कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

हेटौंडामा सुरक्षा समितिको बैठक सुरु

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेश सुरक्षा समन्वय समितिको बैठक हेटौंडामा सुरु भएको छ । बुधबारसम्म सञ्चालन हुने बैठकको उद्घाटन वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरेका थिए । 

हेटौंडामा सुरक्षा समितिको बैठक सुरु

संघीय सरकारको गृह मन्त्रालय र वाग्मती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा सुरु भएको बैठकमा चारवटै सुरक्षा निकायका प्रमुख र १३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी हेटौंडामा उपस्थित भएका छन् ।

गृह मन्त्रालयका सचिव एकनारायण अर्यालको सभाध्यक्षतामा जारी बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ, प्रदेशका प्रमुख सचिव गोविन्दबहादुर कार्की, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपाली सेनाका रथी अशोकराज सिग्देल तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीलगायतको आतिथ्यता रहेको थियो ।

बैठकमा १३ जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरुले सुरक्षा अवस्थाबारे प्रस्तुतीकरण दिने भएका छन् । जिल्ला सुरक्षा समितिमा प्रमुख जिल्ला अधिकारी, प्रहरी, आर्मी, सशस्त्र, अनुसन्धानका प्रमुख एवम् सहायक प्रमुख जिल्ला अधिकारी पदाधिकारी रहने व्यवस्था रहेको छ ।

प्रदेश समन्वय समितिको बैठक यसअघि छवटा प्रदेशमा सम्पन्न भइसकेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले जानकारी दिए । बैठक उद्घाटन सत्रमा गृहमन्त्री रवि लामिछाने आउने बताइए पनि अन्तिम समयमा आएनन् । गृहमन्त्री लामिछाने बुधबारमात्र हेटौंडा आउने गृहसचिव अर्यालले बताए । उनले भने- ‘गृहमन्त्रीज्यूले बैठकलाई बुधबार सम्बोधन गर्नुहुनेछ । ’

प्रजिअ सेढाईंका अनुसार बैठकमा विशेषगरी प्रदेशभरको शान्ति सुरक्षा, सेवा प्रवाहको अवस्था, विपद् नियन्त्रणका विषयमा छलफल हुने छ । ‘शान्ति सुरक्षा कायम गर्न समाजमा गरिएको नवीन कार्य, सुरक्षा चुनौतीको अवस्थालगायत विषयमा बैठकमा छलफल हुनेछ’, प्रजिअ सेढाईंले भने ।

प्रकाशित : जेष्ठ ८, २०८१ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×