कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

छिपछिपे सहकारीमा ठगिएका चार सय पीडितले दिए प्रहरीमा निवेदन

नारायण शर्मा

पूर्वी नवलपरासी — कावासोतीमा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाका संचालक समिति र कर्मचारीको मिलोमतोमा रकम पाउन माग गर्दै ४ सय जनाले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् । त्यो सहकारीमा शेयर सदस्य र बचतकर्ता समेत २३ सय ९४ जना रहेका छन् ।

छिपछिपे सहकारीमा ठगिएका चार सय पीडितले दिए प्रहरीमा निवेदन

रकम हिनामिना भएको समाचार चैत २५ गते कान्तिपुरमा प्रकाशन भएपछि त्यसमा संलग्न रहेको अभियोगमा प्रहरीले ६ जनालाई हिरासतमा लिएर अनुसन्धान थालेको छ ।

जिल्ला प्रहरीका सूचना अधिकृत बेदबहादुर पौडेलका अनुसार ठगीमा परेको प्रमाणसहित शुक्रबारसम्म ४ सय जनाले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको सुनाए । सहकारीमा बचत रकम जम्मा गरेर फिर्ता नपाएकाहरुलाई निवेदन दिन जिल्ला प्रहरी कार्यालय कावासोतीले सार्वजनिक सूचना प्रकाशन गरेर आह्वान गरेअनुसार निवेदन पर्ने क्रम जारी छ ।

त्यो सहकारीका संचालक समिति र ऋण उपसमिति र कर्मचारीको मिलोमतोमा १६ करोड भन्दा बढी रकम हिनामिना भएको गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले गरेको छानविन प्रतिवेदनले औंल्याएको छ । ७ वर्षसम्म आफैँ अध्यक्ष र व्यवस्थापक रहेका योगेन्द्र पाण्डेको टिमले सहकारीको ब्यापक रकम हिनामिना गरेको खुलेको हो ।

'६ जनालाई हिरासतमा लिएर म्याद थप्दै अनुसन्धान भइरहेको छ,' पौडेलले भने, 'रकम ठगीमा परेकाहरुले निवेदन दिनेक्रम जारी छ ।' हिरासतमा रहेका ६ जनालाई २५ दिन नियन्त्रणमा राखेर अनुसन्धान गर्न पाउने ऐनमा ब्यबस्था छ ।

२०६६ सालमा स्थापना भएको यो सहकारीमा धेरै ब्याज रकम पाइने लोभमा यहाँका व्यवसायीले रकम बचत गर्न थालेका थिए । यो सहकारीले त शनिवार र सार्वजनिक बिदाका दिन समेत बचतकर्ता घरघर पठाएर दैनिक नगद संकलन गर्ने गरेको थियो । सहकारी रजिष्ट्रारको कार्यालय पोखरामा छानविन प्रतिवेदन बुझाएको साढे २ महिना बितिसक्दा पनि रकम असुली र बचतकर्ताको नगद फिर्ता गर्न कुनै पहल भएको छैन । छिपछिपे सहकारी संस्थाको नियमनकारी निकाय नै बेखर झैँ छ ।

बचतकर्ताहरु दिनहुँ सहकारी कार्यालयमा पासबुक लिएर रकम माग्न जाने गरेका छन् । कर्मचारीले संचालक समितिका पदाधिकारी र व्यवस्थापक नै प्रहरी हिरासतमा रहेको भन्दै रकम दिने गरेका छैनन् । बिना धितो आफू निकटलाई कर्जा दिने र धितो राखिएको जग्गा समेत ऋण असुली नगरि फुकुवा गरेका पाइएको छ ।

७ वर्षसम्म सहकारीको अध्यक्ष र व्यवस्थापक रहेका योगेन्द्र पाण्डे र उनि निकटका संचालक समितिका ब्यक्ति र कर्मचारीको मिलोमतोमा ब्यापक आर्थिक अनियमितता भएको हो ।

प्रकाशित : वैशाख १, २०८१ २१:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×