कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

निजी अस्पताल गाउँपालिकाकै अस्पतालमा समायोजन

सम्झना रसाइली

तनहुँ — जिल्लाको आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गर्दै आएको अस्पतालमा निजी क्षेत्रबाट सञ्चालित अस्पताल समेत समायोजन हुन आएको छ । आँबुखैरेनी–३ मा निजी क्षेत्रबाट सञ्चालित छिम्केश्वरी अस्पताल गाउँपालिकाको अस्पतालमा समायोजन भएको हो । 

निजी अस्पताल गाउँपालिकाकै अस्पतालमा समायोजन

आँबुखैरेनीवासीलाई विशेषज्ञ स्वास्थ्य सेवा सहितको उत्कृष्ट स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले सञ्चालन गरेको अस्पतालमा सर्वसाधारणले सहज रुपमा उपचार सेवा पाउन थालेपछि निजी क्षेत्रबाट सञ्चालित अस्पताल समेत सोही अस्पतालमा समायोजन गरिएको बताइएको छ ।

अस्पताल समायोजनका लागि गाउँपालिकाका अध्यक्ष एवं अस्पताल सञ्चालक समितिका अध्यक्ष शुक्र चुमान र छिम्केश्वरी अस्पतालका अध्यक्ष कृष्णमान तामाङबीच अस्पताल समायोजन गर्ने सम्झौता गरिएको छ ।

गोरखा, लमजुङ र पूर्वी तनहुँ क्षेत्रलाई आधार बनाएर स्वास्थ्यको हब बनाउने गाउँपालिकाको लक्ष्य छ । गाउँपालिका अध्यक्ष शुक्र चुमान भने, ‘यस क्षेत्रका जनतालाई स्थानीय स्तरमै गुणस्तरीय सेवा प्रदान गर्नका लागि आँबुखैरेनी अस्पताललाई विशेषज्ञ सुविधासहितको अस्पताल बनाउने लक्ष्य राखिएको छ ।’

गत मंसिर १ गते १५ शय्याको अस्पताल उद्घाटन गरी विशेषज्ञसहित स्वास्थ्य सेवा थालेको गाउँपालिकाले अस्पताललाई निकट भविष्यमा ५० शय्याको अस्पताल बनाउने लक्ष्य राखेको उनले बताए । हाल डायलायसिस सेवा लगायत विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउन थालिएको छ । एपेन्डिसाइटिस, हाइड्रोसिल, हर्निया र प्रसूतिको शल्यक्रिया सेवा दिन अप्रेसन थियटर निर्माण भइसकेको बताइएको छ ।

देशैभरिका पालिकामध्ये आँबुखैरेनीमा यसरी निजी अस्पताल नै हस्तान्तरण हुनु सायद पहिलो घटना हुन सक्ने अध्यक्ष चुमानले बताए । ‘व्यवसायी प्रयोजनले नभई स्वास्थ्य सेवाको भावले अस्पताल चलाउनुभएकाले निशुल्क रुपमा सहमति भएको हो’, उनले भने, ‘छिम्केश्वारी अस्पतालबाट उपलब्ध हुने उपकरणले आँबुखैरेनी अस्पतालबाट थप सेवा दिन मद्दत पुर्‍याउने छ ।’

यस्तै, सम्झौता अनुसार छिम्केश्वरी अस्पतालको स्वामित्वमा रहेका सम्पूर्ण स्वास्थ्य उपकरण सामग्री तथा अस्पताल सञ्चालनसँग सम्बन्धित औषधि एवं औषधजिन्य वस्तुहरु आँबुखैरेनी अस्पतालमा हस्तान्तरण गरिनेछ । हस्तान्तरित वस्तुहरुको मुल्यांकन गरी आँबुखैरेनी अस्पताल तथा गाउँपालिका परिसरमा शिलालेख स्थापना गर्ने सहमति भएको गाउँपालिकाले जनाएको छ । छिम्केश्वरी अस्पताल प्रालिका हाल रहेका शेयर सदस्यहरुको एकाघरका परिवारलाई आँबुखैरेनी अस्पतालमा उपलब्ध हुने सेवा आजीवन निःशुल्क उपलब्ध गराउने सहमति भएको अध्यक्ष चुमानले बताए ।

छिम्केश्वरी अस्पताल प्रालिमा रहेका पूर्वाधारमा गाउँपालिका र निजी क्षेत्रको संयुक्त लगानीमा स्वास्थ्य एकेडमी सञ्चालन गरी आँबुखैरेनीलाई स्वास्थ्यको हबका रुपमा बिकास गर्ने र छिम्केश्वरी अस्पतालका शेयर सदस्यहरुलाई एकेडेमीको शेयर सदस्य बनाउने सहमति भएको छ ।

छिम्केश्वरी अस्पतालमा अप्रेसन थिएटर, डिजिटर एक्सरे मेसिन, विभिन्न रोगको परीक्षण गर्ने ल्याबका मेसिन तथा सामग्री, आईसीयू सहितको २८ शय्याको अस्पताल हस्तान्तरण भएको बताइएको छ । आँबुखैरेनी अस्पतालमा दैनिकजसो एक सय जना बिरामीले ओपीडी सेवा लिँदै आएका छन् ।


प्रकाशित : श्रावण ८, २०८१ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×