कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

मकैबारीमा मृत अवस्थामा भेटियो गैंडा

पशु चिकित्सकको टोलीले उमेर यकिन गर्न र शरीरभित्र केही भए नभएको कारण पत्ता लगाउन पोस्टमार्टम गर्न बाँकी

चितवन — भरतपुर महानगरपालिका-२६ भगेडी गाउँको मकै बारीमा मंगलबार बिहान एउटा पोथी गैंडा मृत अवस्थामा भेटिएको छ । घटनास्थलमा निकुञ्जको टोली पुगेको छ । पशु चिकित्सकको टोली पुग्दैछ । 

मकैबारीमा मृत अवस्थामा भेटियो गैंडा

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले गैंडाको खाग र खुर सुरक्षित रहेको हुँदा चोरी तस्करीबाट नभइ अन्य कारणले मरेको हुन सक्ने बताए । 'बाह्य घाउचोट केही छैन । उमेर पनि भएको छ । सरसर्ती हेर्दा कुनै घटना दुर्घटना भएझैँ लाग्दैन । यद्यपि पशु चिकित्सकको टोलीले उमेर यकिन गर्न र शरीरभित्र केही भए/नभएको कारण पत्ता लगाउन पोस्टमार्टम गर्न बाँकी छ,' सूचना अधिकारी तिवारीले भने ।

विश्वबाट लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजन्तु गैंडा नेपालभर ७५२ रहेको छ । यसमध्ये चितवन निकुञ्ज आसपासमा मात्रै ६९४ गैंडा छन् ।गत आर्थिक वर्षमा चितवन निकुञ्ज आसपासमा २१ गैंडा मरेको सूचना अधिकारी तिवारीले बताए । दुईवटा गैंडा चोरी तस्करीले खागका लागि मारेका थिए । तस्करहरूले गैंडाको खागका लागि गैंडा मार्दछन् ।

५० र ६० को दशकमा चितवनमा गैंडाको चोरी शिकार ठूलो समस्या थियो । पछिल्ला वर्षहरूमा चोरी शिकार कम हुँदै गए पनि विभिन्न घटना, दुर्घटना र अन्य प्राकृतिक कारणले गैंडाको मृत्युदर बढ्दो छ ।

गत आर्थिक वर्षमा मात्रै १८ वटा गैंडा मरे । दुर्लभ वन्यजीव गैंडालाई मारेमा, यसको अंग ओसारपसार र किनबेच गरेमा अधिकतम १० लाख रूपैयाँसम्म जरिवाना या १५ वर्षसम्म कैद वा कैद र जरिवाना दुवै हुने कानुनी व्यवस्था छ ।

प्रकाशित : श्रावण ८, २०८१ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×