कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

भीम अस्पतालमा सिटी स्क्यान र ब्लड बैंक सेवा सुरू

माधव ढुंगाना

भैरहवा — सोमबारदेखि भीम अस्पताल भैरहवामा सिटी स्क्यान र ब्लड बैंक सेवा सञ्चालनमा आएको छ । भीम अस्पताल लुम्बिनी प्रदेशका जिल्ला अस्पतालमध्ये सिटी स्क्यान सेवा सञ्चालन गर्ने पहिलो जिल्ला अस्पताल रहेको जनाइएको छ ।

भीम अस्पतालमा सिटी स्क्यान र ब्लड बैंक सेवा सुरू

२ करोड ७४ लाख ४० हजार रुपैयाँको लागतमा अस्पतालमा सिटी स्क्यान सञ्चालनमा ल्याइएको हो । प्रदेश सरकारले सिटी स्क्यान राख्न अस्पताललाई बजेट उपलब्ध गराएको थियो । भीम अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालनमा आएसंगै यो सेवा लिनका लागि महँगो शुल्क तिरेर निजी अस्पताल र क्लिनिकमा जानुपर्ने बाध्यता सर्वसाधारणलाई हटेको छ ।

अस्पतालको सेवा प्रवाहलाई थप व्यवस्थित र सुविधा सम्पन्न गराउने उद्देश्यहित सिटी स्क्यान र ब्लड बैंक सेवा सुरु गरिएको जनाइएको छ । उक्त सेवाको सोमबार लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले शुभारम्भ गरे । मन्त्री पन्थीले आमनागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन सरकार लागि परेको जनाए । ‘उपचार र सेवा लिनबाट कुनै नागरिक बञ्चित नहोउन् भन्नेमा प्रदेश सरकार सचेत छ,’ उनले भने, ‘यसका लागि सरकारले आफ्नो सामर्थ्य प्रयोग गर्छ ।’ सञ्चालनमा आएको उक्त सिटी स्क्यान ३२ स्लायस क्षमताको छ ।

अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. शकुन्तला गुप्ताले भीम अस्पताल विस्तारै हरेक पूर्वाधारमा सम्पन्न हुजान थालेको बताइन् । अस्पतालमा स्थापित ब्लड बैंकले रगतको अभाव अन्त्य गर्न सहयोग पुग्ने उनले बताइन् ।

प्रकाशित : फाल्गुन १५, २०७९ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×