कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

४६ करोडले घट्यो हेटौंडा उपमहानगरको बजेट

हेटौंडा — हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल २ अर्ब ४३ करोड ८९ लाख ७१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । आइतबार १५औं नगरसभा बैठकमा हेटौंडाका उपमेयर राजेश बानियाँले चालु आवको तुलनामा ४६ करोड ७२ लाख २९ हजार रुपैयाँ अर्थात १६.०७ प्रतिशत कम बजेट आगामी आवका लागि प्रस्ताव गरेका हुन् ।

४६ करोडले घट्यो हेटौंडा उपमहानगरको बजेट

उपमेयर बानियाँले राष्ट्रिय अर्थतन्त्रमा देखिएको प्रतिकुलता, संघ र प्रदेशबाट भएको घट्दो बजेट सीमाका कारण आगामी आवमा बजेटको आकार घटाइएको बताए ।

आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये संघीय सरकारको अनुदानबाट १ अर्ब १६ करोड ५३ लाख, आन्तरिक स्रोतबाट ५३ करोड २७ लाख ९५ हजार, राजस्व बाँडफाँडबाट ६१ करोड ६५ लाख तथा प्रदेश सरकारको विभिन्न अनुदानबाट ११ करोड १७ लाख रुपैयाँ रहेका छन् ।

उपमहानगरले पूर्वाधार क्षेत्र विकासमा पर्ने सडक, ऊर्जा, वत्ती, जलस्रोत, पर्यटन, भवन तथा अवासलगाततर्फ ८८ करोड ८६ लाख ९९ हजार रुपैयाँ, आर्थिक विकासतर्फ ७ करोड ५६ लाख, सामाजिक विकासतर्फ ९३ करोड १९ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ३ करोड १२ लाख, कार्यलय सञ्चालन तथा प्रशासनिक खर्च एवम् वित्तिय व्यवस्थापनतर्फ साँवा व्याज भुक्तानीका लागि ४० करोड ६२ लाख सुशासन तथा संस्थागत विकासतर्फ २ करोड ५१ लाख रुपैयाँ विनियोजन गरेको छ ।

हेटौंडा–१० मा निर्माणाधीन एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माण सम्पन्न गरी आगामी वर्षबाट सञ्चालन गर्न ६ करोड रुपैयाँ तथा सहकारी सडक मर्मतका लागि उपमहानगरले १ करोड ७० लाख रुपैयाँ विनियोजन गरेको छ । विभिन्न पूर्वाधार आकस्मिक मर्मतका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको उपमहानगरले पदमपोखरी मुख्य सडक विस्तारका लागि ७ करोड रुपैयाँ छुट्याएको जनाएको छ ।

आगामी आर्थिक वर्षमा जिम्मेवारी सर्ने योजनाको भुक्तानीका लागि १७ करोड, खानेपानीको न्यून महसुल भुक्तानीका लागि २ करोड ८ लाख, नागस्वती फुटबल स्टेडियम निर्माणका लागि १ करोड ७२ लाख, हेटौंडा चक्रपथअन्तर्गत् १५, १६ र १७ नम्बर वडाका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

नगरसभामा नगर प्रमुख मीनाकुमारी लामाले प्रस्तुत गरेको आव २०८१/०८२ को हेटौंडा उपमहानगरको नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको छ ।

प्रकाशित : असार २, २०८१ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x