कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४

जनप्रतिनिधिको विवादले ४ महिनादेखि वडाको काम ठप्प

विनय आजाद

सिराहा — मिर्चैया नगरपालिका-३ राघोपुरका ६२ वर्षीय महेश्वर मोची सोमबार दिउँसो १२ बजे हातमा केही कागजात लिएर वडा कार्यालय पुगे । उनलाई घरबाटोको सिफारिस लिनुपर्ने थियो । वडा कार्यालय गएपछि वडाध्यक्ष त भेटिए । तर, कर्मचारी भने एकजना कार्यालय सहयोगीबाहेक कोही थिएनन् ।

जनप्रतिनिधिको विवादले ४ महिनादेखि वडाको काम ठप्प

काम गर्ने कर्मचारी नै नभएपछि उनको काम भएन । एकछिन वडा कार्यालयमै थकाई मारेर मन छोटो बनाउँदै उनी रित्तै घर फर्किए ।

वीरपुरका ४६ वर्षीय फुलगेन यादवलाई पनि घरबाटोको सिफारिस नै लिनुपर्ने थियो । तर, कर्मचारी नै नभएपछि उनको काम पनि भएन । उनीहरु जस्तै सिसबोनीकी मलभोगिया महरा पनि सिफारिसकै लागि वडा कार्यालय गएकी थिइन् । तर, काम नभएपछि उनी पनि त्यसै फर्किइन् । कर्मचारी कार्यालय नआएर सेवाग्रहीले यसरी सास्ती खेपेका भने होइनन् । यो वडा विगत ४ महिनादेखि सचिव र कम्प्युटर अपरेटरविहीन छ ।

वडा कार्यालय सञ्चालन गर्ने र सम्पूर्ण कामकाज गर्ने कर्मचारी नै नहुँदा कामै नभएपछि यसरी दैनिक ५० भन्दा धेरै सेवाग्रही वडाबाट रित्तै फर्किन बाध्य छन् । वडामा यस्तो अवस्था निम्तिनुको कारण हो, नगरपालिका र वडाबीचको खिचातानी ।

नगरपालिकाले गत माघ १५ गते वडा कार्यालयका सचिव सञ्जीव महतो र कम्प्युटर अपरेटर रोशन यादवलाई सरुवा गर्‍यो । त्यसको पाँच दिनपछि माघ २० गते सचिवका रूपमा भगवान यादव र पहिलाकै कम्प्युटर अपरेटर रोशन यादवलाई नगरपालिकाले वडा कार्यालय पठायो । तर, वडाध्यक्ष पवित्री देवी यादवले यो निर्णयमा आपत्ति जनाउँदै तिनलाई हाजिर हुन दिइनन् ।

नगरपालिका र वडाबीचको यही विवादले अहिले वडाको काम प्रभावित बनेको छ । स्वतन्त्र निर्वाचित वडाध्यक्ष र नगरप्रमुख श्रवणकुमार यादवबीचको विवाद नयाँ भने होइन । वडाध्यक्ष यादवका श्रीमान् खगेश्वर गोहीवार जनता समाजवादी पार्टीका स्थानीय नेता हुन् ।

माओवादी केन्द्रबाट निर्वाचित मेयर श्रवणकुमार र वडाध्यक्षका श्रीमान् खगेश्वर गोहीवारबीच राजनीतिक दुश्मनी देखिँदै आएको छ । स्थानीयहरु यही दुश्मनीका कारण अहिले वडाको काम प्रभावित भएको बताउँछन् । वडाध्यक्ष यादवले मेयरले आफूलाई समस्यामा पार्नकै लागि आफ्नो खल्तीका मान्छेलाई पठाएकाले आफूले हाजिर हुन नदिएको बताईन् ।

त्यसयता नगरपालिकाले यो समस्या समाधानका निम्ति वैकल्पिक प्रयत्न गरेको छैन । जसका कारण वडाको सम्पूर्ण कामकाज नै ठप्प छ । वडाध्यक्ष यादव स्वतन्त्रबाटै चुनाव जितेकी छिन् । उनका श्रीमान् खगेश्वर गोहिवार नगरपालिकामा नगरप्रमुख श्रवणकुमार यादवको कट्टर विरोधीका रूपमा परिचित छन् । त्यसैले वडाध्यक्ष र मेयरको सम्बन्ध राम्रो छैन ।

तत्कालीन वडा सचिव आफ्नोविरुद्धमा आफूलाई समस्यामा पार्ने गरी कुनै कामकाज गर्न नमान्दा उनको सरुवा गरिएको र मेयरले आफूलाई समस्यामा पार्ने योजना बनाएर आफ्नो खल्तीका मान्छेलाई पठाउँदा हाजिर हुन नदिएको वडाध्यक्ष यादव बताउँछिन् । उनले यो विषयमा आफूले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतदेखि, प्रमुख जिल्ला अधिकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, गृह मन्त्रालयसम्म जानकारी गराईसकेको बताईन् ।

तर, मेयर यादव भने वडाध्यक्षकै कारण वडामा समस्या यथावत् रहेको बताए । आफूले वडासचिव पठाएपनि हाजिरी हुन नदिएको भन्दै उनले यसमा आफ्नो कुनै गल्ती नभएको प्रतिक्रिया दिए ।

मेयर र वडाध्यक्षबीचको विवादका कारण ३१ सय मतदाता भएको वडाको काम प्रभावित बनेको छ । दैनिक सय जना सेवाग्राहीलाई विभिन्न सेवा दिँदै आएको वडा कार्यलयको काम लामो समयदेखि ठप्प भएको छ ।

प्रकाशित : असार १०, २०८१ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा दुई तिहाई बढीको समर्थन प्राप्त भएपछि अब प्रधानमन्त्री केपी शर्मा ओली कसरी अघि बढ्लान् ?

×