२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

चन्दा संकलन गरेर सडक निर्माण

हेटौंडा — योजनाका लागि कुनै पनि निकायबाट बजेट नपर्दा पनि गाउँलेहरु तात्तिएर लाग्दा मोटरबाटो बनाउन सकिन्छ भन्ने उदाहरण कैलाश गाउँपालिका-४ का स्थानीयबासीले प्रस्तुत गरेका छन् । जनताकै लगानी र सहभागितामा राक्सिराङ गाउँपालिका- ३ लावतीबाट कैलाश गाउँपालिका- ४ चम्पाखानीसम्मको ५ किलोमिटर बाटो निर्माण सम्पन्न भएको हो ।

चन्दा संकलन गरेर सडक निर्माण

उनीहरुले व्यक्तिगत रुपमा रकम संकलन गरेर भीरैभीर भएको पहरा छिचोल्दै साढे २ किलोमिटर नयाँ ट्र्याकसहित ५ किलोमिटर मोटरबाटो निर्माण गरेका हुन् । मोटरबाटो निर्माण सम्पन्न भएपछि गाउँमा बोलेरो गाडी, ट्रयाक्टर र मोटरसाइकल जान सक्ने स्थिति बनेको स्थानीय अगुवा बिष्णुलाल चेपाङले बताए ।

मोटरबाटो निर्माणका लागि स्थानीय सरकार, प्रदेश र संघ सरकारलाई पटक पटक माग गर्दा पनि बजेट बिनियोजन नभएकाले गाउलेहरु जुटेर रकम संकलन गरी बाटोको कच्ची स्वरुपलाई पूर्णता दिइएको उनीहरुले बताए ।

स्थानीय देउराली समूहबाट ५ लाख ७२ हजार ७ सय रुपैयाँ र जनश्रमदान २ लाख ६१ हजार ६ सय रुपैयाँ सहित कूल ११ लाख हजार ६ सय ७ सय रुपैयाँँ लागतमा बाटो निर्माण सम्पन्न गरी उदघाटन गरिएको देउराली सामुदायिक संस्थाका अध्यक्ष रामसिंह थिङले बताए ।

‘हामीहरुका दुःख कसैले पनि नबुझेपछि संस्थामा भएको अलिअलि रकम र व्यक्तिगत रुपमा संकलित रकमले बाटो बनायौँ’, अध्यक्ष थिङले भने । थिङकै प्रमुख आतिथ्यतामा चम्पाखानी गाउँमा बाटोको उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा कैलाश गाउँपालिकाका निवर्तमान अध्यक्ष टंकबहादुर मुक्तान, राक्सिराङ गाउँपालिका ३ नं वडाका निवर्तमान अध्यक्ष बाबुलाल स्याङ्तान, कैलाश गाउँपालिका ४ नं वडा सदस्य नेमराज प्रजा, समाजवादी प्रेस संगठनका महासचिव रामकुमार एलन लगायतको सहभागिता थियो ।

भीरपहरा भएर बनाइएको बाटोले स्थानीयबासिन्दाले सरिखेत हुँदै मनहरीस्थित राजमार्गको पहुँचमा जोडेको छ । बाटो निर्माणका लागि कैलाश गाउपालिकाले ५ सय लिटर डिजेल, लालीगुराँस सिमेन्ट उद्योगबाट १४ घण्टा ब्रेकर मेसिन र राक्सिराङ गाउपालिकाबाट १३ घण्टा मेसिन प्रदान भएको थियो ।

मोटरबाटो निर्माण गर्न ४४ जनाले १ हजारदेखि २६ हजार रुपैयाँसम्म चन्दा दिएका थिए ।

प्रकाशित : असार १, २०८१ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x