कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सधैं बाढीको डर

लगातारको वर्षाले खोलानाला बढ्दा तटीय क्षेत्रका बस्ती जलमग्न हुने जोखिम

बर्दिया/परासी/बाँके — वर्षामा कर्णालीको भेल कति बेला बढ्छ भन्ने टुंगो हुन्न । बर्दियाको राजापुर नगरपालिका–३ तिहुनीका प्रह्लाद भट्टलाई वर्षायामका धेरैजसो रात निद्रा लाग्दैन । टर्च बालेर कर्णाली नदीको जलस्तर हेर्न पुग्छन् । पानी कति बढ्यो, बाढी आयो/आएन, निगरानी गर्छन् ।

सधैं बाढीको डर

विगतमा बाढीले ठूलो क्षति पुर्‍याएकाले बर्खा लाग्यो कि तर्सिन्छन् । कर्णाली उर्लेर कतिखेर गाउँ पस्छ, ठेगान नभएकाले पिरोलिने गरेको उनले बताए । स्थानीय सुरेश चौधरीको दिनचर्या उनको भन्दा फरक छैन । पानी पर्न थाल्यो कि बाढीको अवस्था बुझ्न कर्णाली तटमा पुग्छन् । ‘रातभरि निद्रा पर्दैन,’ उनले भने, ‘कर्णाली नदी व्यवस्थापन कार्यालयले तटबन्ध बनाउन ढिलासुस्ती गरेकाले यस भेगबाट बाढी पस्ने उच्च जोखिम छ ।’

भट्ट र चौधरीजस्तै यहाँका बासिन्दा लगातार पानी पर्नासाथ रातभर जाग्राम बस्ने गरेका छन् । बाढी पस्नासाथ सुरक्षित स्थानमा आश्रय लिनुपर्ने भएकाले त्रास रहन्छ कतिपयले वर्षायाम सुरु भएयता नागरिकता, शैक्षिक प्रमाणपत्र, जग्गाधनी पुर्जा र खाद्यान्न नभिज्ने गरी पोको बनाएर राखेको भट्टले बताए । बाढी पस्नासाथ सामान बोकेर सुरक्षित स्थान पुग्न सहज होस् भन्दै यसरी तयारी अवस्थामा रहन्छन् । नदी कटान रोक्न निर्माण गरिएका केही जालीमा ढुंगा भरेर राखेको तटबन्ध बगाएको छ । पानीको गति निकै तीव्र भएकाले कमसल खालका तटबन्ध बगाउन थालेको हो । गत वर्ष तिहुनीमा स्थानीयले श्रमदान गरेर अस्थायी बाँध बनाउँदै कटान रोकेका थिए । यस वर्ष कटानले कर्णाली नदीको पानी गाउँ पस्ने जोखिम भएकाले गाउँले त्रस्त छन् ।

कर्णाली नदी व्यवस्थापनको तटबन्धको काम ढिलासुस्तीले राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको तटीय क्षेत्र उच्च जोखिममा परेको राजापुर–१ का किसान एवं साबिक जिल्ला विकास समितिका पूर्वसदस्य भोजराज जोशीले बताए । ‘बेलैमा तटबन्धको काम नगर्दा अहिले वर्षा लागेपछि बोरा भरेर तटबन्ध रोकिने अवस्था छैन,’ उनले भने । तटबन्ध बनाउन स्थानीय प्रशासनले एक महिनादेखि नै आयोजनालाई दबाब दिँदै आएको छ । नदीमा जलस्तर बढ्न गई तीव्र गतिले बहाव हुन थालेकाले तटबन्ध निर्माण सम्भव छैन ।

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले आयोजनालाई यथाशीघ्र तटबन्ध गर्न एक महिनाअघिबाट निर्देशन दिएको बताए । निषेधाज्ञामा विकास निर्माण गर्न छुट दिए पनि आयोजनाले काम गर्न सकेन । बाढीबाट स्थानीयलाई कसरी जोगाउने भन्दै सोमबार कर्णालीमा सेना, सशस्त्र र नेपाल प्रहरीले कर्णाली नदीमा अभ्यास गरेका थिए । आयोजनाको लक्ष्यअनुसार २०७१ फागुनबाट सुरु भएको कामले २०७५ भित्र कर्णाली र गेरुवा नदीमा ४३ किमि तटबन्ध गर्नुपर्ने थियो ।

आयोजनाअन्तर्गत कर्णालीमा ३० र गेरुवामा १३ किमि तटबन्ध गर्नुपर्ने थियो । सात वर्ष बितिसक्दा पनि कर्मचारीको निष्क्रियताका कारण तटबन्धले गति लिन नसकेको स्थानीय शंकर थारूले गुनासो गरे । नदी कटान र बाढीले बर्सेनि सयौं बिघा जग्गा बगाउने कर्णाली नदीमा तटबन्ध निर्माण सम्पन्न गर्न गुरुयोजनाअन्तर्गत काम सुरु भएको हो । ‘काम पूरा गर्दा करिब ११ अर्बको लागत आउने अनुमान थियो । कर्णालीमा तटबन्धको काम थालियो, पर्याप्त बजेट कुनै पनि वर्ष निकासा आएन,’ आयोजना प्रमुख धर्मकुमार न्यौपानेले भने ।

पश्चिम नवलपरासीस्थित पाल्हीनन्दन–१ शंकरपुरका जितेन्द्र हरिजनको घर यस वर्ष पनि डुबानमा पर्‍यो । पोहोर डुबानमा परेर कच्ची घर भत्किएपछि नयाँ बनाएका थिए । ‘सधैं वर्षामा बस्ती डुबानमा पर्छ । हामी गरिब, अन्त जग्गा किनेर बसाइँ सर्न सक्दैनौं । बाढी आउने थाहा हुँदाहुँदै पनि त्यहीं रातभर जाग्राम बस्न बाध्य छौं,’ उनले भने । उक्त बस्तीका ५० भन्दा बढी घर वर्षायाममा जलमग्न हुन्छन् । नारायणी नदी र बस्ती आसपासका खहरे खोला उर्लेर बस्तीमा पस्छन् ।

प्रतापपुर गाउँपालिका–६ को मुसहर बस्तीमा पनि एक–दुई दिन वर्षा हुनेबित्तिकै घर डुबान पर्छन् । यस क्षेत्रमा खोलानालाको बाढीभन्दा पनि वर्षायाममा परेको पानीको निकास नहुँदा जलमग्न हुने गरेको हो । एक दिनभन्दा बढी लगातार पानी परेपछि यहाँका स्थानीयले लत्ताकपडा र अन्न सुरक्षित स्थानमा सार्नुपर्ने बाध्यता छ । ‘वर्षाको पानीले निकास नपाउँदा बर्सेनि बाढीपीडित हुनुपरेको छ,’ प्रतापपुर–६ का रवीन्द्र चौधरीले भने, ‘वर्षाअगाडि नै खहरे खोला सरसफाइ गर्नुपर्नेमा माटो, ढुंगा र बालुवा जथाभावी झिक्ने गर्दा बस्तीमा पानी पस्ने खतरा छ ।’ पाल्हीनन्दन गाउँपालिकाका शंकरपुर, रामपुर खडौना, महेशपुर, सरावल गाउँपालिकाका पुसौली, भुजहवा र प्रतापपुरका ३ र ४ वडा र सुस्ता–५ बर्सेनि जलमग्न हुने गरेका छन् । पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता यो वर्ष बाढी रोकथामका लागि तटबन्ध र खोला सफाइ गरिएको भए पनि लगातारको वर्षा थेग्न नसकेको बताउँछन् । ‘बाढीपहिरोको समस्या एउटा मात्र पालिकाले नियन्त्रण गर्छु भनेर सम्भव रहेनछ । जिल्ला र राष्ट्रियस्तरबाट नै पहल हुन आवश्यक देखियो,’ उनले भने, ‘हामीले विपद् व्यवस्थापनका लागि कार्ययोजना बनाएर काम गरेको भए पनि क्षमताले पुगेन ।’

बाँकेमा राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिका बाढीको जोखिममा छन् । डुडुवा–१ को होलियालाई राप्तीले घेरेको छ । चार दिनदेखिको वर्षाले राप्तीको बहाव बढेपछि स्थानीय चिन्तित छन् । २०६३ मा आएको बाढीले होलिया र आसपासका तीन सयभन्दा बढी स्थानीय घरबारविहीन भएका थिए । घर बगाए पनि खेतीपाती राप्ती बगरमा टहरा हालेर बसेको डुडुवा–१ का वडाध्यक्ष पटेश्वर कुर्मीले बताए । नरैनापुरको कुदरबेटवा, भोजभगवानपुर, जमुनाह गाउँ, सोनवर्षा, भोजभगवानपुर, गंगापुर गाउँ बाढीको उच्च जोखिममा छन् ।

लगातार मनसुन सक्रिय भएका कारण जिल्लामा नदी, खोलामा पानीको बहाव उच्च भइरहेको छ । राप्ती नदीको पानीको सतह उच्च हुन थालेपछि यहाँका स्थानीय र सरोकारवालाले सतर्कता अपनाउन थालेका छन् । बिहीबार जिल्ला प्रशासन, स्थानीय तह र प्रहरी प्रशासनले बाढी प्रभावित क्षेत्रमा सुरक्षाका लागि अनुगमन गरेका थिए । प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सचेत तुल्याइएको भए पनि स्थानीयसँग समन्वय गरेर विपद् व्यवस्थापनको पूर्वतयारी भइरहेको उनले बताए ।

प्रकाशित : असार १३, २०७८ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?