रोल्पाको भानु विद्यालयमा आगलागी, लाखौंको क्षति- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोल्पाको भानु विद्यालयमा आगलागी, लाखौंको क्षति

काशीराम डाँगी

रोल्पा — पश्चिमी रोल्पाको त्रिवेणी गाउँपालिका-६ बाजबोट गाउँमा रहेको भानु आधारभूत विद्यालयमा शनिबार राति आगलागी भएको छ। आगलागीबाट विद्यालयको मुख्य कार्यालयभित्र रहेका सामग्री जल्दा करिब १० लाख क्षति भएको स्थानीयले दाबी गरेका छन्।

कार्यालयका कागजात, कम्प्युटर र अन्य सामग्री आगलागीबाट नष्ट भएका छन्। स्थानीय दुर्योधन रानाले अज्ञात समूहबाट विद्यालयमा आगलागी गरेको हुनसक्ने बताए। प्रहरीले यसबारे अनुसन्धान गरिरहेकोजनाएको छ।

उक्त विद्यालय गाउँपालिका केन्द्र रहेको जुगारको नेर्पाबाट करिब १५ मिनेटको पैदल दूरीमा रहेको छ। विद्यालय गाउँको माथिल्लो र जंगलको तल्लो भागमा पर्छ।

वडा अध्यक्ष नरेन्द्र भण्डारीका अनुसार अज्ञात व्यक्ति वा समूहबाट भएको आगलागीबाट विद्यालयमा थू क्षति भएको छ। आगलागीमा संलग्नको खोजी थालिएको उनले बताए। उनले प्रहरीलाई दोषी पत्ता लगाई कानुनी कारवाही गर्न निर्देशन गरिएको बताए । गाउँपालिकाको बैठकद्वारा उक्त घटनाको छानबिन गर्ने योजना रहेको वडा अध्यक्ष भण्डारीले बताए।

उनले अघिल्लो वर्ष पनि उक्त वडाको काउलाबोट विद्यालयमा पनि आगलागी गराइएको जानकारी दिए। आगलागीबाट विद्यालयका महत्त्वपूर्ण सामानमा क्षति पुगेको थियो भने त्यस घटना लगत्तै कम्प्युटर समेत चोरी भएको थियो।

प्रकाशित : पुस १७, २०७९ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्

समानुपातिकबाट रोल्पाका तीन महिला सांसद

एमालेबाट प्रतिनिधिसभा र प्रदेशमा एक/एक, माओवादी केन्द्रबाट प्रदेशमा एक जना सांसद
काशीराम डाँगी

रोल्पा — प्रदेशसभा र प्रतिनिधि सभाका लागि रोल्पाबाट एमाले र माओवादी केन्द्रले यो पटक नयाँलाई समानुपातिक सांसद बनाएका छन् । एमालेले जिल्लाबाट दुवै तहमा एक/एक जनालाई सांसद बनाएको छ भने माओवादी केन्द्रले प्रदेशसभामा एक जनालाई सांसद बनाएको हो । 

समानुपातिक सांसद बनाइएकामा तीन जना नै महिला छन् । एमालेले प्रतिनिधि सभामा ईश्वरी घर्तीमगरलाई सांसद बनाएको हो । अघिल्लो वर्षको मंसिरमा सम्पन्न एमालेको १० औं केन्द्रीय महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी उनी सबैभन्दा कम उमेरकी नेता थिइन् । विद्यार्थी राजनीतिबाट एमालेको राजनीतिमा लागेकी उनी पूर्वपत्रकार र अधिकारकर्मीसमेत हुन् । हाल ३३ वर्षीया ईश्वरी रोल्पा जिल्लाको सहइन्चार्ज हुन् । समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेकी उनको जन्म गाउँ त्रिवेणी–२ नुवागाउको दहवन हो । विगतमा विद्यार्थी राजनीतिमा संलग्न उनका पति तेजबहादुर बुढाले रोल्पामै विगत १२ वर्षदेखि होटल व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

यस्तै एमालेबाट लुम्बिनी प्रदेशसभा सदस्यमा समानुपातिकबाट सांसद बनेकी अर्की नेतृ यमुना रोका तामाङ हुन् । रोल्पाको थबाङमा जन्मेकी उनी केन्द्रीय सदस्य र रोल्पा जिल्ला सह-इन्चार्जसमेत हुन् । लामो समय तत्कालीन माओवादीमा आबद्ध भई कलाकार बनेकी उनी पछिल्लो पटक एमालेमा प्रवेश गरी राजनीतिमा पुनः सक्रिय भएकी हुन् । माओवादीको वर्चश्व मानिएको थबाङमा एमालेको संगठन विस्तारमा महत्त्वपूर्ण योगदान गरेको मूल्यांकनमा एमालेले उनलाई प्रदेश सांसद बनाएको हो । विगतमा माओवादी प्रभाव रहेकोमा थबाङ गाउँपालिकाको उवामा घर भएका एमाले केन्द्रीय सदस्य एवं रोल्पा इन्चार्ज नवीन रोकामगर र अर्की केन्द्रीय सदस्य यमुना रोकामगरको अगुवाईमा स्थानीय तहको निर्वाचनमा उक्त गाउँपालिकामा एउटा वडा एमालेले जितेको थियो ।

एमालेको समानुपातिक सांसदको रुपमा रोल्पाबाट छनोटमा परेका दुई जना नै आदिवासी जनजाति महिला हुन् । एमालेले प्रदेशमा र प्रतिनिधिसभामा सिफारिस गरेका अन्य भने सांसद हुन सकेनन् । एमालेले एक जिल्लाबाट दुवै तहमा सांसद बनाएकोमा जिल्लावासी खुसी भएका छन् । विगतमा पछि पारिएको रोल्पामा एमालेले प्राथमिकता दिएको भनेर कार्यकर्ता हौसिएका छन् । हालसम्म प्रत्यक्षबाट भने एमालेले रोल्पाबाट सांसद पठाएको छैन ।

यसैगरी माओवादी केन्द्रका तर्फबाट रोल्पाको गाम घर भएकी मीना खड्का बुढामगर लुम्बिनी प्रदेश सभामा सांसद चुनिएका छन् । महिला खस आर्य कोटाबाट उनलाई माओवादी केन्द्रले सांसद बनाएको हो । माओवादी केन्द्रका पूर्वकेन्द्रीय सदस्य मानबहादुर बुढामगर विकल्पकी पत्नी मीना पनि विगतको सशस्त्र युद्धका बेला भूमिगत राजनीतिमा सक्रिय थिइन् । माओवादी केन्द्रले प्रदेशमा कृष्णबहादुर महराकी छोरीलाई समेत प्रदेश समानुपातिक सांसदमा सिफारिस गरेको थियो । तर मत थोरै आएको भन्दै उनलाई सांसद बनाइएन । प्रतिनिधिसभाका लागि रोल्पाबाट माओवादी केन्द्रले कसैलाई पनि समानुपातिक सांसद बनाउन सिफारिस गरेको थिएन ।

कांग्रेसले पनि रोल्पाबाट प्रतिनिधिसभा र प्रदेशसभामा एक/एक जनालाई सिफारिस गरेको थियो । आदीवासी जनजाति पुरुषतर्फ प्रतिनिधिसभाका लागि कृष्णबहादुर घर्तीमगर र प्रदेशसभाका लागि गोपाल घर्तीमगरलाई सिफारिस गरे पनि दुवै जना सांसद हुन सकेनन् । विगतमा माओवादीले थुप्रैलाई समानुपातिक प्रणालीबाट सांसद बनाउदै आएका थिए । २०६४ को पहिलो संविधानसभा सदस्यका लागि रोल्पाबाट माओवादीका १० जना सांसद थिए ।

प्रकाशित : पुस ३, २०७९ १०:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×