कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

दोलखाको भीमेश्वरमा तेस्रो सन्तान प्रोत्साहनमा बजेट 

ग्रामीण बस्ती मानवरहित बनेको भन्दै भीमेश्वरले तेस्रो सन्तान जन्माउनेबित्तिकै नवजात शिशुको बैंक खाता खोलिदिएर १० हजार हालिदिने घोषणा गरेको छ ।
केदार कार्की

दोलखा — दोलखाको भीमेश्वर नगरपालिकाले तेस्रो सन्तान प्रोत्साहन कार्यक्रम घोषणा गरेको छ ।  सोमबार पाँचौँ नगरसभामा आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै उपप्रमुख कमला बस्नेतले भीमेश्वरमा तेस्रो सन्तान प्रोत्साहन कार्यक्रम घोषणा गरेकी हुन् ।

दोलखाको भीमेश्वरमा तेस्रो सन्तान प्रोत्साहनमा बजेट 

ग्रामीण बस्ती मानवरहित बनेको भन्दै भीमेश्वरले तेस्रो सन्तान जन्माउनेबित्तिकै नवजात शिशुको बैंक खाता खोलिदिएर १० हजार हालिदिने घोषणा गरेको छ ।

२०७८ को जनगणनामा जिल्लाको ९ स्थानीय तहमध्ये ८ स्थानीय तहको जनसंख्या ऋणात्मक हुँदा भीमेश्वरको मात्रै धनात्मक रहेको थियो । भीमेश्वर नगरपालिकाको मात्रै जनसंख्या वृद्धि भएको तथ्याङ्क सार्वजनिक भएको थियो । २०६८ मा ३२ हजार ४८६ हुँदा २०७८ को जनगणनामा ३४ हजार ७१२ पुगेको थियो । यो तथ्याङ्कअनुसार ०.६४ प्रतिशतमा मात्रै जनसंख्या धनात्मक देखिन्छ । उपप्रमुख बस्नेतले तथ्याङ्कमा मात्रै वृद्धि देखिए पनि बस्तीका रित्तिएको र १/२ सन्तान भएपछि अर्को सन्तान नजन्माउने भएको तेस्रो सन्तानदेखि प्रोत्साहन कार्यक्रम ल्याएको बताइन् ।

‘सामुदायिक विद्यालय विद्यार्थी नभएर खाली छन्, स्वास्थ्य संस्थामा गर्भवती परीक्षण गराउन आउनेको संख्या पनि न्यून छ,’ उनले भनिन्, ‘अहिलेदेखि नै नगरपालिकाको जनसंख्या वृद्धिका लागि कार्यक्रम नल्याए थप जटिल हुने भनेर सुरुवात गरेका हौं ।’

‘भीमेश्वरको वरदान–उज्यालो भविष्य’ नाम दिएर तेस्रोदेखिको सन्तान प्रोत्साहन कार्यक्रम ल्याइएको उनले बताइन् । ‘जनसंख्या धनात्मक राख्न तेस्रो सन्तान प्रोत्साहन कार्यक्रम मात्रै नभएर अभियान पनि हो,’ उनले भनिन, ‘तेस्रो सन्तान जन्माउनेको शिक्षा, स्वास्थ्यमा नगरपालिकाले थप योजना ल्याउने गरी काम थालेका छौं ।’

सन्तान बढाएर मात्रै नहुने भन्दै उपप्रमुख बस्नेतले मुख्यगरी रोजगारी जोडिने भएकाले नगरले ‘एक घर एक महिला’ रोजगार कार्यक्रम घोणणा गरेको बताइन् । ‘महिला नै घरको मुख्य व्यक्ति भएको आत्मनिर्भर बनाउन यो बर्षबाट एक घर एक महिला रोजगार गर्ने गरी कार्यक्रम ल्याएका छौं,’ उनले भनिन्, ‘यसले आम्दानी पनि बढने र तेस्रो सन्तान बढेपनि समस्या नआउने विस्वास राखेका छौं ।’

हरेक घरका महिलालाई क्षमताका र स्थानीय स्रोतसाधनका आधारमा रोजगारी सिर्जना गर्ने गरी नगरपालिकाले ५९ लाख रकम विनियोजन गरेको उनले बताइन् ।

प्रकाशित : असार १०, २०८१ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×