँपालिकाले भने चालु आर्थिक वर्षको सुरुवातदेखि नै योजना कार्यान्वयमा लैजाँदा फागुन मसान्तभित्रै ६० योजना सम्पन्न गरेको छ । ९५ प्रतिशत योजनाको सम्झौता गरी कार्यान्वयनमा लगेको छ । 

गाउँसभाबाट पारित योजनामध्ये ९५ प्रतिशतमा सम्झौता गरी सुरुवात गरेको योजना शाखा प्रमुख रोमलाल पुरीले जानकारी दिए । सियारी पालिकाले सबैजसो सडक, नाली, कल्भर्ट, भवन तथा आवास निर्माण, धर्मशाला निर्माण लगायतका पूर्वाधार निर्माणका काम अगाडि बढाएको छ । योजना प्रमुख पुरीका अनुसार सियारी गाउँपालिका स्तरका १० करोड ७१ लाख ६९ हजार बराबरका तथा वडा स्तरमा ७ करोड २१ लाख बराबरका योजना निर्माणको चरणमा छन् । गाउँपालिकाले सडक, कुलो, बाँध निर्माण, तथा विद्यालयका भवन निर्माणलाई प्राथमिकतामा राखेको छ ।

गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक तारा थारुले उपभोक्ता समिति तथा निर्माण व्यवसायीले सुरु गरेका हरेक योजनामा गुणस्तर कायम राख्न नियमित अनुगमन र सुझाव संकलन थालेको बताइन् । सियारीले सबैजसो सडक, नाली, कल्भर्ट, भवन तथा आवास निर्माण, धर्मशाला निर्माण लगायत पूर्वाधार निर्माणका काम अगाडि बढाएको छ । पहिलो चौमासिकबाटै योजना कार्यान्वयनमा गएकाले असार मसान्तमा हतारो नहुने र काममा गुणस्तर नघट्ने उपाध्यक्ष चौधरीले बताइन् ।


प्रकाशित : चैत्र ३, २०७९ १३:११
प्रतिक्रिया
पठाउनुहोस्

पालिकाभरका गाईगोरुमा रोगको संक्रमण, एक सातामै १० मरे 

विप्लव महर्जन

सल्यान — जिल्लाको कालिमाटी गाउँपालिकाको सात वटै वडामा किसानले पालेका गाईगोरुमा रोगको संक्रमण बढेको छ । ‘लम्पी स्किन’ रोगको संक्रमणका कारण एक सातामै किसानले पालेका १० गाईगोरु मरेका छन भने ९४ विरामी परेका छन् । विरामी परेका गाईगोरुको छालामा फोका देखिने र अन्डकोष, घाँटी, नाभी, सुन्निने, ज्वरो आउने समस्या देखिएको छ । धमाधम विरामी पर्ने र गाईगोरु मर्न थालेपछि अन्य पशुमा रोग सर्ने डरले किसानहरु चिन्तित भएका छन् ।

कालिमाटी गाउँपालिका ५ का किसान धनबहादुर गाहाले आफ्नो घरमा पालेका दुई गाईगोरुमा रोगको संक्रमण देखिएको बताए । उनका अनुसार किसानले नबुझेको रोग भएकाले अन्य पशु तथा मानिसमा सर्ने त्रास बढेको छ । रोगको संक्रमण गाईगोरुमा ८/१० दिन पहिलेदेखि देखिएको र केही मरेको कालिमाटी गाउँपालिका ५ का स्थानीय तथा नेता पुरुषोत्तम भटराईले बताए । पहिला सामान्य जस्तो लागेर किसानले कसैलाई नभनेको र संक्रमण बढ्दै गएपछि गाउँपालिकामा गएर जानकारी गराएको उनले बताए । उनका अनुसार हाल कालिमाटी गाउँपालिकाको पशु शाखाले उपचार सुरु गरेको छ ।

कालिमाटी गाउँपालिका पशु शाखा प्रमुख केशवराज बस्नेतले विज्ञ डाक्टरलाई तस्बिर देखाउने र गाईगोरुमा देखिएको लक्षणका बारेमा जानकारी गराई सल्लाह लिँदा ‘लम्पी स्किन’ रोग पाइएको बताए । रोगले महामारीको रुप लिन नपाओस भनेर विज्ञको सल्लाह अनुसार पालिकाका सात वटै वडामा किसानका घरमा विरामी परेका गाईगोरुको उपचार गरिरहेको जानकारी गराए ।

उनका अनुसार समयमै उपचारको अभावमा पालिकामा १० गाईगोरु मरेका छन् । पालिकाले सबै वडामा उपचार थालेपछि विरामी परेका ९४ मध्ये ६४ ठिक भैसकेका छन् । अन्यको पनि उपचार भैरहेको छ । पहिला भन्दा अहिले धेरै सुधार आइसकेको भएपनि पूर्ण रुपमा रोगको पहिचानको लागि ल्याब टेस्ट गर्न सुर्खेत पठाएको उनको भनाइ छ ।


प्रकाशित : चैत्र ३, २०७९ १२:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×