बर्दियामा १५ जनामा कुष्ठरोग- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्दियामा १५ जनामा कुष्ठरोग

कमल पन्थी

बर्दिया — बर्दियामा यस चालु आर्थिक वर्षमा १५ जना कुष्ठरोगी भेटिएका छन्  । जसमध्ये १४ वर्षमुनिका दुई जनामा कुष्ठरोग लागेको छ । गुलरिया नगरपालिका—१ मा एक र बढैयाताल गाउॅपालिका—८ मा एक गरि दुई जनामा कुष्ठ रोग लागेको छ ।

तीमध्ये पुरुष ९ र महिला ६ जना कुष्ठरोगका बिरामी रहेका छन्। आर्थिक वर्ष ०७८/०७९ मा ६३ जनाले उपचार गराएका थिए । विगतको तुलनामा कुष्ठरोगीको संख्या घटेपनि आर्थिक वर्ष असार सम्म यो संख्या बढ्न सक्ने अनुमान स्वास्थ्यकर्मीको रहेको छ । स्वास्थ्य कार्यालय, बर्दियाको आयोजनामा ७० औं विश्व कुष्ठरोग दिवसको अवसरमा आइतबार गुलरियामा आयोजित पत्रकारसँगको अन्तरक्रियामा बोल्दै जिल्ला स्वास्थ्य प्रमुख गोकर्ण गिरीले प्रतिशतको आधारमा कुष्ठरागीको संख्या जोखिम रहेको बताए । जिल्लामा १ दशमलव २३ प्रतिशत कुष्ठरोगी रहेको उनले जनाए ।

सरकारले कुष्ठरोगीका लागि निःशुल्क औषधि र यातायात खर्च उपलब्ध गराएको छ । समयमा उपचार नगरे अपाङ्गता हुने खतरा रहेको स्वास्थ्य अधिकृत कृष्णगोपाल चौधरीले बताए । ०६६ साल माघ ५ गते मुलुकभर कुष्ठरोग निवारण गरेको घोषणा गरेपनि तराई लगायत पहाडी जिल्लामा प्रकोपका दर उच्च रहेको छ । आव ०७८/०७९ मा नेपालमा २ हजार ३ सय ७३ जनामा कुष्ठ रोग लागेको थियो । छिमेकी मुलुक भारतका सीमावर्ती गाउॅबाट पनि कुष्ठरोग उपचारका लागि यहाँ आउने गरेका छन् ।

कुष्ठरोग एक सरुवा रोग भएकोले श्वासप्रश्वासको माध्यम्बाट सर्ने गर्छ । कुष्ठरोगका बिरामीले अवस्था हेरेर ६ महिना देखि १ वर्ष सम्म नियमित औषधि सेवन गर्नुपर्दछ । स्वास्थ्य अधिकृत चौधरीले सबै सरकारी स्वास्थ्य संस्थानमा कुष्ठरोगको उपचार र औषधी निःशुल्क रुपमा पाइने बताए ।

प्रकाशित : माघ १५, २०७९ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्

सवारी साधन लिलाम नहुँदा कवाड बन्दै

कमल पन्थी

बर्दिया — भन्सार कार्यालय बर्दियामा करिब ६ वर्षदेखि विभिन्न समयमा बरामद गरेर राखिएका सवारी साधनको लिलाम प्रक्रिया अघि बढ्न सकेको छैन । चोरी लगायतका ती सवारी साधन लिलाम नहुँदा कवाड बन्दै गएका छन् ।

करोडौं मूल्यका सवारी साधन लिलाम गर्न भन्सार कार्यालयले वास्ता नगरेका कारण पानी, शीत र घामले तिनमा खिया परिसकेका छन् । समयमै लिलाम नहुँदा अधिकांश सवारी साधनका टायर समेत क्षति भएको छ । तत्कालै लिलाम गरिनु पर्ने खाद्य पदार्थ लामो समय सम्म राख्दा कुहिएको भन्सारका कर्मचारीले बताए ।

भन्सार कार्यालयमा अधिकृतको दरबन्दी छ । बर्दियामा कार्यालय प्रमुख प्रविण सुब्बा लिम्बू भएपनि भन्सार कार्यालय, नेपालगन्ज बस्ने गर्छन् । भन्सार कार्यालय कर्मचारीका अनुसार दुई वटा कार्यालयका जिम्मा पाएका सुब्बा लिम्बू यहाँ आवश्यक काम बाहेक आउँदैनन् । ‘कहिले आउनु हुन्छ हाकिम सा’प,’ ती कर्मचारीले भने, ‘मुद्दा लगायतका काममा असर परेको छ ।’

बर्दिया भन्सार कार्यालयमा बरामद गरिएको एक ट्रक, एक ट्याक्टर, एक जिप, सात वटा अटो रिक्सा र १ सय १४ वटा मोटरसाइकल गरी १ सय २४ थान सवारी साधन लिलाम हुन सकेको छैन । अवैधरुपमा सञ्चालित ती सवारी साधन बरामद गरेको वर्षौं भएको र समयमा लिलाम हुन नसक्दा कवाड बन्दै गएका छन् । ती सवारी साधन कवाडमा जाने निश्चित भएको निमित्त कार्यालय प्रमुख रवीन्द्र विकले बताए । वर्षौंदेखि लिलाम नभइ थन्किएको सवारी साधन स्वतः मूल्य घट्ने र कवाडमा जान्छ,’ उनले भने, ‘लिलाम प्रक्रिया यसअघि पनि गरेपनि हुन सकेको छैन ।’ मल र खाद्यान्न समेत बरामद गरिएपनि लिलाम नहुँदा डल्लो परेको छ ।

दरबन्दी अनुसार नायब सुब्बाको दरबन्दी ८ जना भएपनि एक जना मात्र रहेको निमित्त प्रमुख विकले बताए । उनका अनुसार खरिदार र मुखियाको दरबन्दी छैन । कार्यालय सहयोगी १० मध्ये ५ रहेका छन् । लेखापाल र कम्प्युटरको दरबन्दी १/१ जना र सवारी चालक एक जना रहेका छन् । तीमध्ये एक जना पनि छैनन् । लेखापालको काम बेला बेलामा कोष तथा लेखा नियन्त्रण कार्यालयबाट कर्मचारी आएर गरिदिने गरेको निमित्त प्रमुख विकले जनाए । सरुवा भएका कर्मचारी पनि यहाँ आउन मान्दैनन् । राम्रो ठाउँ जहाँ राम्रो कमाइ हुन्छ त्यही पावर लगाएर पहुँचवाला कर्मचारी जाने गरेको कर्मचारीहरु बताउँछन् ।

प्रकाशित : माघ १३, २०७९ ११:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×