चितवन — वन्यजन्तु गैंडा, जंगली हात्ती र मृग–चित्तलको बथानबाट बालीनाली र स्थानीयलाई जोगाउन गरेको विद्युतीय तारबार नै मान्छेका लागि ज्यानै जाने धराप बनेपछि माडीका बासिन्दाले यसबाट बच्ने उपाय निकालेका छन् ।
माडी नगरपालिका–८ अयोध्यापुरी माथिल्लो शिवद्वार गाउँ चितवन निकुञ्जको जंगल आडमै छ । यो गाउँका ६५ वर्षीय रुपबहादुर शाही दिउँसो जहाँ भए पनि साँझ पर्दा नपर्दै घर पुग्नैपर्छ ।
रातको समयमा गाउँमा वन्यजन्तु नछिरुन् भन्नका लागि स्थानीय मध्यवर्ती उपभोक्ता समितिले सौर्य उर्जाबाट चल्ने विद्युतीय तारबार गरेको छ । गाउँ छिर्ने मेसो बनाएर आएका जनावरले तार छोए झट्का लाग्छ । जसका कारण वन्यजन्तु तार पार गर्ने आँट गर्दैनन् । तारबारमा नियन्त्रित करेन्ट पठाउने मेसिन शाहीकै घरमा छ । त्यसैले साँझ पर्न लागेपछि उनैले सो मेसिन चालु गर्छन् ।
तर अचेल मेसिनमा करेन्ट पठाएर मात्रै हुँदैन । करेन्ट छाड्नुअघि ५/७ मिनेट साइरन बजाउनैपर्ने भएको छ । सौर्य उर्जाको सामान्य करेन्टले जनावरलाई झट्का मात्रै दिन्थ्यो र जनावरहरु तर्सेर भाग्थे । तर गत वर्ष असोजमा एक जनाको तारबारमा परेर ज्यानै गएपछि स्थानीयलाई सजग बनाउन साइरन बजाउने व्यवस्था गरेको चितवन राष्ट्रिय निकुञ्जको अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शिवजी गायकले बताए ।
गत असोज २५ गते साँझ घाँस काटेर घर फर्कँदै गरेका माडी नगरपालिका–९ कृष्णनगरका २८ वर्षीय विकल्प सुवेदी करेन्ट छाडेको तारबारमा अड्किए । गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगे पनि चिकित्सकले जोगाउन सकेनन् ।
चितवन निकुञ्ज र सोमेश्वर पहाडको जंगलले चारैतिरबाट घेरिएको माडीमा वन्यजन्तुले बालीनाली खाइ दिने मात्रै हैन मान्छेलाईसमेत आक्रमण गर्छन् । रुपबहादुरको श्रीमती झनमाया शाहीलाई पनि घर आडको खेतमा काम गर्दा भालुले आक्रमण गरेर गम्भीर घाइते बनाएको थियो । ‘भालुले २५ वर्षअघि नराम्ररी आक्रमण गरेको थियो ।
उपचारका लागि भरतपुरदेखि काठमाडौंसम्म पुगियो । चार/पाँच महिना अस्पताल धाइयो । तै पनि पूरा निको भएन । आक्रमण गरेको दाहिने खुट्टाको घुँडा खुम्चनै छाड्यो । अहिले पनि पीडा नै छ,’ झनमायाले सुनाइन् ।
चितवन निकुञ्ज र यसको सिमाना आडको रिउखोलासँग जोडिएको माडीका बस्तीमा झनमाया जस्ता पीडितहरु धेरै छन् । माडीको अयोध्यापुरी क्षेत्रमा यस्तो समस्या झनै धेरै छ । त्यसैले बस्ती र बासिन्दा जोगाउन १५ वर्षअघि विद्युतीय तारबार लगाउन सुरु भएको अध्यक्ष गायक बताउँछन् ।
‘झट्का मात्र दिने गरेर करेन्ट छाडेको हुन्छ । अयोध्यापुरीको १० किलोमिटर क्षेत्रमा यस्तो विद्युतीय तारबार छ,’ मध्यवर्ती अध्यक्ष गायकले भने, ‘खुला नै छाड्दा जंगली हात्ती, गैंडा र मृगको हुल छिरेर बाली सखापै पार्छन् । रातबिरात मान्छेसँग जम्काभेट हुँदा दुखदायी घटना पनि भएका कारण विद्युतीय तारबार गरेको हो ।’
तारबार गरेको लामो समय भए पनि मान्छेलाई असर पर्ने गरेर कुनै घटना भएका थिएनन् । ‘यसमा परेर जंगली जनावर पनि कुनै घाइते भएको थाहा छैन ।एकाध पटक गाउँलेका भैंसीसम्म घाइते भएका थिए । तर गत वर्ष एक युवकको निधन नै भयो । यसपछि हामीले साइरन बजाउन सुरु गरेका हौं,’ गायकले भने । समितिले तारबार लगाएको क्षेत्रको चार ठाउँमा साइरन राखेको छ । तारबार हेरालुहरुले साँझ झमक्क भएपछि करेन्ट छाड्छन् । करेन्ट छाड्नुअघि सबैले सुन्ने गरेर साइरन बजाउँछन् ।
‘साइरन बजेको सुनेपछि स्थानीयले तारमा करेन्ट छाडियो भनेर थाहा पाउँछन् । करेन्ट छाडेको तारलाई छुने, चलाउने गर्नु हुँदैन भन्ने बुझ्छन् । हामी कुनै पनि खाले दुर्घटना नहोस् भन्नेमा सजग भएका कारण यो उपाए लगाएका हौं,’ अध्यक्ष गायकले भने । वन्यजन्तुको पीडा अत्याधिक भोगेका कारण त्यसलाई कम गर्न गरेको तारबारबाट थप पीडा नहोस् भन्नका लागि विद्युतीय तारबारबाट जोगिने अन्य उपाएका बारेमा पनि विज्ञहरुबाट सामुदायलाई सचेत पार्ने योजना बनाएको उनले बताए ।
