कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सिस्नो बेचेर आम्दानी

सिस्नोको मुख्य बजार राजधानी
केदार शिवाकोटी

दोलखा — बारी, डिल, कान्ला, पाखामा हुने सिस्नोले पोल्छ भनेर गाउँघरमा फाँड्ने चलन छ । कतिपय गाउँमा घर छाडेर हिंडेपछि घरवरपर सिस्नो उम्रने र घारी हुने भएकाले नष्ट गर्ने प्रचलन पनि उत्तिकै छ ।

सिस्नो बेचेर आम्दानी

केही वर्षअघिसम्म सिस्नोलाई फरक दृष्टिले मात्र हेर्ने गरिन्थ्यो । कतिसम्म भने सिस्नो भनेको विपन्नको खान्की हो भनेर हेपिन्थ्यो । तर यही सिस्नोको अहिले व्यावसायिक खेती हुन थालेको छ ।

हिजोसम्म फाँडेर नष्ट गर्ने सिस्नो आम्दानीको स्रोत बनेपछि कतिपय किसानले यसलाई संरक्षण मात्रै होइन, वैकल्पिक खेतीका रूपमा लगाउन थालेका छन्। बजारमा सिस्नोको माग बढ्न थालेपछि गाउँमा सिस्नो प्रशोधन उद्योग खुल्न थालेका छन् ।

मेलुङ गाउँपालिका–५ ठूलोबारी गाउँमा ठूलोबारी सिस्नो खेती उत्पादन तथा प्रशोधन कृषक समूहले ८० रोपनी जग्गा भाडामा लिएर व्यावसायिक सिस्नो खेती सुरु गरेको छ । उक्त समूहले १६ लाख खर्च गरेर सिस्नो प्रशोधन केन्द्रसमेत बनाएको छ । जहाँ गाउँका स्थानीयले टिपेर ल्याएको सिस्नो प्रशोधन गरेर पाउडर बनाउने गरिन्छ ।

ठूलोबारीमा सिस्नोको व्यावसायिक खेती गर्न ८० रोपनी जग्गा भाडामा लिएर सिस्नोखेती सुरु गरेको समूहका अध्यक्ष मानबहादुर मगरले बताए । ‘अहिले गाउँमा खेर गइरहेको सिस्नोलाई सदुपयोग गरिरहेका छौं, यसमा प्रत्यक्ष रूपमा महिलालाई रोजगारी मिलिरहेको छ,’ उनले भने, ‘सिस्नोको अभाव हुन नदिन समूहले खेती सुरु गरेका हौं ।’

अन्य उब्जनी नहुने पाखो बारीमा सिस्नो लगाउने काम भइरहेको छ । विद्यालयको भिरालो जमिन ४५ रोपनी र स्थानीयको ३५ रोपनी जग्गा वार्षिक १५ हजार रुपैयाँ भाडामा लिएर व्यावसायिक सिस्नो खेती गरेको मगरले बताए । ‘यो पहिलो वर्ष हो, सिस्नो हुर्कन अझै एक वर्ष लाग्छ,’ उनले भने, ‘अर्को वर्षबाट उद्योगलाई आवश्यकता पर्ने सिस्नो यहाँबाट पनि टिप्ने छौं ।’

हाल उद्योगले माग अनुसारको मात्रै सिस्नो प्रशोधन गर्ने गरेको उनले बताए । हरियो ३० केजी सिस्नोको ५ केजी पाउडर उत्पादन हुने गरेको छ । एक केजी सिस्नोको पाउडर बजारमा ५ सय रुपैयाँमा बिक्री हुने गरेको उनले बताए । उनका अनुसार एक दिनमा उद्योगले १५ देखि २० केजी सिस्नोको पाउडर उत्पादन गर्न सक्छ । सिस्नोको मुख्य बजार राजधानी भएको पनि उनले बताए ।

फागुनदेखि जेठसम्म गाउँमा हरियो सिस्नोको सुप बनाएर खाने चलन छ । सिस्नोलाई औषधिका रूपमा बहुउपयोगी मानिन्छ । तर यही सिस्नो गाउँघरमा खेर गइरहेको छ । गाईवस्तुले दुध कम दिन थालेपछि सिस्नोको कुँडो बनाएर खुवाउने चलन छ । सिस्नोको महत्त्व र उपयोगिता बढ्दै गएपछि सहरका सपिङ मलदेखि कोसेली घरमा पाउडरका रूपमा पाइन थालेको छ । सिस्नोको मुन्टा जति टिपे पनि उत्ति नै झाँगिन्छ ।

सिस्नोले पोल्ने डरले फाँडेर नष्ट गरिने वनस्पतिलाई ठूलोबारीका स्थानीयले आम्दानीको स्रोत बनाएका छन् । गाउँमा सिस्नो प्रशोधन गर्ने उद्योग खुलेपछि फुर्सदको समयमा बारीका कान्ला र जंगलमा गएर सिस्नो टिपेर यहाँका महिलाले आम्दानी लिन थालेका छन् । बारीका कान्लाभरि भएका सिस्नो दैनिक जसो टिपेर नजिकैको उद्योगमा बेच्ने गरेको स्थानीय मीना मगरले बताइन् ।

‘बारी र जंगल सिस्नोले घेरेको छ, हरेक वर्ष फँडानी गर्थ्यौं,’ उनले भनिन्, ‘सिस्नो पनि बिक्री हुन्छ भन्दा पत्यार लागेको थिएन, अहिले यही अतिरिक्त आम्दानीको स्रोत हुन थालेको छ ।’

उद्योगलाई आवश्यकता परेका बेलामा बारीका कान्लाका सिस्नो टिपेर बेच्ने गरेको उनले बताइन् । बिहान–बेलुका फुर्सदका समयमा सिस्नो टिपेर उद्योगलाई दिने गरेको उनले बताइन् । उद्योगलाई आलोपालोमा सिस्नो टिपेर दिने गरेको उनले बताइन् । ‘उद्योगले एक केजी हरियो सिस्नोको १० देखि १५ रुपैयाँ दिन्छ,’ उनले भनिन्, ‘अहिले बारीकै कान्लाको सिस्नो दिइइहेका छौं । एकै जनाले एक दिनमा २० देखि ४० केजी सिस्नो टिपेर दिने गरेका छौं ।’ उद्योगलाई गाउँ वरिपरिका १५ भन्दा बढी महिलाले सिस्नो टिपेर बेच्ने गरेका छन् ।

सुरुमा सिस्नो टिपेर पनि आम्दानी हुन्छ भन्दा कसैले विश्वास नगरेको उत्तमकुमारी मगरले बताइन् । ‘धेरैलाई सिस्नो बेच्ने भए उद्योग खुलेको छ भन्यौं । सबैले उडाउन पो थाले,’ उनले भनिन्, ‘अहिले गाउँमा सिस्नो पनि बिक्री हुन्छ भनेर विश्वास गर्न थालेका छन् ।’ सिस्नो बेचेर मासिक ५/७ हजार कमाइ गरिरहेको उनले बताइन् । नयाँ उद्योग भएकाले माग अनुसार मात्रै सिस्नो टिप्ने गरेको उनले बताइन् ।

प्रकाशित : श्रावण १०, २०८१ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×