पतिले जलाउँदा घाइते भएकी महिलालाई काठमाडौं पठाइयो

रुपा गहतराज

नेपालगन्ज — पतिले आइतबार राति पेट्रोल छर्केर आगो लगाउँदा जलेकी कोहलपुरकी महिलालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । कोहलपुर नगरपालिका वडा नं. २ का भानुभक्त विकले २६ वर्षीय पत्नी गंगा र दुई वर्षीय छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका थिए ।

आगोले जलेर घाइते भएका प्रिन्सको सोमबार मृत्यु भइसकेको छ । गम्भीर घाइते रहेकी गंगालाई थप उपचारका लागि मंगलबार दिउँसो काठमाडौं पठाइएको हो ।

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईंका अनुसार घाँटी, ढाडसहित शरीरको १८ प्रतिशत भाग जलेकी गंगालाई थप उपचारका लागि एम्बुलेन्सबाट काठमाडौं रिफर गरिएको हो ।

कोहलपुर प्रहरीले पत्नी र छोरालाई आगो लगाउने विकलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ ।आइतबार ६ बजेतिर घरमा पति भानुभक्त विकले पत्नी गंगा र दुई वर्षीय छोरा प्रिन्सलाई पेट्रोल छर्किएर आगो लगाएका थिए ।

प्रकाशित : माघ १७, २०७९ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्

मोटरसाइकलमा दुईवटा हेल्मेट अनिवार्य गर्नेबारे मन्‍त्रालयमा छलफल

कान्तिपुर संवाददाता

काठमाडौँ — यातायात र सवारी सुरक्षासँग सम्बन्धित सरोकारवालाहरुले दुई पांग्रे सवारीमा सवार गर्नेहरुलाई पनि हेल्मेट प्रयोग गर्ने व्यवस्था मिलाउन सुझाव दिएका छन् ।

उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायाणकाजी श्रेष्ठसँग मंगलबार भएको छलफलमा उनीहरुले सवारी दुर्घटनामा सबैभन्दा बढी जोखिम दुई पांग्रे सवारीमा हुने भएकाले हेल्मेट अपरिहार्य रहेको बताएका थिए ।

ट्राफिक प्रहरी प्रमुख मिरा चौधरी, रोड सेफ्टी अलायन्सका प्रतिनिधिहरुले सुरक्षा सावधानीका लागि यस्तो व्यवस्था गर्नु उपयुक्त हुने सुझाव दिएका थिए ।

विगतमा यस्तो प्रावधान लागू गर्दा अनावश्यक विवाद भएको उल्लेख गर्दै ट्राफिक प्रहरी प्रमुख चौधरीले यसबारे सबै निकायहरुको एकै धारणा हुनुपर्नेमा जोड दिइन् ।

पूर्व मन्त्री समेत रहेका एमाले सांसद योगेश भट्टराईले यस्तो व्यवस्था गर्नु उपयुक्त हुने भएकाले यो बारे संसद्मा समेत आफूहरुले पहल गर्ने बताएका थिए ।

उपप्रधानमन्त्री श्रेष्ठले यसबारे केही महिना जनचेतनामूलक गतिविधिहरुलाई तीव्रता दिने र त्यसपछि अनिवार्य गर्नेबारे निर्णयमा पुग्ने प्रतिबद्धता जनाएका छन् ।

उनले पनि सुरक्षाका लागि यस्तो व्यवस्था उपयुक्त हुने तर व्यक्तिहरु आफैं सचेत बन्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय सडक सुरक्षा परिषद्ले मन्त्रालयमा मंगलबार छलफलका लागि पेस गरेको तथ्यांक अनुसार नेपालमा हुने सवारी दुर्घटनामध्येको ५० प्रतिशत दुर्घटना दुई पांग्रे सवारी रहेको उल्लेख छ ।

तीमध्ये मोटरसाइकलबाट हुने दुर्घटनाबाट मृत्यु हुने सम्भावना कारभन्दा २० गुणा बढी रहेको परिषद्को तथ्यांकमा छ ।

प्रकाशित : माघ १७, २०७९ १९:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×