बुटवलमा दुई स्वास्थ्य केन्द्र निर्माण सुरु- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुटवलमा दुई स्वास्थ्य केन्द्र निर्माण सुरु

सन्जु पौडेल

तिलोत्तमा — बुटवलमा अक्सिजन सुविधासहितका दुई वटा स्वास्थ्य केन्द्रको निर्माण सुरु भएको छ । बुटवल उपमहानगरपालिका-१७ को मोतीपुर र वडा नम्बर १३ को बेलबासमा १६/१६ शय्याका अक्सिजन सुविधासहितका स्वास्थ्य केन्द्र बन्ने भएका हुन् ।

वडा १७ को मोतीपुरमा शुक्रबार एक कार्यक्रमबीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले स्वास्थ्य केन्द्रको भवन शिलान्यास गरे । प्रमुख पाण्डेयले मोतीपुरको स्वास्थ्य केन्द्रले बुटवलका वडा नं. १७, १८ र १९ का वडाका बासिन्दाले लाभ लिने बताए । उनले तिनाउ पूर्व र तिनाउ पश्चिमका बस्तीको समान विकासका लागि मोतीपुरमा स्वास्थ्य केन्द्र निर्माण थालिएको बताए ।

पाण्डेयले तिनाउ नदीदेखि पश्चिमको भेगको समान विकास र सुविधाका लागि मोतीपुर र बेलबासमा स्वास्थ्य केन्द्र निर्माण गर्न लागिएको जानकारी गराए । उनले स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न भएपछि बुटवल उपमहानगरपालिकाले आवश्यक जनशक्ति र सुविधा उपलब्ध गराउने गरी तयारी गरेको बताए ।

उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले एशियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा एउटा स्वास्थ्य केन्द्रका लागि १ करोड ५७ लाख लागत लाग्ने बताए । स्वास्थ्य केन्द्रको भवन निर्माण आगामी असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने निर्माण पक्षले प्रतिबद्धता जनाएको जनस्वास्थ्य शाखा प्रमुख पाण्डेले जनाए ।

स्वास्थ्य केन्द्रमा नर्स, प्यारामेडिक्ससहितका स्वास्थ्यकर्मी रहने र सामान्यदेखि अक्सिजन दिएर उपचार गर्नेसम्मका उपचार हुनेछ । तीन कठ्ठा जग्गामा बन्ने स्वास्थ्य केन्द्रको जनशक्ति तथा आवश्यक पूर्वाधार व्यवस्थापन बुटवल उपमहानगरले गर्नेछ ।

प्रकाशित : माघ १३, २०७९ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्

लुम्बिनीका ४ सहित देशका १६ जिल्लामा कुष्ठरोगीहरूको संख्या उच्च

सन्जु पौडेल

तिलोत्तमा — लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगको प्रकोप उच्च रहेको रहेको पाइएको छ । ७० औं कुष्ठरोग दिवसको अवसरमा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगका बिरामीको संख्या धेरै रहेको लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको हो । 

हाल देशभर २ हजार १ सय ७३ जना कुष्ठरोग बिरामी छन्‚ जसमध्ये लुम्बिनी प्रदेशमा मात्रै ५८४ कुष्ठरोगीहरु रहेका छन् । निर्देशनालयका निर्देशक डा. विनोद गिरीले लुम्बिनी प्रदेशको रुपन्देही, कपिलवस्तु, बाँके र बर्दियासहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च रहेको बताए । सबैभन्दा धेरै बारा जिल्लामा कुष्ठरोगीका बिरामीहरु रहेको उनले बताए ।

लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबै भन्दा धेरै रुपन्देहीमा १६५ जना कुष्ठरोगीहरु रहेका छन् । यस्तै कपिलबस्तुमा १२१, नवलपरासी पश्चिममा ७७, बाँकेमा ८५, बर्दियामा ६३, दाङमा २२, पाल्पामा १८, गुल्मीमा ११, प्युठान र रोल्पामा ७/७ जना, अर्घाखाँचीमा ६ जना र पूर्वी रुकुममा २ जना कुष्ठरोगी रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक गिरीले बताए ।

सातै प्रदेश मध्ये सबैभन्दा बढी कुष्ठरोगीहरू मधेस प्रदेशमा र सबैभन्दा कम वाग्मती प्रदेशमा बिरामी रहेका छन् । मधेस प्रदेशसभामा प्रति १० हजारमा १.४१ दर रहेको छ भने वाग्मती प्रदेशमा ०.१७ प्रतिशत रहको छ ।

लुम्बिनी प्रदेशले कुष्ठरोग नियन्त्रणका लागि सकृय बिरामी खोज्ने काम, कुष्ठरोग रोकथाम, जनचेतनामूलक कार्यक्रम, अपांगता रोकथामलगायत कामहरू गरिरहेको स्वास्थ्य निर्देशनालयका वरिष्ठ प्रशासक रोसनलाल चौधरीले बताए ।

अन्तरक्रिया कार्यक्रममा एसियन प्रोग्रामकी निर्मला बुढा, लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख पुपराज पौडेल, नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव विक्रम खड्का लगायतले सबैको साथ र सहयोगबाट कुष्ठरोगलाई निराकरण गर्न सकिने बताएका थिए ।

लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले ७० औँ कुष्ठरोगको अवसरमा आइतबार बुटवलमा सचेतनामूलक र्याली समेत गर्ने प्रशासक चौधरीले बताए ।

प्रकाशित : माघ १३, २०७९ १६:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×