लुम्बिनी राष्ट्रिय सभा उपनिर्वाचन आज हुँदै- लुम्बिनी - कान्तिपुर समाचार

लुम्बिनी राष्ट्रिय सभा उपनिर्वाचन आज हुँदै

दुर्गालाल केसी

दाङ — लुम्बिनी प्रदेशको अन्य समूहअन्तर्गत राष्ट्रियसभा सदस्यको उपनिर्वाचन बुधबार हुँदै छ । बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म घोराहीस्थि कर्मचारी मिलन केन्द्रमा मतदान हुने मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले बताए ।

नेकपा एमाले, नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ । सत्ता गठबन्धनका तर्फबाट एमालेका कुमार दशौंदी, कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्तिका राजेन्द्रवीर रायको उम्मेदवारी दर्ता भएको छ । सत्ता गठबन्धनका तर्फबाट दशौंदीको उम्मेदवारी दर्ता भए पनि उन्मुक्तिले असन्तुष्टि जनाउँदै छुट्टै उम्मेदवारी दिएको छ । दशौंदी र आचार्य रोल्पा निवासी हुन् भने राय बाँकेका हुन् । मतदान सकिएलगत्तै मतगणना हुने मुख्य निर्वाचन अधिकृत कार्कीले जानकारी दिए ।

एमालेका खिमलाल भट्टराईले प्रतिनिधिसभा निर्वाचनका क्रममा राजीनामा दिएपछि रिक्त भएको पदमा उपनिर्वाचन हुन लागेको हो । रुपन्देहीका भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन राष्ट्रिय सभा सदस्य छाडेका थिए । उनले रुपन्देही-५ बाट उम्मेदवारी दर्ता गरेका थिए तर उनीभन्दा पहिला एमालेबाटै तिलोत्तमा नगरपालिकाका पूर्वप्रमुख बासुदेव घिमिरेको उम्मेदवारी दर्ता भएका कारण भट्टराईको उम्मेदवारी खारेज भएको थियो ।

राष्ट्रिय सभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिका प्रमुख तथा उपप्रमुखले मतदान गर्दै छन् । प्रदेशसभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुख मध्य हरेकको मतभार १८ हुने निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३ सय ५ रहेको छ‚ जसमध्ये प्रदेशसभा सदस्यको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुखको संख्या २ सय १८ छ । लुम्बिनी प्रदेशमा १ सय ९ पालिकाहरू छन् । तीमध्ये कांग्रेसले ४८, एमालेले २७, माओवादी केन्द्रले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २/२ तथा राप्रपा र जनता प्रगतिशीलले १/१ स्थान जितेका छन् ।

८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४/४, जसपा, लोसपा र जनमतले ३/३ जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १/१ सिट जितेका छन् । स्वतन्त्रबाट ३ जनाले जितेकामा एक जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

प्रकाशित : माघ २५, २०७९ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्

बर्दियाका गोही बाँकेमा

जे पाण्डे

नेपालगन्ज — बाँके र बर्दिया राष्ट्रिय निकुञ्जले जलचरमध्ये संकटापन्न अवस्थामा रहेको घडियाल गोहीको संरक्षण गर्न थालेका छन् । बाँके राष्ट्रिय निकुञ्जले राप्ती नदीमा गोहीसँगै चलचरको संख्या वृद्धि गर्न प्राकृतिक जीवचक्रलाई खलबलिन नदिन संरक्षण अभियानको सुरुवात गरेको हो । 

चलचर विज्ञहरूले तीन महिना लगाएर बाँकेको राप्ती नदीको स्थलगत अध्ययन गर्दा यहाँको पानीसँगै बगर क्षेत्र वातावरणीय दृष्टिले समेत घडियाल गोहीको उचित बासस्थान हुने सुझाव दिएका थिए । त्यसैका आधारमा बर्दिया र बाँके राष्ट्रिय निकुञ्जले गोही संरक्षणको प्रयास थालेका हुन् ।

पहिलो चरणमा बर्दिया राष्ट्रिय निकुञ्जले दुईवटा भाले र आठवटा पोथी घडियाल बाँके निकुञ्जलाई हस्तान्तरण गरेको छ । बर्दियाबाट स्थानान्तरण गरिएका गोही बाँकेको बासखोलीस्थित राप्ती नदीमा छाडिएको छ । घडियाल गोही सुरुमा चितवनबाट बर्दिर्या ल्याइएको थियो । राप्ती नदीमा गोहीको संख्या घट्दै गएको पाइएपछि बर्दियाबाट ल्याएर बाँकेमा संरक्षण गर्न थालिएको निकुञ्जका अधिकारीले बताएका छन् ।

राप्ती नदीको पानीमा प्रदूषण न्यून छ । स्वच्छ पानीमा बस्ने घडियाल प्रजातिको मुख्य आहारा माछा हो । राप्ती नदीमा यी दुवै उपलब्ध रहेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख अशोककुमार भण्डारीले बताए । ‘गोही संरक्षण गर्न थालेपछि माछा मार्ने क्रमलाई भने नियन्त्रण गर्नुपर्छ,’ उनले भने ।

निकुञ्जका अधिकारीले नदीमा माछा मारेर जीविका चलाउँदै आएकाहरू खुनार र कुमाल जातिको व्यवसाय संकटमा पर्ने देखिएकाले उनीहरूको आयआर्जनको विकल्प खोज्ने बताएका छन् । ‘विकल्पस्वरूप खोला वा नदीबाहिर माछा पालन गर्न सिकाउने पक्षमा छौं,’ बाँके राष्ट्रिय निकुञ्जका प्रमुख श्यामकुमार शाहले भने, ‘संकटापन्न सूचीमा रहेका प्रजातिको संरक्षण गर्ने संकल्प गरेका छौं ।’

नदीमा आश्रित हुने समुदायका लागि निकुञ्जले बल्छी प्रयोग गरेर माछा मार्न पाउने लाइसेन्स दिएको छ । बल्छीबाहेक जाल प्रयोग गरेर माछा मार्न प्रतिबन्ध लगाइएको छ । जाल प्रयोग गर्दा घडियाल गोहीको चुच्चो अर्थात् मुख जालमा अल्झेर भाँच्चिन सक्ने र संरक्षणमा बाधा पुग्ने भएकाले रोक लगाइएको हो ।

बर्दियाको कर्णाली र बबई नदीसहित नेपालमा करिब २ सय ५० वटा घडियाल गोही संरक्षण गरिएको निकुञ्जले जनाएको छ । विश्व सीमसार दिवसका अवसर पारेर राप्तीमा गोही संरक्षण गर्न थालिएको हो ।

प्रकाशित : माघ २५, २०७९ ०८:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×