२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६
लुम्बिनीको सामर्थ्य

आधुनिक शिक्षामा फड्को

शिक्षामा सरकारी लगानी बढाउन र उच्च शिक्षालाई सस्तो र सर्वसुलभ बनाउन जरुरी
अमृता अनमोल

धेरै विद्यार्थीको चिन्ता हुन्छ– उच्च शिक्षाका लागि कहाँ जाने र के पढ्ने ? तर, शिक्षाको हब लुम्बिनी प्रदेशका विद्यार्थीमा यस्तो चिन्ता छैन । प्रदेशभित्रै आधुनिक शिक्षा चिकित्साशास्त्रदेखि सूचना प्रविधि र प्राविधिक विषयमा अध्ययन हुन्छ । यिनले व्यक्तिलाई काम, दाम र नाम तीनै चीज दिन्छन् । यही कारण लुम्बिनीमा उच्च शिक्षा लिन कर्णाली, सुदूपश्चिम र गण्डकी प्रदेशबाट समेत उल्लेख्य संख्यामा विद्यार्थी आउने गरेका छन् ।

आधुनिक शिक्षामा फड्को

रूपन्देही प्रदेशको सबैभन्दा बढी आधुनिक र उच्च शिक्षा प्रदान गर्ने शिक्षालय रहेको जिल्ला हो । त्यसपछि बाँके, दाङ र पाल्पामा पनि आधुनिक शिक्षालय फैलिएका छन् । प्रदेशमा चिकित्साशास्त्र पढाउने चार कलेज छन् । तीमध्ये युनिभर्सल साइन्स मेडिकल कलेज भैरहवा र देवदह मेडिकल कलेज रूपन्देहीमा छन् । पाल्पामा लुम्बिनी मेडिकल कलेज र बाँकेमा नेपालगन्ज मेडिकल कलेज छन् । त्यहाँ एमबीबीएस र बीडीएस पढाइ हुन्छ । देवदहबाहेक तीन वटामा स्नातकोत्तर तह पोस्ट ग्राजुएट (पीजी) तहको समेत पढाइ हुन्छ । प्रदेशमा बीएस्सी नर्सिङ, प्याथोलोजी, फिजियोथेरापी, रेडियोलोजी, फार्मेसी, जनस्वास्थ्यलगायतको पढाइ हुन्छ । दाङमा आयुर्वेदशास्त्र पढाइन्छ । प्रदेशका मेडिकल कलेजमा झन्डै ५ हजार विद्यार्थी अध्ययनरत छन् । रूपन्देहीको तिलोत्तमामा सरकारी मेडिकल कलेज स्थापनाको प्रक्रियामा छ ।

सबैभन्दा ठूलो भैरहवाको युनिभर्सल मेडिकल कलेजमा १ हजार ३ सय विद्यार्थी छन् । सन् १९९७ मा खुलेको यस कलेजमा १० प्रतिशत भारतीय विद्यार्थी छन् । एमबीबीएस, बीडीएस र एमडी एमएस, एमडीएस, एमएम, एमपीएचको अध्ययन हुने यस कलेजमा बीएस्सी नर्सिङ, बीएम नर्सिङ, प्याथोलोजी, फिजियोथेरापी, रेडियोलोजिस्ट, बी फार्मेसी, ल्याब टेक्नोलोजिस्ट, जनस्वास्थ्यको समेत पढाइ हुने क्याम्पस प्रशासन प्रमुख कमलराज ढकालले बताए । यहाँबाट उत्पादित जनशक्ति विश्व बजारमा बिक्ने र स्वास्थ्य शिक्षालाई यसले पर्यटनसित जोड्न सकेको उनको दाबी छ ।

धेरै युवतीको रोजाइको विषय अहिले नर्सिङ भएको छ । स्वदेश मात्र होइन, विदेशमा समेत माग भएपछि युवतीको आकर्षण यसतर्फ बढेको हो । प्रदेशमा नर्सिङ पढाइ हुने १५ वटा क्याम्पस छन् । यद्यपि पीसीएल नर्सिङ बन्द भएपछि अहिले नर्सिङ पढाउने कलेज घटेका छन् । चिकित्सा शिक्षा आयोगले नतिजा आएको ५ देखि ६ महिनापछि मात्रै भर्ना खोल्दा बीएस्सी नर्सिङ पढ्ने धेरै विद्यार्थी भारततर्फ जान थालेको लुम्बिनी मेडिकल कलेजका अध्यक्ष गोपालबहादुर पोखरेलले बताए । ‘यही कारण ४० जनाको सिट भए पनि यस वर्ष लुम्बिनी मेडिकल कलेजमा १३ र नेपालगन्जमा ३ जना मात्रै विद्यार्थी भर्ना भएका छन्,’ उनले भने, ‘यसैले पीसीएल नर्सिङ खोल्न र बीएस्सी नर्सिङको भर्नामा सुधार जरुरी छ ।’

उच्च शिक्षामा झन्डै २० हजार विद्यार्थी पढाउन सक्ने क्षमता रहेको प्रदेशमा साधारणतर्फ विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा संकायमा आकर्षक विषय पत्रकारिता, होटल म्यानेजमेन्ट, कानुन, ग्रामीण विकासलगायत पढ्न पाइन्छ । ‘पढ्नकै लागि काठमाडौं जाने विद्यार्थी स्वात्तै घटेका छन्,’ प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डेले भने, ‘राम्रो अंक ल्याएर संघीय राजधानी जाने सोच बनाएका धेरै अभिभावकले आफ्ना छोराछोरीलाई प्रदेशभित्रकै कलेजमा पढाएका छन् ।’

कुनै पनि संकाय पढेर मात्र हँॅदैन । पढाइअनुसारको रोजगारी भयो भने मात्रै विद्यार्थीको आकर्षण बढ्छ । त्यस्ता जनशक्तिलाई बजारले खोज्छ र पत्याउँछ पनि । पछिल्लो समय लुम्बिनीमा प्राविधिक शिक्षाका त्यस्ता नयाँ संकाय खुलेका छन्, जसले पढाइसँगै रोजगारी पनि सिर्जना गरिदिएका छन् । फुड टेक्नोलोजी, होटल म्यानेजमेन्ट र इन्जिनियरिङजस्ता विषयका स्नातक र डिप्लोमा तह पढाउने थुप्रै क्याम्पस यहाँ खुलेका छन् ।

पश्चिम नेपालको प्रमुख औद्योगिक सहर हो रूपन्देही । यहाँ ठूला र नयाँ प्रविधिका उद्योग खोल्ने क्रम बढ्दै जाने तर सीपयुक्त जनशक्ति नहुँदा उद्योगधन्दामा देशबाहिरबाट मजदुर ल्याउनुपर्ने बाध्यता छ । यही बाध्यता हटाउन नेपालमै पहिलो पटक ०२० सालमा रोजगारमूलक प्राविधिक शिक्षा बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआई) को स्थापना भएको थियो । ०७८ सालदेखि काठमाडौं विश्वविद्यालय र बीटीआईबीच चारवर्षे बिटेकको पढाइ हुन थालेको छ ।

उच्चस्तरीय प्राविधिक शिक्षा दिन ०६८ मा बुटवलको तामनगरमा कोरिया–नेपाल बहुप्राविधिक शिक्षालय स्थापना भएको छ । यसको उद्देश्य स्वरोजगार बनाउन तथा विदेशी श्रम बजारमा पनि सम्मानजनक काम पाउने दक्ष जनशक्ति उत्पादन गर्ने हो । ४० करोड लगानीमा निर्मित शिक्षालयमा मेकानिकल्स, अटोमेकानिकल्स र इलेक्ट्रिक, इलेक्ट्रिसियन विषयमा दुईवर्षे डिप्लोमा कोर्स पढाइ हुन्छ । अहिलेसम्म ५ हजारभन्दा बढीले सीप सिकेर स्वरोजगार बनेका छन् ।

लुम्बिनीमा तीन वटा विश्वविद्यालय नै छन् । बुद्ध जन्मस्थल रूपन्देहीमा लुम्बिनी बौद्ध विश्वविद्यालय छ । ०६७ सालदेखि शैक्षिक कार्यक्रम थालेको विश्वविद्यालयले बौद्ध दर्शनसँगै स्नातकोत्तरमा डिजास्टर रिक्स इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट तथा कन्स्ट्रक्सन इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट र स्नातकमा टुर एन्ड ट्राभल, कानुनजस्ता विषयसमेत पढाउने गरेको छ । काठमाडौं, बुटवल, देवदह र लुम्बिनीमा स्नातक र स्नाकोत्तर तह सञ्चालन गरेको लुम्बिनी विश्वविद्यालयमा १ हजार ४ सय ८ विद्यार्थी छन् । अब छिट्टै तिलौराकोटमा पढाइ सुरु गर्दै छ । विश्वविद्यालयका सम्बन्धन प्राप्त आठ वटा र तीन वटा सहकार्यमा सञ्चालित क्याम्पस छन् । बजारको माग बढी भएका आधुनिक विषय पढाउन थालेकाले पढाइ पूरा गर्नासाथ ९० प्रतिशत विद्यार्थीले रोजगारी प्राप्त गर्ने रजिस्ट्रार तिलकप्रसाद आचार्यले बताए ।

संस्कृत शिक्षालाई सर्वसुलभ बनाई संस्कृत वाङ्मयभित्रका आध्यात्मिक मूल्य–मान्यतालाई प्रवाहित गराउन एवं ज्ञान विज्ञानको समन्वय गराउन दाङमा नेपाल संस्कृत विश्वविद्यालय छ । ०११ सालमा दाङस्थित बिजौरीमा जनता महाविद्यालयको स्थापना भएको थियो । त्यससहित ५ विद्यापीठ जोडेर ०४३ सालमा यो विश्वविद्यालय बनेको हो । उच्च तहसम्म संस्कृत शिक्षा, आयुर्वेद, वास्तुशास्त्र, वास्तु इन्जिनियरिङ र शिक्षाशास्त्र पढाइ हुने विश्वविद्यालयमा ३ हजार ८ सय विद्यार्थी अध्ययनरत छन् । १८ आंगिक र १२ वटा सम्बन्धन प्राप्त क्याम्पस छन् । उत्पादित ९९ प्रतिशत विद्यार्थी स्वरोजगार भएको विश्वविद्यालयका रजिस्ट्रार माधव अधिकारीको दाबी छ । ‘संस्कृत, आयुर्वेद, वास्तुशास्त्र र वास्तु इन्जिनियरिङको बजारमा माग बढेको बढ्यै छ,’ उनले भने ।

प्रदेश सरकारले बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना गरेको छ । जसले अहिले बजारको मागअनुसारका आधुनिक र रोजगारमूलक शिक्षाको पाठ्यक्रम बनाइरहेको छ । विश्वविद्यालयको उच्च शिक्षालाई श्रम बजारसँग जोड्ने र उच्च शिक्षामा विपन्न वर्गका विद्यार्थीको पहुँच बढाउने लक्ष्य रहेको मुख्यमन्त्री लीला गिरीले बताए । ‘पढाइ सकेर प्रमाणपत्र बोक्ने मात्रै होइन, गरिखाने शिक्षा हो प्राविधिक शिक्षा,’ उनले भने, ‘यसै पनि शिक्षाको हब हो लुम्बिनी प्रदेश । अब गरिखाने प्राविधिक शिक्षाको हब बनाउन चाहन्छौं ।’

लुम्बिनी प्रदेशमा देशकै नमुना उच्च शिक्षा दिने क्याम्पस छन् । कृषि विज्ञानमा उच्च शिक्षा दिन सरकारीस्तरको पक्लिहवा कृषि क्याम्पस छ । सीटीईभीटीअन्तर्गतका शिक्षा दिन दाङमा राप्ती प्राविधिक शिक्षालयसहित ४५ शिक्षालय छन् । प्रदेशमा कक्षा ११–१२ सञ्चालन भएका सामुदायिक ४ सय ९४ र संस्थागत १ सय ५० गरी ६ सय ४४ मावि छन् । सामुदायिक ८८, आंगिक १६ र निजी ८० गरी १ सय ८५ वटा क्याम्पसले उच्च शिक्षा प्रदान गर्छन् । सामुदायिक क्याम्पसमा रूपन्देहीको तिलोत्तमा र न्यु होराइजन कलेजले विज्ञान र व्यवस्थापनमा राष्ट्रिय रूपमै उत्कृष्ट नतिजा ल्याउने गरेका छन् । यहाँ त्रिभुवन, पूर्वाञ्चल, काठमाडौं र पोखरा विश्वविद्यालयअन्तर्गतका थुप्रै क्याम्पस छन् । तिनले सिभिल, कम्प्युटर, अटोमेकानिक्स, इन्जिनियरिङ पढाउँछन् । सूचना प्रविधितर्फ बीएस्सी, सीएसआईटी, बीआईटी, बीसीए, बीआईएमलगायत आधुनिक विषय पढाइ हुन्छ । शिक्षालाई जीवनोपयोगी, व्यवसायी र रोजगारमूलक बनाउने यी विषय पढ्न बाहिरी प्रदेशबाट पनि धेरै विद्यार्थी आउने गरेका छन् ।

सामुदायिक क्याम्पसमध्ये ०७० मा ३५ जना विद्यार्थीबाट सुरु भएको बुटवलको कालिका क्याम्पस बीसीएमा देशकै उत्कृष्ट नतिजा ल्याउनेमा पर्छ । अहिले बीबीएस, बीसीए र बीएड पढाइ हुने क्याम्पसमा ३ हजार विद्यार्थी पढ्छन् । क्याम्पस प्रयोगात्मक र व्यावहारिक सिकाइमा केन्द्रित छ । यसको परिणाम धेरै विद्यार्थी बिहान क्याम्पस पढ्ने र दिउँसो त्यसअनुसारका काम गर्ने वा आफैंले व्यवसाय गर्नेछन् । क्याम्पसका प्राचार्य घनश्याम पाठकले बीसीए र बीबीएस अध्ययन गर्ने ९० प्रतिशत विद्यार्थी पढाइसँगै रोजगारीमा जोडिने बताए ।

प्रदेशमा उच्च शिक्षा अध्ययन र पूर्वाधारमा उल्लेख्य लगानी भएको छ । यसले उच्च शिक्षाको गुणस्तर परिवर्तन र प्रयोगात्मक बनाउन सघाएको छ । यद्यपि, समयअनुसारका आधुनिक विषयलाई प्रदेशका १२ वटै जिल्लामा पुर्‍याउन चऽनौती छ । ‘शिक्षा विकासका पूर्वाधारको पनि पूर्वाधार हो । जसरी रगत गतिलो भयो भने शरीर स्वस्थ हुन्छ, त्यसैगरी शिक्षा गतिलो भए व्यक्ति, समाज र देश राम्रो हुन्छ,’ पूर्वशिक्षामन्त्री एवं हालका प्रदेश सांसद बसिउद्धिन खानले भने, ‘त्यसका लागि शिक्षामा सरकारी लगानी बढाउन र उच्च शिक्षालाई सस्तो र सर्वसुलभ बनाउन जरुरी छ ।’

प्रकाशित : माघ २१, २०७९ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याए सम्बन्धित पक्षबाट क्षतिपूर्ति भराउने गृहमन्त्रीको निर्णय कस्तो लाग्यो ?