कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त

नारायण शर्मा

कास्की — गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । 

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त

सर्वोच्च अदालतको सोमबारको आदेशबमोजिम प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार संविधानको धारा १६८ (३) बमोजिम प्रदेश सभाको पहिलो ठूलो दलको नेताका हिसावले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेको घोषणा असंवैधानिक भएको भन्दै अदालत पुगेका पाण्डे दोश्रो पटक मुख्यमन्त्री बनेका हुन् । ०८० वैशाख १४ मा पहिलो पटक मुख्यमन्त्री नियुक्त भएका पाण्डेले केन्द्रीय गठबन्धन फेरबदल हुँदा अल्पमतमा परेपछि गएको २१ फागुनमा राजीनामा दिएका थिए ।

वर्तमान सत्ता गठबन्धनबाट गण्डकीमा मुख्यमन्त्री बनेका एमाले नेता खगराज अधिकारीले संविधानबमोजिम प्रदेशसभामा बहुमत पुर्‍याउन नसकेपछि प्रदेशसभामा उपस्थितको बहुमतको आधारमा भन्दै सभामुख कृष्णप्रसाद धितालले विश्वासको मत पाएको घोषणा गरेका थिए ।

तर त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सोमबार मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत अवैधानिक रहेको ठहर गर्दै ४८ घण्टाभित्र संविधानको धारा १६८ (३) बमोजिमको मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो ।

स‌ंविधानको व्यवस्थाबमोजिम अब मुख्यमन्त्री पाण्डेले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने छ । ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७ सांसद छन् भने बहुमत पुर्‍याउन कांग्रेसले थप ४ सिट सहयोग लिनुपर्छ ।

प्रदेशसभामा एमालेका २२, माओवादी केन्द्रका ७, नेपाल समाजवादी पार्टीका १, राप्रपा २ र नेकपा एकीकृत समाजवादीका १ सांसद छन् ।

प्रकाशित : जेष्ठ १६, २०८१ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×