कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

भिडियो एक्सरे मेसिन अलपत्र

कान्तिपुर संवाददाता

प्यूठान — यहाँस्थित जिल्ला अस्पतालमा रहेको भिडियो एक्सरे मेसिन अलपत्र परेको छ । आठ महिनाअघि बिग्रिएको मेसिन मर्मतसम्भारको अभावमा अलपत्र परेको हो । लामो समय मेसिन बिग्रेर थन्किएपछि सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । अहिले गाउँका स्वास्थ्यचौकीमा समेत भिडियो एक्सरे मेसिन राख्न थालिएको छ ।

‘डाक्टरले एक्सरे मेसिन बिग्रिएको छ भन्दै बिरामीलाई अन्यत्रै जान भन्छन्,’ प्यूठान नगरपालिका–१० सारीबाङकी सुमित्रा पराजुलीले भनिन्, ‘किन यस्तो बेवास्ता गरिएको होला ?’ अस्पताल प्रशासनले चासो नदिएकै कारण जिल्ला अस्पतालमा भिडियो एक्सरे मेसिन मर्मतसम्भार नभएको उनले आरोप लगाइन् । ‘यो सबै निजीमा बिरामी पठाउने चलखेल होला,’ उनले भनिन्, ‘नत्र आठ महिनासम्म पनि एउटा मेसिन अस्पतालले बनाउन सक्दैन र ?’

पहिले अस्पतालमा एक्सरे गर्न दैनिक ५० जनासम्म आउने गरेको अस्पतालको तथ्यांक छ । अस्पतालमा लामो समय भिडियो एक्सरे मेसिन बन्द हुँदा एकातर्फ बिरामीले निजी मेडिकल धाउनुपर्ने बाध्यता छ भने अर्कोतर्फ अस्पतालको आम्दानीसमेत गुमेको छ । भिडियो एक्सरे गरेबापत अस्पतालले प्रतिव्यक्ति ६ सय रुपैयाँ शुल्क लिने गरेको थियो । एक्सरे सेवा बन्द भएयता जिल्ला अस्पतालले मासिक ६ लाख रुपैयाँभन्दा बढी आन्तरिक आम्दानी गुमाएको छ । बितेको ८ महिनामा ४८ लाख बढी आम्दानी गुमेको जिल्ला अस्पताल प्यूठानका प्रमुख खिमप्रसाद पार्धेले बताए ।

‘मेसिन नहुँदा आम्दानी मात्रै गुमेको छैन, बिरामीले समेत सास्ती खेप्नुपरेको छ,’ उनले भने, ‘तर, प्रयास गर्दागर्दै पनि ढिलाइ भइरहेको छ ।’ जिल्ला अस्पतालमा प्यूठानसँगै अर्घाखाँची, गुल्मी, रोल्पालगायतका बिरामी आउने गर्छन् । बिरामीको चाप अस्पतालमा बढ्दै गए पनि सेवा विस्तारमा चासो नपुगेको प्यूठान नगरपालिका–४ टारीका सुमन सुवेदीले बताए । ‘जिल्ला अस्पतालमा भिडियो एक्सरे सेवा छैन भन्ने सुन्दा पनि मानिसहरू अचम्म मान्छन्,’ उनले भने, ‘अस्पताल प्रशासन भने हाइसन्चो मानेर बसेको छ ।’

प्रकाशित : फाल्गुन १२, २०७९ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×