कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सालकको खपटासहित ६ जना पक्राउ

रमेशकुमार पौडेल

चितवन — संरक्षित वन्यजीव सालकको खपटा बिक्री गर्न लागेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जको टोलीले ६ जनालाई पक्राउ गरेको छ । निकुञ्जको टोलीले असार ५ गते सुरुमा दुईजना समाएको थियो । उनीहरुले दिएको बयानका आधारमा थप चारजना समातिएका हुन् ।

पक्राउ परेका सवै नुवाकोटका हुन् । उनीहरुमध्ये दुईजना सालकको खपटा बिक्री गर्न चितवन आएका थिए ।

निकुञ्जको कर्मचारी र निकुञ्जमा तैनाथ नेपाली सेनाको नयाँ गोरख गणको संयुक्त टोलीले असार ५ गते भरतपुर महानगरपालिका–८ बरण्डभार मध्यवर्ती उपभोक्ता समितिको क्षेत्रमा बा ३८ प ९३३२ नम्बरको मोटरसाइकलमा आएका दुई व्यक्तिलाई समाएको थियो । उनीहरु नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ का २४ वर्षीय निरन भड्ताल र बिदुर नगरपालिका–१३ का २७ वर्षीय रामचन्द्र सुनार रहेको निकुञ्जले जनाएको छ ।

‘हाम्रो संयुक्त गस्ती टोलीले शंका लागेर सोधपुछ गर्दा मोटरसाइकल चढेर आएका निरन र रामचन्द्रको साथबाट तत्काल सालकको जस्तो देखिने अखेटोपहार भेटियो । जसको तौल ९६० ग्राम थियो । उनीहरुले यो सालकको नै खपटा भएको बयान दिए’ निकुञ्जको सुचना अधिकारी रहेका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले भने । थप अनुसन्धान र सोधपुछमा यो घटनामा अरु चारजना संलग्न भएको खुलेको तिवारीले जानकारी दिए ।

निकुञ्जको टोलीले नुवाकोट जिल्ला कै बिदुर नगरपालिका–६ का २२ वर्षीय विक्रम गहतराज, विदुर–१२ का २९ वर्षीय रामबहादुर मिजार, सुर्यगढी गाफलाटे नगरपालिका–३ का ३१ वर्षीय रामकुमार सुनार र लिखु गाउँपालिका–५ का २९वर्षीय रामकृष्ण मिजारलाई पक्राउ गरेको चितवन निकुञ्ज कार्यालयले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । सो सालक गएको माघमा मरेको अवस्थामा फेला परेको खुलेको छ ।

‘गएको माघमा नुवाकोट लिखु गाउँपालिका–५ को सामुदायिक वनमा घाँस काट्न जाँदा मरेको सालक भेटाएर रामकृष्ण मिजार र रामबहादुर मिजारले घरमा ल्याएको उनीहरुको बयानबाट खुलेको छ’ संरक्षण अधिकृत तिवारीले भने । सालकको खपटा बिक्री गर्न रामबहादुरले बिक्रम गहतराजलाई सम्पर्क गरेका थिए । त्यसपछि उनीहरुले रामकुमार सुनारलाई सम्पर्क गरेको तिवारीले बताए ।

रामकुमार सुनारले सालकको खपटा बिक्री गर्नका लागि निरन भड्तालको साथ लगाएर रामचन्द्र सुनारलाई चितवन पठाएको हालसम्मको अनुशन्धानले खुलाएको सरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी गराएका छन् । उनीहरु विरुद्ध चितवन जिल्ला अदालतका एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँ जरिवाना, या एक वर्षदेखि १० वर्षसम्म कैद वा कैद र जरिवाना दुवै माग गरेर मुद्दा दायर हुने संरक्षण अधिकृत तिवारीले बताए ।


प्रकाशित : श्रावण ११, २०८१ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×