लुम्बिनीमा कांग्रेसले सांसद, पालिका प्रमुख, उपप्रमुखलाई प्रशिक्षण दिने- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनीमा कांग्रेसले सांसद, पालिका प्रमुख, उपप्रमुखलाई प्रशिक्षण दिने

सन्जु पौडेल

बुटवल — नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका सांसदहरुलाई प्रशिक्षण दिने भएको छ । कांग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको शनिबार बसेको बैठकले प्रदेश सांसद तथा स्थानीय तहका प्रमुख, उपप्रमुखहरूदेखि युवा तथा विद्यार्थीसम्मलाई प्रशिक्षण दिने निर्णय गरेको हो ।

पार्टीको सिद्धान्त, अनुशासन, राजनीतिक एवं सामाजिक विषयमा प्रशिक्षण दिने निर्णय भएको प्रदेश उपसभापति एवं प्रशिक्षण विभागका संयोजक भुवनप्रसाद श्रेष्ठले जानकारी दिए । उनले पार्टीका युवा तथा विद्यार्थीलाई समेत राजनीति तथा स्वरोजगारको प्रशिक्षण दिने निर्णय भएको जनाए ।

बैठकमा बोल्दै प्रदेश सभापति अमरसिंह पुनले जनप्रनिधिहरुलाई सुशासन र उनहरूको क्षमता वृद्धिले पार्टी र राष्ट्रलाई थप लाभ हुने गरी स्थानीय तहसम्म प्रशिक्षण सञ्चालन गर्न निर्देशन दिए । बैठकमा प्रदेशका महामन्त्री विक्रम खनाल, कोषाध्यक्ष प्रकाश राना, पार्टी कार्यालय मुख्य सचिव मोहन राज शर्माले प्रशिक्षणले पार्टीलाई थप चलायमान गराउन महत्पूर्ण योगदान दिने गरी योजना बनाएर अगाडि जानुपर्ने बताएका थिए ।

बैठकले माघ २० गतेसम्म प्रदेशका सबै जिल्लामा प्रशिक्षण विभाग गठन गरी प्रदेशलाई जानकारी दिन निर्देशन दिएको छ । बैठकमा प्रदेशका १२ वटै जिल्लाका उपसभापतिहरूले आफ्नो जिल्लामा पार्टीको अवस्थाबारे रिर्पोटिङ गरेका थिए ।

प्रकाशित : माघ ७, २०७९ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्

३६ वर्षदेखि चिया व्यापार

अलाउद्दिनले सुरूवाती वर्षमा ठेला भाडामा लिएर चिया पसल थालेका थिए, यो लामो यात्रामा उनका कैयौं ग्राहक फेरिए तर चियाको स्वाद फेरिएको छैन
सन्जु पौडेल

लुम्बिनी — साइकलका पाङ्ग्रा भए पनि उनको पुरानो ठेला गुड्दैन । किनकि यसका पाङ्ग्रा जमिनमा धसिएको छ अनि ठेला भित्तामा अडेस लागेझैं छड्के परेको छ । सिद्धार्थनगर–६ का ५३ वर्षीय अलाउद्दिन खान यही ठेलाअघि उभिन थालेको ३६ वर्ष भइसक्यो ।


ठेलामाथि राखिएका छन्, दुई वटा ग्यास स्टोभ । छेवैमा छ, चिया पकाउन दिउरी अनि गिलास, चियापत्ती, चिनी, कफी प्याकेट, मरीच, सुकमेल, सानो ओखल, कागती, समोसा, डुनट, पाउरोटी । साढे तीन दशकयता खुश्बु चिया पसल नामको यही ठेलामाथि पाकिरहेछ खुश्बुदार चिया ।

५३ वर्षीय अलाउद्दिन सुरुवाती वर्षमा ठेला भाडामा लिएर चिया पसल थालेका थिए । पछि उनले त्यही किनेर व्यवसायलाई निरन्तरता दिए । भैरहवाको व्यस्त बजारमा रहेको हुलाक कार्यालय हुँदै नगरपालिका जाने सडक छेउ अडिएको खानको ठेलामा हरदम उम्लिरहेका हुन्छ कडक चिया । यो लामो चिया व्यापारको यात्रामा उनका कैयौं ग्राहक फेरिए, दूधको रङ र बाक्लोपनमा परिवर्तन आयो । तर चियाको स्वादमा अहँ परिवर्तन आएको छैन ।

उनको चिया पसलको नाम खुश्बु रहनुका पछाडि पनि रमाइलो कारण छ । सुरुका केही वर्ष पसलको कुनै नाम थिएन । माइली छोरी जन्मेपछि उनले छोरीको नाम खुश्बु राखे अनि पसलको नाम पनि छोरीकै नामबाट जुराए । ठेलामा रहेको सानो ओखलमा उनी सुकमेल कुटिरहेका भेटिन्छन् । चनाखो आँखाले दिउरीमा उम्लिरहेको दूध र चिया पनि हेरिरहेका हुन्छन् । उनले पकाएको चियाको स्वाद स्थानीयले त लिएका छन् नै, बेलाबखत यता आइरहने दिल्ली, मुम्बईदेखि काठमाडौंसम्मका ग्राहकका बारम्बार चाखेका छन् ।

‘दैनिक ५० लिटर दूध सहजै कट्छ,’ उनले भने, ‘१ सय १० लिटरसम्म दूधको चिया एक दिनमा बिक्री गरेको सम्झना छ ।’ चिया व्यापार उनको पुस्तैनी व्यवसाय भने होइन । उनका बाबु सिलाइको काम गर्थे । १७ वर्षको उमेरमा गुडिया खानसँग प्रेम विवाह गरेपछि उनी आफ्नै खुट्टामा उभिने भन्दै बुबाआमासँग अलग भए । त्यसपछि सुरु भयो उनको चिया यात्रा । यो लामो यात्रामा उनको दैनिकी सधैं उस्तै छ । बिहान ४ बजे जुरुक्क उठ्छन्, पसलमा आइपुग्छन् अनि सुरु भइहाल्छ, सामान्य सरसफाइ र दूध उमाल्ने काम । घाम पनि नझुल्किँदै उनको ठेला छेउछाउमा चियाका पारखीहरू आइहाल्छन् । त्यसपछि त के फुर्सद हुनु ।

खानले चिया बेच्न थाल्दा यसको मूल्य प्रतिकप २ रुपैयाँ थियो । जुन बढेर अहिले २० रुपैयाँ पुगेको छ । छिमेकी पसल धनी, पसल र सरकारी कार्यालयका कर्मचारी, बैंकका कर्मचारी, मर्निङ वाक गर्ने मानिस, नगरपालिकाका कर्मचारी सबैले उनको चियाको स्वाद लिएरै दिन सुरु गर्छन् । कतिसम्म भने केही स्थानीय त यस्ता छन्, जो घरमा पाक्ने चियाले धित नमरेर उनीकहाँ आइपुग्छन् ।

खानले सुनाए, ‘सुरुवाती दिनमा जस्तो थियो, अहिले पनि चियाको स्वाद उस्तै छ । स्वादकै कारण ग्राहक बदलिँदैनन् ।’ उनका दैनिक ४ सय नियमित ग्राहक छन् । चिया बेचेर कहिल्यै नथाकेका खान गत वर्षदेखि गल्न थालेको महसुस गरेका छन् । किनभने कोरोना संक्रमणबाट उनकी श्रीमती गुडियाको मृत्यु भयो । श्रीमती हुन्जेल त उनीहरू साथसाथै आउँथे । खान चियाको जोरजाममा लाग्थे, गुडिया चना, परौठा पकाउँथिन् । खानलाई सुखदुःख साट्ने साथी हुन्थ्यो । पत्नी वियोगले उनलाई एक्लोपना र थकानको महसुस गराउन थालेको छ । उनले निराश स्वरमा सुनाए, ‘हरेस खाए पनि चिया बेच्न छोडेको छैन ।’

चिया बेचेरै खानले ३ छोरा र ४ छोरीको खर्चपर्च जुटाएका छन्, कोठा भाडा तिरेका छन् । उनले कमाएको भनेको त, ग्राहकको विश्वास मात्रै हो । उनका २१ वर्षीय जेठा छोरा नेजाम अहिले विदेशिने सोचमा छन् । माइला १७ र कान्छा १२ वर्षका छन् । दुई भाइ र बहिनीहरूको जिम्मेवारी बुबापछि आफ्नो काँधमा रहेकाले पैसा कमाउन विदेश जानुको विकल्प नरहेको नेजामले बताए । ‘बुबाले गरेको व्यवसायले हाम्रो परिचय बनाएको छ,’ उनले भने, ‘यसकै कमाइले जीवन चल्ने संकेत भने छैन ।’ बुबा छउन्जेल चिया पसल पनि नछाड्ने, भाइलाई बुबाको साथमा सघाउन लगाएर आफू वैदेशिक रोजगारीमा जाने उनले बताए ।

पछिल्ला ५ वर्षयता खानको चिया पसलका नियमित पारखी हुन्, मायादेवी–३ का नाथु केवट । उनले यहाँको जस्तो स्वादिलो चिया अन्त नपाइने बताए । ‘कामविशेषले हिँड्दा कति ठाउँमा चिया पिइन्छ,’ उनले भने, ‘खान दाइको जस्तो मीठो चिया कहीं पाइँदैन ।’ खानले फोन सम्पर्कका आधारमा केही कार्यालयमा पनि चिया पुर्‍याउँछन् । कुनै कार्यालयका कर्मचारी भने आफैं चिया लिएर जान्छन् ।

अहिलेसम्म खर्च कटाएर दिनको १ हजार रुपैयाँसम्म बचाएका खानले आफूपछि पनि छोराले यही काम अघि बढाए राम्रै हुने बताउँछन् । ‘मेरो मनले एक छोराले यही नै गरिराखून् भन्ने सोचेको छु,’ उनले भने, ‘उनीहरूको आफ्नो सोच होला, जे गर्लान्, राम्रो काम गरुन्, त्यत्ति हो ।’ खान ठेलामा चिया बेचेर आफूले बनाएको परिचय पैसाको तुलनामा धेरै माथि भएकामा खुसी छन् । ठूल्ठूला नेतादेखि सामान्य स्थानीय मानिसले आफूले पकाएको चिया पिउँदा गर्ने प्रशंसा जीवनभरिको नमासिने कमाइ भएको उनले बताए । ‘नाम–दाम यसैले दिएको छ,’ उनले भने, ‘सकुन्जेल चिया पकाउन छोड्दिनँ ।’

प्रकाशित : माघ ७, २०७९ ०९:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×