रूपन्देहीको रूपान्तरण- लुम्बिनी - कान्तिपुर समाचार
लुम्बिनीको सामर्थ्य

रूपन्देहीको रूपान्तरण

कुनै बेला हटिया भर्न पहाडबाट झर्नेहरुका सन्तान रुपन्देहीतिरै बस्न थालेपछि गाउँहरु बजार हुँदै सहर बने, सडक, उद्योग, शैक्षिक संस्थाजस्ता पूर्वाधार निर्माणले रुपन्देहीको मुहार बदलिँदै गयो, मानिसको जीवनशैली पनि उस्तै रहेन
सन्जु पौडेल

पहाडी भूभागबाट बसाइँ सर्दै आउने क्रम बढ्दै जाँदा रूपन्देहीको मुहार पनि फेरिँदै गएको छ । कुनै बेलाका गाउँ अहिले सहरमा रूपान्तरण भएका छन् । यहाँका बजार र सडक मात्रै होइन, मानिसको जीवनशैली पनि बदलिरहेको छ ।

रूपन्देहीको मुख्य बजार क्षेत्र भैरहवा र बुटवलमा विसं १९५० को सेरोफेरोमा भारतीय बजारको प्रभावले बजारीकरण सुरु भएको मानिन्छ । २०२० सालतिर देशैभरि लाग्ने ६० वटा मुख्य हाटमध्ये ७ वटा रूपन्देहीमा थिए । तिनै हाटले यहाँको बजारीकरण र मानिसको चहलपहल बढाउन सहयोग पुर्‍याएको हो । त्यतिबेलाको हाटमा पहाडी भूभागबाट जिन्सी सामान ल्याई नुन र लत्ताकपडा खरिद गरेर फर्किने मानिसका सन्तान अहिले रूपन्देहीमा बस्छन् ।

भैरहवा र बुटवलमा २०२१ सालपछि स्थायी पसल खुल्न थाले । राजमार्ग बनेपछि बजार सर्न थाले । बटौलीको नामबाट चिनिने पुरानो बजार पारिदेखि वारि सरेर खस्यौली भयो । उक्त बजारलाई वारिका मानिस बुटवल भन्छन् भने बटौलीका मानिसले खस्यौली नै भन्ने गरेका छन् । बुटवलका साथै भैरहवा, धकधई, देवीनगर, मणिग्राम, खैरेनी, फर्साटिकरजस्ता गाउँ बजार बन्दै गए । खोला तर्नुपर्ने ठाउँमा काठे, फलामे पुल बने । तिनाउ, रोहिणी पुलले वारि र पारिका मानिसबीच सम्बन्ध बढायो । ग्राभेल सडकमै भए पनि साइकल, लडिया, ट्र्याक्टरजस्ता साधन गुड्न थाले ।

सवारीसाधनको सुविधाले पनि पुरानो बटौलीबाट बजार सरेको बुटवलका पुराना स्थानीय देवेन्द्रराज शाक्य बताउँछन् । उनका अनुसार सडक विस्तार नहुँदा र यातायातका साधन नगुड्दासम्म बुटवल उपमहानगरपालिका–२ को बटौली बजार अन्य जिल्ला र यहाँका हरेक गाउँका लागि परिचित बजार थियो । ‘सडक यातायात विस्तार भएसँगै भारतीयसमेत किनमेल गर्न आउने पुरानो बटौलीको व्यापार विस्थापित भयो,’ शाक्यले भने, ‘समयअनुसार बजार, रहनसहन, खानपान र जीवनशैली परिवर्तन भयो ।’

विश्लेषक युवराज कँडेल सशस्त्र द्वन्द्वकालमा गाउँमा माओवादीका गतिविधि फैलिएपछि पहाडबाट बसाइँ झर्ने क्रम बढ्दा रूपन्देहीका बजार थप विस्तारित भएको बताउँछन् । ‘मधेस आन्दोलनका कारण पनि यहाँका केही गाउँ बजारमा परिवर्तन भए,’ उनले भने, ‘हरैया, रुद्रपर, अमुवा, सूर्यपुरा मधेस आन्दोलनका उपज हुन् ।’

भैरहवा भारतीयको मुख्य बजार थियो । विदेशी सामान भारतमा नपाइने समयमा खुला सिमानाबाट भारतीय यतै किनमेल गर्न आउँथे । भारतमै सबै विदेशी सामान आयात हुन थालेपछि भने भैरहवाको उल्लास घट्यो । गाउँ–गाउँमा गाडी पुग्न र सबैतिर स्थानीय बजार–हाट सञ्चालन हुन थालेपछि भने गुल्मी, पाल्पा, अर्घाखाँचीका मानिस किनमेल गर्न तराई झर्ने क्रम घट्यो ।

विश्लेषक कँडेल यहाँको खानपान र वेशभूषाको शैली पनि परिवर्तन हुँदै गएको बताउँछन् । ‘भारतीय र चिनियाँ बजारमा आएका लुगा नेपाल भित्रिन्छन्,’ उनले भने, ‘यहाँका मानिसले बाह्य देशको भ्रमणमा विभिन्न परिकार चाखेका हुन्छन्, फर्केर यहाँ तिनै परिकार बनाउने प्रयास गर्छन्, यसले खानपानको शैली पनि परिवर्तन गरेको छ ।’

कँडेलले गाउँघरमै उत्पादित खाजा खाने चलन हट्दै गएको बताए । ‘अहिले जग्गा प्लटिङले उत्पादन घटायो, पश्चिमा शैलीले खानपान सिकायो,’ उनले भने, ‘पहिले हामी चिया–पाउरोटी र मटर खान्थ्यौं । अहिले जताततै मःम, चाउमिन छ ।’ बुटवलका पुराना पर्यटन व्यवसायी माधव नेपालले यहाँको खानपान समयको माग भएको टिप्पणी गरे । उनले पुरानो खानपान पनि फर्किन थालेको बताए । ‘नयाँ पिँढीले पुराना परिकार स्वस्थकर छन् भन्ने बुझ्न थालेका छन्,’ उनले भने, ‘नयाँ बनावटका होटल खुले पनि खानकी पुरानै पस्कने चलन बढ्दो छ ।’

पहिलेका मानिसले जे खान्थे, त्यही खानुपर्छ भन्ने अवस्था नरहेकाले नयाँ पुस्ताले त्यसलाई फरक–फरक स्वादमा लिइरहेको व्यवसायी नेपालले बताए । ‘हामीले पढ्ने बेला भुटेका मकै खान पाउँदा पनि खुसी हुनुपर्थ्यो,’ उनले भने, ‘अहिले केही होटलमा उही पहाडिया मकै नुन–खुर्सानीसँग पाइन्छ । युवाले पनि त्यसलाई रुचाएर खाने गरेका छन् ।’

सिद्धार्थनगरमै जन्मिएर मिठाई पसल सुरु गरेका राधेश्याम हलुवाईलाई पनि यहाँको खानपानको शैलीमा धेरै परिवर्तन आएको महसुस भएको छ । सिद्धार्थनगर–५ मा टिनको छाप्रोमा आफ्ना बुबाले मिठाई, मटर, चिया बेचेको देखेरै हुर्केका उनले १७ वर्षको उमेरदेखि व्यापार सम्हालेका हुन् । सडक बटुवा र अरूबाट सुनेर खोज्दै खोज्दै मानिस मिठाई पसलमा आइपुग्थे । अहिले त्यही मिठाई पवनको ब्रान्डमा परिवर्तन भएको छ । यसले समेत जिल्लाको खानपानमा बदलाव आएको महसुस गराउने हलुवाईले बताए । ‘बुबा नसक्ने भएपछि मैले टिनकै छानामुनि धेरै वर्ष पेडा र अन्य मिठाई बेचें,’ उनले भने, ‘अहिले टिनमै भएको भए के हुन्थ्यो, भन्न सक्दिनँ । तर पवन मिष्ठान्न भनेपछि धेरैले चिन्छन्, पेडा र मिठाई किन्न यहीँ आउँछन् ।’

हिजो साइकलमा पवनको मिठाई खान आउने मानिस अहिले कारमा आउने गरेको हलुवाईले सुनाए । बुटवल, भैरहवाका मानिसमा केन्द्रित पवन अमेरिकासम्म पुग्ने गरेको छ । पवन मिष्ठान्नमा पहिले रसबरी, पेडा, लड्डु, खजुरजस्ता मिठाईका परिकार पाइन्थे भने अहिले मिठाई करिब २० थरी मिठाई तयार हुन्छ ।

प्राध्यापक हुमराज भुसाल राजनीतिक परिवर्तनले बुटवललाई मध्यस्थान बनाएको बताउँछन् । उनका अनुसार २०४६ भन्दा अगाडि, २०६५ सम्म र २०६५ पछि छुट्याएर बुटवललाई केलाउन सकिन्छ । ‘माओवादी द्वन्द्वकाल सुरु हुँदा साविकका राप्ती, लुम्बिनी र गण्डकी अञ्चलका व्यक्ति जसले आफ्नो ठाउँमा नाम कमाएका थिए, उनीहरू बुटवल सरे,’ उनले भने, ‘त्यो लगानी बुटवलले लिन पायो र नै बुटवलमा औद्योगिकीकरण सुरु भएको हो । माओवादी द्वन्द्वले पनि बुटवललाई सकारात्मक प्रभाव पार्‍यो ।’

पछिल्लो बुटवललाई हेरेर नै यहाँ बस्ती विकास भएको भुसालको बुझाइ छ । ‘नुनमार्गका रूपमा परिचय कमाएको बुटवलको मानव बस्तीले पछिल्लो समय आधुनिक सहरको झल्को दिन्छ,’ उनले भने ।

बुटवलमा खुलेका शैक्षिक संस्थाले पनि अन्य जिल्लाका विद्यार्थीलाई तानेको र यहाँको आर्थिक सबलीकरण भएको भुसालले बताए । कृषि र अस्पतालतिरको प्राविधिक धारले भने बुटवललाई आर्थिक उन्नतिमा पुग्न त्यति नसघाएको उनको विश्लेषण छ । रूपन्देहीले उद्योग, सडकलगायतका बन्दै गरेका पूर्वाधारका कारण थप लगानी आकर्षित गर्ने सम्भावना रहेको पनि भुसालले बताए । ‘तर त्यसका लागि लगानीलाई निरुत्साह गर्ने गतिविधि रोक्न सक्नुपर्छ,’ उनले भने ।

प्रकाशित : माघ २१, २०७९ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्

रोहिणी अध्यक्ष कपको उपाधि १ नं वडालाई

सन्जु पौडेल

तिलोत्तमा — रोहिणी अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि रोहिणी गाउँपालिका वडा नम्बर १ ले जितेको छ । फाइनल खेलमा रोहिणी–२ लाई ४९ रनले पराजित गर्दै रोहिणी–१ ले उपाधि जितेको हो । टस जितेर रोहिणी–२ ले बलिङ रोज्यो ।

सुरुमा ब्याटिङ गरेको रोहिणी–१ ले निर्धारित १६ ओभरमा ९ विकेट गुमाउँदै २ सय १९ रन बनायो । उसका लागि धिरुले ८५, अबरारले ४१ र सम्सादले २६ रनको योगदान गरे । बलिङमा रोहिणी–२ का आकाश, विनायक र सई मोहम्मदले २/२ विकेट लिए ।

जितका लागि २ सय २० रनको लक्ष्य पाएको रोहिणी–२ ले १६ ओभरमा ९ विकेटको क्षतिमा १ सय ७० रन बनायो । उसको लागि कमलले ५८, इन्जमामले ४० र पंकजले ३८ रनको योगदान गरे । बलिङमा रोहिणी–१ का धिरुले ३ र अफसरले २ विकेट लिए । प्रतियोगितामा धिरु म्यान अफ द म्यान अफ द सिरिज घोषित भए ।

प्रतियोगितामा प्रथम हुने टीमलाई ६० हजार र उपविजेता हुने टीमलाई ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिताका संयोजक रुपेश कुर्मीले बताए । त्यस्तै, सेमिफाइनलमा पुगेका दुइटा टीमलाई १५/१५ हजार रुपैयाँ प्रदान गरिएको कुर्मीले जानकारी दिए । प्रतियोगितामा गाउँपालिकाका-७ वटा वडाका ७ र एउटा कर्मचारीको टीम गरी ८ वटा टीमको सहभागिता थियो ।

प्रकाशित : माघ १४, २०७९ १५:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×