कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

सनराइज सहकारी सञ्चालकसँग बयान लिने तयारी

चितवन — भरतपुर महानगरपालिका–३ लायन्सचोकमा मुख्य कार्यालय रहेको सनसाइज बचत तथा ऋण सहकारीका सञ्चालकहरुसँग चितवन प्रहरीले बयान लिने भएको छ । सनराईजका सञ्चालकहरुविरुद्ध पूर्वी नवलपरासी (नवलपुर) कावासोतीमा रहेको छिपछिपे सहकारीको बचत रकम अपचलन गरेको अभियोगमा पनि मुद्दा दायर भएको छ ।

सनराइज सहकारी सञ्चालकसँग बयान लिने तयारी

नवलपुर जिल्ला अदालतले उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । अदालतको आदेशपछि पुर्पक्षका लागि भरतपुर कारागारमा थुनामा रहेका नगेन्द्रबहादुर रिमाल, योगेन्द्र पाण्डे, कृष्णप्रसाद ज्ञवाली र ढुण्डीराज गौतमसँग चितवन प्रहरीले सनसाइज सहकारीको बचत अपचलनकाविरुद्ध पनि अनुसन्धान गरिरहेको छ ।

नवलपुर जिल्ला अदालतले अनुसन्धान र उनीहरुसँग बयान लिन स्वीकृति दिएको चितवन प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले बताए । जेठ ३० मा नवलपुर जिल्ला अदालतले उनीहरुविरुद्ध अनुसन्धान र बयानका लागि अनुमति दिएको थियो । ‘अब हामी कारागारबाट जिल्ला प्रहरीमा ल्याएर उनीहरुसँग बयान गर्छौं । बयानको सुरुवात आजभोलिबाटै हुन्छ,’ डिएसपी रिजालले भने ।

सनसाइज सहकारीको बचत रकम अपचलन गरेको अराोपमा अनुसन्धान गर्न चितवन प्रहरीलाई गत माघ ५ मा नै पक्राउ पुर्जी जारी गर्न अदालतले स्वीकृति दिएको थियो । सनराइज सहकारीका अध्यक्ष रहेका बर्दियाका नगेन्द्रबहादुर रिमाल, उपाध्यक्ष सन्तोषि केसी, सचिव योगेन्द्र पाण्डे, कोषाध्यक्ष कृष्णप्रसाद ज्ञवालीविरुद्ध गत माघमा र सदस्य तथा व्यवस्थापक ढुण्डीराज गौतमविरुद्ध जेठमा पक्राउ पुर्जी जारी भएको हो ।

उपाध्यक्ष सन्तोषी केसी अझसम्म फारर नै छिन् । अन्य व्यक्ति छिपछिपे सहकारीको अनुसन्धानका क्रममा नवलपुर प्रहरीले समाएर अदालतको आदेशले चितवन कारागार आएका हुन् ।

तत्कालीन भरतपुर नगरपालिका–१२ मा कार्यालय रहने गरेर ०६६ भदौ ११ मा दर्ता भएको सनराइज बचत तथा ऋण सहकारी संस्था पछि बर्दिया गुलरिया–५ का नगेन्द्रबहादुर रिमाल अध्यक्ष रहने गरेर भरतपुर–३ लायन्सचोकमा कार्यालय राखेर ०७४ देखि सञ्चालन हुँदै आएको थियो । संस्थाले अन्य दुई ठाउँ चनौली र भरतपुर विकास चोकमा पनि सेवा केन्द्र खोलेको थियो ।

‘०७९ भदौदेखि संस्थाले बचत फिर्ता गर्न आनाकानी गर्न थाल्यो । समस्या बढ्दै गएपछि सोही वर्षको कात्तिक सात गतेदेखि सहकारीको सवै कार्यालयहरु बन्द भयो,’ बचतकर्ता मध्येका भरतपुर–३ का तुलसी सापकोटाले भने । बचतकर्ताहरुले सोही बेलादेखि छानबिनका लागि विभिन्न निकायमा धाएका थिए । चितवनमा माघमा पक्राउ पुर्जी जारी भए पनि पक्राउ नपरेका सञ्चालकहरुलाई नवलपुर प्रहरीले चैतमा समाएको थियो ।

छिपछिपे सहकारीको बचत रकम अपचलन मुद्दामा राप्रपाकी समानुपातिक संघीय सांसद गिता बस्नेतविरुद्ध पनि मुद्दा चलेको छ । सांसद बस्नेत पनि हालसम्म पक्राउ परेकी छैनन् । सनसाइज सहकारीको रकम हिनामिनामा बस्नेत पनि मुछिएको आशंका छ । तर अभियुक्तको बयानअघि यसै भन्न नसकिने चितवन प्रहरीले बताएको छ ।

बचतकर्ताहरुका अनुसार सनराइज सहकारीमा ९० करोड रुपैयाँ बचत रकम थियो । चिततवन प्रहरीका अनुसार रकम फिर्ता नपाएको भनेर हालसम्म सनराइज सहकारीका एक हजार ५४८ जनाले उजुरी दर्ता गराएका छन् । उनीहरु मात्रैले दिएको विवरणमा ५८ करोड ९० लाख २६ हजार १९२ रुपैयाँ सहकारीले फिर्ता गरेको छैन ।

भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रबर्द्धन शाखाबाट प्राप्त विवरण अनुसार उक्त सहकारीले भरतपुर महानगरभित्र मात्रै कारोबार गर्ने स्वीकृति लिएको थियो । सहकारीले महानगरको सहकारी शाखामा आर्थिक वर्ष ०७७/७८ सम्मको मात्रै लेखा परीक्षण प्रतिवेदन पेश गरेको छ ।

त्यसयता कुनै प्रतिवेदन महानगरलाई प्राप्त भएको छैन । ०७७/७८ प्रतिवेदन अनुसार तीन हजार ४९५ शेयर सदस्यबाट ६३ करोड ४५ लाख ७५ हजार ६६० रुपैयाँ बचत संकलन गरेको देखिन्छ । त्यसैगरी असुल गर्नुपर्ने ऋण रकम ५६ करोड ४५ लाख ६० हजार १३४ रुपैयाँ रहेको उक्त प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित : असार २, २०८१ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×